कसरी प्रचलनमा आयो तारुकाको गोरु जुधाई प्रतियोगिता ?

bull_fight
लाेकपाटी न्यूज

नुवाकोट, २८ पुस । नुवाकोटको तारुकामा हुने गोरु जुधाइको इतिहास आजभन्दा करिब एक सय वर्ष पुरानो इतिहाससँग जोडिएको छ ।

स्थानीय किंवदन्तीअनुसार तारुका तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मामाघर हो । उनी मामाघर आएका वेला मामाले भान्जाको स्वागत गर्न बाजागाजासहित गोरु जुधाएर मनोरञ्जन प्रदान गरेका थिए । सोही भनाइअनुसार अहिले पनि स्थानीयले माघ १ गतेका दिन पारेर गोरु जुधाइ मेला आयोजना गर्दै आएका छन् ।

शताप्दी पुरानो परम्परा भए पनि स्थानीयले एकीकृत रूपमा गोरु जुधाइलाई मेलाका रूपमा मनाउन थालेको भने करिब डेढ दशक मात्र भएको छ ।

नुवाकोटका कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत स्थानमा छरिएर गोरु जुधाउने गरिएकोमा अहिले तारुका तथा वेत्रावतीमा एकीकृत रूपमा गोरु जुधाइन्छ । यस मेलामा पुरस्कारको समेत व्यवस्था गरिएसँगै अब यो मेलाले व्यावसायिक रूपमा लिइसकेको छ ।

माघेसंक्रान्ति नेपाली मौलिक परिकारलाई चिनाउने पर्व पनि हो । यस दिन खिचडी, चाकु, घिउ, तरुल, तिलौरी, खट्टे र तीलको लड्डु खाएर माघेसंक्रान्ति मेला मनाइन्छ । गोरु जुधाइ मेलामा पुग्ने पर्यटक तथा पाहुनाका लागि पनि स्थानीयले मौलिक परिकार खुवाएर स्वागतसमेत गर्छन् ।

नुवाकोट, रसुवा र धादिङको पहिचान बन्दै गएको गोरु जुधाउने प्रतियोगितालाई अहिले राज्यका विभिन्न निकायले पनि वैधानिकता प्रदान गरेका छन् । व्यवस्थित र सुरक्षित प्रतियोगिता आयोजना हुन थालेसँगै यसलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा लिन थालिएको छ । सोहीकारण नेपाल पर्यटन बोर्डले हरेक वर्ष आफ्नो बजेटमै यो कार्यक्रम समावेश गर्दै आएको छ ।

चालू आर्थिक वर्ष ०७५र७६ का लागि बोर्डले नुवाकोटको घलेभन्ज्याङ, तारुका र वेत्रावती तथा धादिङको धुवाकोटमा आयोजना हुने गोरु जुधाउने प्रतियोगिताका लागि प्रतिस्थान दुई–दुई लाख रुपैयाँका दरले आठ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेट रसुवा–नुवाकोट पर्यटन समाजसँगको सहकार्यमा खर्च गरिने बोर्डले जनाएको छ ।

आयोजकका अनुसार यस वर्ष तारुकामा मात्र अहिलेसम्म २३ हल ९४६० गोरु प्रतिस्पर्धाका लागि दर्ता भइसकेका छन् । यी गोरुको आकार, उमेर हेरी उस्तै प्रकृतिका गोरुसँग जुधाउने गरिन्छ । खासगरी, कमजोर तथा साना गोरुसँग ठूला र बलिया गोरु नपरून् भन्नेमा आयोजकले मूल्यांकन गर्छ ।

विजेता गोरुधनीले प्रमाणपत्रसहित पुरस्कारसमेत हात पार्छन् । लडाकु गोरुलाई बलियो बनाउन स्थानीयले चना, चामल, पीठो, घाँस, पराललगायत आडिलो खाद्यान्न खुवाउँछन् । गोरुका लागि बिमासमेत गर्न थालेपछि यहाँ गोरु पाल्ने र जुधाउने प्रतियोगितामा स्थानीयको अझ बढी उत्साह थपिएको छ ।

स्पेनिस ‘बुल फाइट’को चर्चा संसारभर हुन्छ । पोर्चुगल, फ्रान्स र केही ल्याटिन अमेरिकन देश मेक्सिको, कोलम्बिया, इक्वेडर, भेनेजुएला तथा पेरुसमेत यस महोत्सवबाट पन्छिन सक्दैनन् । बुल फाइटले विश्वभरका सञ्चारमाध्यमको ध्यान मात्र तान्दैन, पर्यटक आकर्षित गरी ठूलो आर्थिक उपार्जनमा पनि सहयोग गरेको छ ।