पृथ्वीनारायण शाह : शक्तिशाली र दुरदर्शी राजा (जीवनी)

prithivi-narayan-shah
लाेकपाटी न्यूज

काठमाडौं। पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१) शाहबंशीय राजा थिए। स–साना राज्यहरुमा बाँडिएका बाइसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देश बनाएका कारण कारण उनी आधुनिक नेपालका निर्माता मानिन्छन्। तर, पृथ्वीनारायण शाहले राष्ट्रिय एकताका नाममा जाति–जनजातिहरुको गणराज्य कमजोर बनाएको र शाहवंशीय नश्लवाद लादेको भन्ने मत पनि नेपाली राजनीति र समाजमा उत्तिकै छ। पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्नेहरुले पौष २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मान्ने गरेका छन्।

नेपालमा २००७ सम्म राणा शासन थियो। जब प्रजातन्त्र आयो। त्यसपछि योगी नरहरिनाथले नेपालमा पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्ने लविङ गरेका थिए। त्योभन्दा पहिला उनको जन्मजयन्ती राजा र राणा परिवारमा मनाइन्थ्यो। २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका थिए।

पृथ्वीनारायण शाहले स–साना क्षेत्र, जस्तैः (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंश गाभेका थिए। उनले सुरू गरेको अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बिस्तार भयो। पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपाल अधिनस्थ थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि उनको अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाए।

यो अभियानको पूर्णविराम चाहिँ यिनका पनाति राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल–अङ्ग्रेज युद्ध (१८१४–१८१६) पछि भयो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धिमा हस्ताक्षर नहुञ्जेलसम्म पूरा ७२ वर्षसम्म यो अभियान चलिरह्यो। तर, सुगौली सन्धिपछि नेपालको ६१ प्रतिशत भू–भाग ब्रिटिसको कब्जामा गयो।

पृथ्वीनारायण शाह गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहीबारका दिन उनको जन्म भएको थियो। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहेनती खालका थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूण थिए।

यिनको विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो। गोरखा र मकवानपुरबीच ओहोरदोहोर गर्नुपर्दा उपत्यकाको भू–बनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियालेका थिए। त्यसबेला गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारण उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिए। वि.सं. १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाएका थिए।

उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेनले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले १७९८ मा काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरेका थिए। उनको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग वि.सं. १७९९ मा एक सन्धि गरे, जसअनुसार दुवै राज्यबीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए।

वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए। तर, नुवाकोटमा उनको सेना पराजित भयो। युद्ध हारेपछि आवश्यक हातहतियारहरू संकलन गर्न उनी वनारस पुगे। काशीको यात्रामा उनले आफ्नो भारद्वाज गोत्र परिवर्तन गरी काश्यप भए। त्यही बेला जाजरकोटका राजा हरि शाहसँग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई बाधा नपार्ने मौखिक सन्धि गरे।

वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा उनले नुवाकोटमाथि हमला गरे। उक्त हमलामा नुवाकोट पराजित भयो। नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई बन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.सं. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसँग युद्ध गर्यो, यस युद्धमा गोर्खाले ठूलो क्षति बेहोर्यो। तर, केही स्थान कब्जा भएकाले गोरखाको सीमाना मकवानपुरसम्म पुग्यो।

१८१४ मा उनले किर्तिपुरमा आक्रमण गरे। युद्धमा १२०० गोर्खाली सेना थिए। किर्तिपुरले गोरखालीले फौज पराजित गर्यो, पृथ्वीनारायण शाह कब्जामा परे। तर, उनलाई मारिएन। १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे। १८१९ मा उनले मकवानपुरमाथि आक्रमण गरे र विजय प्राप्त गरे। १८२० मा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गर्यो।

उनको सेनाले १८२१ मा किर्तिपुरमाथि दोश्र्रो आक्रमण गर्यो। तर, यसपटक पनि गोरखाली फौज पराजित भयो। काजी वंशराज पाडेको नेतृत्वमा तेस्रोपटक किर्तिपुरमाथि आक्रमण भयो। १८२२ चैत्र ३ गते उनले किर्तिपुर कब्जा गरे। १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभीम शाहसँग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।

उनले काठमाडौंमाथि नाकाबन्दी लगाए। वि.सं. १८२३ मा सिन्धुलीगढी हुँदै काठमाडौंमाथि आक्रमण गरे। १८२५ मा उनले ललितपुरमाथि आक्रमण गरे। पाटनका राजाले विना कुनै युद्ध आत्मसमर्पण गरे। उपत्यकाका तिनैवटा शहर जितेपछि चौबीसे राज्य विजय गर्न वि.सं. १८२८ मा आफ्नो सेना पठाए। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खाली सेनाको मृत्यु भयो। उनको सेना त्यहाँबाट निरास भएर फर्कियो।

वि.सं. १८३१ मंसिरमा नुवाकोट पुगेका उनी बिमारी परे। स्वास्थ्य खराब भएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो। नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो। घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ‘दिव्योपदेश’ समेत भनिन्छ। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटमा उनको मृत्यु भयो।

पृथ्वीनारायण शाहको अभियानलाई नेपाल एकीकरण भन्ने कि राज्य बिस्तार भन्ने ? यो बहस नेपाली राजनीतिमा अहिले पनि कायमै छ। ब्रिटिसले नेपालमाथि आक्रमण गरिरहेको बेला सबै टुक्रे राज्यलाई मिलाएर बलियो राष्ट्र बनाएको उनका समर्थकहरुको तर्क छ। समर्थकका अनुसार पृथ्वीनारायण नभएको भए नेपालकै अस्तित्व संकटमा पर्नसक्थ्यो, देश ब्रिटिसकै कब्जामा जान सक्थ्यो। तसर्थ, पृथ्वीनारायण शाहले देश बनाए। यसलाई नश्लीय आँखाले हेर्नु हुँदैन।

उनले राज्य बिस्तार मात्र गरेका हुन् भन्ने तर्क पनि कमजोर छैन। उनका विरोधीहरुको मत छ, ‘उनले ठूलो राज्यको राजा हुने स्वार्थले राज्य बिस्तार गरे। जनजातिका गणराज्यहरु लुटे र राजतन्त्रको जग बसाए, देशको विविधतामाथि शाहवंशीय नश्लवाद लादे। जनजातिहरुको नाक–कान काटे, भाषामा बन्देज लगाए, लिपी जलाए। तसर्थ, यो एकीकरण होइन, राज्य बिस्तार मात्र हो।’

राज्य बिस्तार कि एकीकरण ? भन्ने बहस सजिलै मतऐक्यतामा पुग्ने देखिँदैन। वर्गीय चिन्तनयुक्त समाजमा याे सम्भव पनि छैन। तर, पृथ्वीनारायण शाह नेपालको इतिहासमा सबैभन्दा दुरदर्शी, आफ्नो मिसनका लागि कठोर कदम चाल्न सक्ने कुटनीतिज्ञ र भौगोलिक ममताका प्रवर्तक थिए। उनले राज्य बिस्तार वा एकीकरण जे गरेको भए पनि विशाल नेपालको जग बसाल्ने श्रेय उनलाई नै जान्छ।