माघी पर्व प्राचीन र मौलिक संस्कृति हो : मन्त्री  बीना मगर

bina magar kanchanpur (1)
लाेकपाटी न्यूज

कञ्चनपुर, २७ पुस । खानेपानी मन्त्री बीना मगरले नेपालका मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु राज्य र नागरिकको कर्तव्य भएको बताएकी छिन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रम गर्दै मन्त्री मगरले भूमण्डलीकृत विश्वमा मौलिक संस्कृति र परम्पराको संरक्षणमा चुनौति थपिएको बताइन् ।

मन्त्री मगरले भनिन्, ‘नेपाल भूगोलमा निकै सानो देश छ । तर, हामी भौगोलिक र सांस्कृतिक विविधताका दृष्टिले निकै धनी छौं । थारु संस्कृति पनि नेपालको अत्यन्तै महत्वपूर्ण मौलिक संस्कृति हो, हामीले यसले रक्षा र विकास गर्नुपर्छ ।’

मन्त्री मगरले घरभित्र सीमित थारु संस्कृति अहिले महोत्सवका रुपमा बिस्तार हुनु निकै गौरवको कुरा भएको बताइन् । मन्त्री मगरले भनिन्, ‘हिजो माघी पर्व थारु समुदायको घरभित्र सीमित थियो, तर आज महोत्सवका रुपमा हामी सार्वजनिक समारोहमा उपस्थित छौं । यो हामी सबैका लागि खुसी र गौरवको विषय हो ।’

bina magar kanchanpur (2)

मौलिक संस्कृति र परम्परालाई पर्यटन र जनताको जीवन बदल्ने समृद्धिको अभियानमा जोड्नुपर्ने मन्त्री मगरले बताइन् । उनले भनिन्, ‘हामी सांस्कृतिक रुपमा यति धेरै धनी छौं । तर, संस्कृतिलाई पर्यटन र जनताको जीवन बदल्ने अभियानका रुपमा रुपान्तरण गर्न सकेका छैनौं । अब हाम्रो ध्यान मौलिक संस्कृतिलाई विश्वव्यापी रुपमा प्रचार गर्ने र त्यसबाट लाभ लिनेतिर जानुपर्छ ।’

महोत्सवमा मन्त्री मगरले थारु समुदायको स्वास्थ्य समस्याप्रति सरकार संवेदनशील रहेको बताइन् । ‘थारु समुदायमा सिकल सेल एनिमियाको समस्या देखिएकोबारे म गम्भिर छु । सरकारले रोगको परीक्षण र उपचारका लागि आवश्यक प्रबन्ध गर्छ ।’

bina magar kanchanpur (3)

महोत्सवमा मन्त्री मगरले देशको राजनीतिक समस्याबारे समेत आफ्नो धारणा राखिन् । उनले विकास र समृद्धिको यात्रामा राजनीतिक मतभेद थाँती राखेर सहकार्य गर्न प्रतिपक्षलाई आग्रह गरिन् । ‘विकास जसले गरे पनि त्यो जनता र राष्ट्रको हितमा हुन्छ । विकासमा हामी सत्तापक्ष र प्रतिपक्ष छैनौं । प्रतिपक्ष दलले पनि विकासमा सहकार्य गरेर जनताको अभिमतको सम्मान गर्नुपर्छ ।’

थारु पहिरनमै महोत्सवमा उपस्थित भएकी मगरले थारु संस्कृति नेपालको प्राचीन, मौलिक र धनी संस्कृति रहेको बताइन् । सभामा मगरले माघी पर्वले थारु समुदायको आर्थिक–सामाजिक प्रगति र सम्पूर्ण देशबासीबीच सहकार्य र सद्भावमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

bina magar kanchanpur (6)

कार्यक्रममा प्रदेश सभाका सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गरे । चौधरीले भने, ‘हाम्रो संस्कृति निकै धनी छ, हाम्रो संस्कृति, खानाका परिकार, भेषभुषा नेपालमै उच्चकोटीको छ । यसको संरक्षण गर्नु थारु समुदाय र राज्यको पनि दायित्व हो ।’

“थारू एकता हमार सान, शिक्षा भाषा संस्कृति पौर्हैटी लैजिना हमार अभियान” भन्ने मुल नाराका साथ बेलौरीमा पहिलोपटक आयोजना भएको महोत्सवमा वक्ताहरुले जातीय पहिचान, भाषा, धर्म तथा संस्कृतिको जगेर्ना गर्ने मुख्य जिम्मेवारी भएको बताए । बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी ‘संस्कृति र पहिचानले समुदायको आत्मसम्मान र प्रगतिको ढोका खुल्ने’ बताए ।

तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग ‘सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधि उपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई मन्त्री बीना मगरमार्फत् आग्रह गरे ।

bina magar kanchanpur (5)

कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने विभिन्न झाँकी, मघौटा नाँच, मुङ्ग्रह्वा नाँच, झुम्रा नाँचको प्रदर्शन थारू कल्याणकारिणी सभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले बताए । कञ्चनपुरको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजारभन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी दिए ।

मेलामा थारू खानाका परिकार बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, आदी राखिएका छन् । थारु कल्याणकारिणी सभा बेलौरी नगरले आयोजना गरेको माघी महोत्सव ३ दिनसम्म चल्नेछ ।

bina magar kanchanpur (4)