प्राकृतिक चेतना र कृतिम ‘सोफिया’

  • 248
    Shares
लाेकपाटी न्यूज

दिनेश लिम्बु/
यूरेस्ट पर्वतको स्पेसबाट नियाल्दा संसार क्षणिक देखिन्छ । अविच्छिन्न देखिन्छ, सीमाहीन देखिन्छ, स्पष्ट रूपमा ब्रह्माण्डका सबै पिण्डहरू एकआपसमा अन्तरसम्बन्धित देखिन्छन् । पृथ्वी सिङ्गो एकाइझैँ देखिन्छ, जहाँ विभाजनको रेखा देखिँदैन, भौगोलिक रूपमा खण्डित देश पनि देखिँदैन, पक्कै एउटै चीज देखिन्छ, उही जीव, उही समुदाय, उही प्रणाली । जब राजनीतिक प्रणालीको स्पेसबाट संसार हेरिन्छ, तब सिङ्गो पृथ्वी भौगोलिक रूपमा विकसित उत्पीडक राष्ट्र र अविकसित उत्पीडित राष्ट्रबीचमा खण्डित भएको देखिन्छ, आर्थिक रूपमा आम समुदाय धनी र गरीब वर्गमा विभाजित भएको देखिन्छ, मानिसहरू उच्च जाति र निच जाति, धार्मिक र भाषिक रूपमा पनि सभ्य र असभ्य बीचमा खण्डित भएको देखिन्छ ।

महासागरका पानीजहाज जस्तै बालबालिकाहरू कुकुरसँग सुतिरहेको, फालिएको पाउरोटीका लागि कुकुरसँग लडिरहेका देख्न सकिन्छ, नुर्केलले भनेजस्तै ‘जताततै आर्थिक दुष्चक्र मात्रै घुमिरहेको’ देख्न सकिन्छ । साँच्चै नै माक्र्सले भनेका छन्, ‘आजसम्मको मानव जातिको इतिहास भनेको थिचोमिचो र रक्तपातपूर्ण युद्वले भरिएको इतिहास हो ।’ करिब यो पाँच हजार वर्षयताको मानव जातिको लिखित इतिहासमा केवल शान्तिको एक सय साठ्ठी वर्ष मात्र देखिन्छ, बाँकी युद्व र अशान्तिले भरिएको छ । यो एक सय साठ्ठी शान्तिको वर्ष भनिए पनि हतियार उत्पादन र ठूलाठूला युद्वको तयारीले निर्धारण गरिदिएको मूर्दा शान्तिबाहेक वास्तविक शान्ति मानव जातिले आजसम्म पनि महशुस गरेका छैनन् ।

यो अवधिमा शान्तिको अनगिन्ती उपदेश बाँडिएको छ, लाखौं परेवा उडाएको छ, शान्तिको यज्ञ, महायज्ञ, प्रवचनको बाबजुद पनि आणविक, रासायनिक र जैविक आम विनाशकारी अस्त्रको बिस्तारले मानव जातिको युग अन्त्यको युद्वतिर विश्व ढल्किँँदै गएको देख्न सकिन्छ । विश्वप्रसिद्व साहित्यकार लरेन्स भन्छन्, ‘यदि विश्वलाई बचाउने हो भने दुई सय वर्ष सम्पूर्ण स्कुल–कलेज बन्द गर्नुपर्छ, किनकि मानिसहरू शिक्षित भएर शान्ति र समृद्वि कार्यमा भन्दा अशान्ति र विनाशकारी कार्यमा ज्यादै लागे ।’ लरेन्सको भनाइमा सहमत हुन त नसकिएला । तर, वर्तमान विश्वको रफ्तार त्यतातिर सोझिइरहेको यथार्थलाई पनि नकार्न सकिँदैन ।

(क) विश्व र जीवनः

‘जे छ त्यो क्षणिक छ’, जे क्षणिक छैन, त्यो छँदै छैन (बुद्व दर्शन) । पिण्ड बिनाको खाली स्पेस र पिण्डसहितको स्थान यहीँ पृथ्वी भित्र छ । जहाँ पृथ्वी छैन, त्यहाँ त्यो भन्दा परको सवाल उठाउनु बकवास हो । जसरी फुल्दै गरेको बेलुनको खोलको सुक्ष्म भागहरू एक–अर्काबाट टाढा गइरहेको छ । त्यसरी नै पृथ्वीको मौलिक परिवर्तनले पिण्डहरू एक–अर्काबाट टाढा भागिरहेको छ, ब्रह्माण्डमा निहारिकास नक्षत्रपुञ्जहरू प्रतिसेकेण्डका दरले हजारौं माइल टाढा गइरहेको देख्न सकिन्छ । क्षणक्षणको परिवर्तनले नयाँ चीज, नयाँ जीवन र चुनौतीहरू हाम्रो सामु उपस्थित गरिरहेकोे छ । मेस्सी र रोनाल्डोको एकल बहादुरीपूर्ण गौरवमा मात्रैै रूमलिरहेको विश्व फुटबल प्रतियोगितालाई टिमबद्व खेलको उत्कृष्ट लयको विकासले नयाँ मोड दियो, भारतीय र यूरेसिया ‘टेक्टोनिक प्लेट’ घर्षणले हरेक सय वर्षको अन्तरालमा आउने विनाशकारी भूकम्पको घाउहरू हामीसँग अझै आलै, नेपाली बजारको ८० प्रतिशत एकाधिकार कायम गर्ने भारतीय औद्योगिक प्रदुषणले अब हाम्रो हावा र पानी पनि विषाक्त बनाउँदै छ ।

