अमेरिकी राष्ट्रपतिमा हिन्दू महिला तुलसीकाे उम्मेदवारी !

Tulasi usa
लाेकपाटी न्यूज

एजेन्सी । पहिलो पटक अमेरिकाको नयाँ राष्ट्रपति पदमा एक हिन्दू महिलाले उम्मेदवारी दिने भएकी छिन् । उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेदवारी दिने तयारी गरेकी बताएकी छिन् ।

अमेरिकी प्रथम हिन्दू सांसदसमेत रहेकी तुलसी गवाडले २०२० को राष्ट्रपति निर्वाचनको लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताइन् । उनले यस निर्णयका पछाडि कैयौँ चुनौति रहेको बताउँदै विभिन्न चुनौतिको सामना गरी आफ्नाबारे चिन्तित रहेका नागरिकलाई सहयोग गर्न चाहेको बताइन् ।

उनले त्यहाँ भएका स्वास्थ्य सेवाको पहुँच, आपराधिक न्याय सुधार तथा जलवायु परिवर्तनजस्ता मूख्य समस्यासँग जुध्न चाहेको बताइन् । ३७ वर्षीया तुलसीले हवाई राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन् । उनले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्धन्दीलाई पराजित गरेकी छिन् ।

राजनीतिमा आउनुभन्दा अगाडि उनी सैनिक थिइन् । अमेरिकी सेनामा रहँदा उनी १२ महिनासम्म इराकमा तैनाथ भइसकेकी छिन् । आउँदो हप्ता उनले उम्मेदवारी घोषणा गरेसँगै अमेरीकामा नयाँ इतिहास कायम हुने छ ।

हालसम्म अमेरिकी राष्ट्रपति पदमा कुनै पनि हिन्दूले उम्मेदवारी दिएका छैनन् । यदि उनले राष्ट्रपति निर्वाचन जितिन् भने एकै पटक तीन रेकर्ड बन्नेछन् । निर्वाचित भएमा उनी अमेरिकाकी प्रथम हिन्दू राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबै भन्दा कम उमेरकी राष्ट्रपति बन्नेछिन् ।

केही महिना अघिदेखि केही हिन्दू अमेरिकीहरुले भारतीय तथा नेपाली मुलका अगुवाहरुलाई इमेल पठाउँदै अमेरिकाको राष्ट्रपति पदमा हिन्दू उम्मेदवारको सम्भावनाबारे राय मागेका थिए ।

तुलसी गबाडको जन्म अमेरिकाको समोआमा एक क्याथोलिक परिवारमा भएको थियो उनकी आमा एक ककेशियन हुन् । उनकी आमाले हिन्दु धर्म अपनाएकी थिइन् । तुलसी २ वर्षकी हुदाँ उनको परिवार हवाई सरेको थियो । पछि उनले पनि हिन्दू धर्म अपनाइन् ।

सन् २०१२ मा पहिलो पटक उनी हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् । उनी प्रथम अमेरिकी सांसद हुन्, जसले भगवान गीताको नाममा सपथ लिएकी थिइन् । तुलसी नेपाली तथा भारतीय मुलका अमेरिकीहरुमाझ लोकप्रिय छिन् ।

यहुदी अमेरिकीपछि भारतीय मुलका अमेरिकी समुदाय अमेरिकामा सबैभन्दा प्रभावशाली र धनी समुदाय मानिन्छन् । उनको उम्मेदवारीलाई विश्वभरका हिन्दू समर्थकहरुले चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्