‘मर्निङ वाकमा पनि विकासकै सम्भावना अध्ययन गर्छु’ : प्रचण्ड

Prachanda-10
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले मर्निङ वाक गर्दा विकासका सम्भावनाहरुको अध्ययन गर्ने गरेको बताएका छन् ।

चितवनमा बुधबारदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म बिहान बिहान मर्निङ वाक हिँडेको देख्नुहुन्छ, हेर्दा त त्यहाँ मर्निङ वाक हुन्छ । तर, मैले आजकल मर्निङ वाकमा विकासका सम्भावनाहरुको अध्ययन गर्ने गरेको छु ।’

प्रचण्डले दश वर्ष देशको सम्वृद्धिका लागि काम गर्ने बताए । ‘देशका लागि अबको दश वर्ष निकै महत्वपूर्ण छ । समृद्धिको सपनाका लागि सबैको साथ आवश्यक छ, सबैको साथ भयो भने हामी समृद्धिको मिसन पूरा गर्न सक्छौं’ अध्यक्ष प्रचण्डले भने । उनले हेर्दा हेर्दै भैसालोटनदेखि देवघाटसम्म पानीजहाज पनि चल्ने दावी गरे ।

नारायणी र राप्तीमा तटवन्ध र रिङरोड बन्ने प्रचण्डले बताए । विकासको मोडालिटीका बारेमा समस्या नरहेको तर समस्या एक्सनमा मात्रैं रहेको बताउँदैं अधयक्ष प्रचण्डले भने ‘जनताले अनुभूति हुने गरी विकास र समृद्धिको काम गर्नु नै हाम्रो चुनौती हो ।’

चितवनले देशका लागि नै सन्देश दिने र राष्ट्रलाई नै एकतावद्ध गर्न सक्ने मोडलका रुपमा जिल्लालाई विकास गर्न खोजिएको प्रचण्डले बताए । देशभरिका विभिन्न भेगका जातजाति र समुदायको बसोबास चितवनमा नै भएकाले यहाँको विकास पनि तीव्र गतिमा हुने उनको धारणा छ ।

https://www.facebook.com/prachanda.nepal/videos/2372961426267130/

यस्तै अध्यक्ष प्रचण्डले अबको समय विकासको भएको भन्दै देशलाई समृद्ध बनाउन नसकिए कम्युनिष्टको कुनै काम नरहने बताए । उनले भने, “हामीलाई विकास चाहियो, अब विकास गर्न नसके नेपालमा पनि कम्युनिष्टको कुनै अर्थ रहदैन ।”

समुद्घाटन समारोह महोत्सव मुल समारोह समितिका संयोजक एवंम उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । माघ ४ गतेसम्म चल्ने महोत्सवमा ५७१ वटा स्टलहरु रहेका छन् ।

प्रचण्डले विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले भने, ‘विकास र समृद्धि हासिल गर्न निजी क्षेत्र निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म हामीले समृद्धिको सपना देख्नुको अर्थ छैन । पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ । निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सम्बन्ध नङ र मासुको छ ।’

देशको एजेण्डा प्रष्ट भएकाले अब अलमल नगरी विकासमा लाग्नुपर्ने उनले बताए । प्रचण्डले भने, ‘पहिला पहिला देशमा राजनीतिक कन्फ्युनहरु थिए । विकासको मार्गचित्र भन्नेबारे पनि अलमल थियो । तर अहिले त्यो हटेको छ । राजनीतिक द्वन्द्व र भ्रमको स्थिति समापन भएको छ । देशलाई संकटबाट माथि ल्याइसकेको अवस्था छ । संघीयता र संविधान लागू भइसकेको अवस्थामा राजनीतिक द्वन्द्व र भ्रमको समापन भइसकेको छ । विकास निर्माणको मोडालिटीमा समस्या छैन । समस्या छ त केवल हाम्रो काम गर्ने शैलीमा छ ।’