साम्राज्यवादी औद्योगिक प्रदुषणको विश्वव्यापी असरले ‘एकघर, एकरोग’ उत्पादन गर्दैछ । अतिरिक्त माल उत्पादनको लागि कच्चा पदार्थ उत्पादन गर्न बिषादी प्रयोग गरेर माटोको उर्जाशक्ति नष्ट गर्दैछ । औद्योगिकरण गिराएको जमिनमा जतिसुकै कडा बिषादी प्रयोग गर्दा पनि ६० बालीभन्दा उब्जाउ नै हुँदैन । यो बिषादीको विश्वव्यापी प्रयोगले अर्गानिक उत्पादन र मललाई विस्थापित गरिसक्यो । हाम्रो उपभोग्य वस्तु र कृषिजन्य वस्तुमा ८० हजार प्रकारका बिषादी र केमिकल प्रयोग गरिएको हुन्छ ।

नेपालमा संसदीय प्रजातन्त्र ल्याएपछि (२०४८ साल) मा नेपाली कांग्रेसको सरकारले (उदारवादी आर्थिक नीति) भित्र्यायो, जसअनुसार नै स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरियो । आज शिक्षा र स्वास्थ्यमा निजी व्यापार गर्ने मुलुकहरूमा नेपाल ८६५ अर्थात दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, पूर्वी एसिया र मध्यपूर्वी एसियामा नेपाल पहिलो रहेछ । यसकारण डा. गोविन्द के.सी. प्रदुषित संसदीय प्रजातन्त्रको उपज हुन्, व्यक्ति होइनन्, अहिले कांग्रेसले फेरि केसीलाई कम्युनिष्ट सरकारविरूद्व प्रहार गर्ने फगत हतियारका रूपमा प्रयोग गरिरहेको छ ।

आम नेपालीले बुझेका छन्, कांग्रेस सिद्वान्तमा होइन, इष्युमा राजनीति गर्छ, यदि कांग्रेसलाई जनजीवनप्रति चिन्ता हो भने स्वास्थ्य र शिक्षाको राष्ट्रियकरणको विषयमा संघीय संसदमा बहस गर्न सक्नुपर्छ । अबको हाम्रो पहिलो लडाई स्वास्थ्य र शिक्षाको मुद्वा हो । एकथरि उत्पादक र व्यापारीहरू रोगी उपभोक्ता तिव्र रूपमा उत्पादन गर्दैछन् । अर्काथरि निजी मेडिकल व्यापारीहरू अधिक मुनाफा कमाइरहेका छन् । उता लोकतान्त्रिक सरकार भने करको कुपन मात्र काटिरहेको हुन्छ । उपचार लागतका कारण ८० प्रतिशत नेपाली गम्भीर प्रकृतिको रोग उपचार गर्नै सक्दैनन् । घर खेत बेच्दा पनि पुग्दैन । कम्युनिष्ट सरकारले कानूनी प्रक्रियाबाट स्वास्थ्य र शिक्षालाई व्यापारीको हातबाट छिनेर जनताको हातमा सुम्पिन्छ कि सुम्पिँदैन यसैले समाजवादी छनक दिनेछ । अन्यथा यो कम्युनिष्ट सरकार पनि विस्मृतिको अजायव घरमा थन्किने छ ।

पृथ्वीको स्रोत र साधन बराबर बाँड्ने हो भने पृथ्वीका सबै मानिसलाई पुग्छ । तर, पूँजीवादमा एक जनालाई पनि पुग्दैन । अहिले विश्वमा २५ प्रतिशत मानिसले शोषण र दोहनबाट सञ्चित पूँजीले जसरी अतिमहाजन जीवनशैली बाँचेका छन् । बाँकीलाई त्यही जीवनशैली जीउन थप पाँचवटा पृथ्वी चाहिने विज्ञहरू बताउँछन् । पृथ्वीको आयु २ अर्ब वर्ष हो । तर, दस लाख वर्षको अवधिमा आधा पृथ्वी उपभोग गरिसक्यौं, अझै सन् १८१५ को बेलायती औद्योगिक क्रान्ति भन्दायता पृृथ्वीको स्रोत, साधन तथा प्राकृतिक सम्पदाहरूको अधिक दोहन भएको छ ।

दास युग र सामन्ती युगमा मानिस र जमिनमाथि एकाधिर थियो । तर, औद्योगिक अतिरिक्त माल उत्पादन नभएकाले जमिन एवं प्राकृतिक संंसाधनको विनाश भएन । मेरो भनाइ के हो भने विज्ञान र प्रविधिको खोज तथा विकासपछि द्रुत गतिमा औद्योगिक उत्पादन भयो । तर, यो सामाजिक मागको आधार नभएर सीमित व्यक्तिको असीमित मुनाफाको लागि भयो, दोहनको गति यसरी नै जाने हो भने अबको पाँच सय वर्षमा पृथ्वीको सम्पूर्ण स्रोत, साधन सकिने छ, प्राकृतिक विनाश हुनेछ । ‘यूरोपको खनिज सम्पदाले त अब ५० बर्ष पनि धान्दैन’ भन्छन् विज्ञहरू ।

मानिस र पशुमा यही भिन्नता हुन्छ । पशु भविष्य देख्दैनन् र मानिस भविष्य देख्न र त्यसबारे सोच्न सक्दछन् । तर, बिडम्वना हामी जसलाई प्रजातन्त्र वा लोकणतन्त्र भन्दै छौं त्यसले लामो भविष्य नसोचेर छोटो भविष्यमा रमाइरहेको छ, एउटा किताब छ ‘कोलैैप्स’ । यसमा एउटा इस्टर आइल्यान्डबारे लेखिएको छ, ‘जुन प्रशान्त महासागरमा छ, त्यहाँँका ठूलाठूला रूखहरू त्यहीँ रहने आदिवासीले आफ्नो कल्चरको रूपमा काट्ने गर्दथे, जबकि तीनलाई थाहा थियो समुन्द्री आँधीबाट त्यही रूखले उनीहरूलाई जोगाउँथ्यो । तर पनि उनीहरूले रूख काट्न छोडेनन् । अन्ततः समुन्द्री आँधीले त्यो आइल्यान्ड नष्ट नै भयो । ठीक यसरी नै पूँजीवादले जतिसक्दो विकास र समृद्वि हासिल गर्छ । विज्ञान र प्रविधिको प्रयोगबाट अधिक अतिरिक्त उत्पादकत्व बढाउँछ, अन्ततः त्यति नै छिटो सम्पदाको दोहन, प्राकृतिक विनाश र वातावरणीय प्रदुषणले पृथ्वी नष्ट हुनेछ । पृथ्वी नै नरहे पूँजीवाद रहला र कहाँ ?

(ख) प्राकृतिक चेतना र ‘सोफिया’

करीब एक अर्ब वर्षदेखि आजसम्म जानकारीमा आएसम्म पृथ्वीमा उत्पत्ति र विकास भएका जीवहरूमा संज्ञात्मक चेतना अभिव्यक्त गर्ने पहिलो प्राणी नै मानव हो । म को हुँ र संसार के हो ? आफू र जगत ठम्याउन सक्ने संवेदनात्मक सोच मानिसमा मात्रै हुन्छ र भइरहनेछ, प्राकृतिक चेतना साफियासँग हुँदैन र हुने छैन पनि । सोफियामा स्वचालित रूपमा काम गर्न सक्ने मूख्य भाग सफ्टवेयर र हार्डवेयर वा कम्प्युटर प्रोग्रामिङ सिस्टम दक्ष मानव चेतनाद्वारा नै निर्माण गरिएको हो ।

मानिसले भरिदिएको चेतनाले मानिसले भन्दा बढी विश्वसनीय तथा कम खर्चमा नै सबै डकुमेन्ट्री स्क्यान गर्ने काम गर्न सक्ने भएकाले यस्ता यान्त्रिक सफ्टवेयरलाई समग्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात्, कृतिम बौद्विक यन्त्र मानव भनिएको हो । विज्ञान र प्रविधिको विकास आफै्मा खराव हुँदैनन् । कुन उद्देश्यका लागि प्रयोग गरिन्छ, त्यो महत्वपूर्ण कुरा हो । पूँजीवादले मानव श्रमको विस्थापन गर्न र श्रमको लागत घटाएर उत्पादकत्व वृद्वि गर्न विज्ञान र प्रविधिको प्रयोग गर्दै आइरहेको छ, जस्तैः प्रारम्भिक पूँजीवादको समयमा ढुँगे युग (सिलिकन) देखि मानव तथा पशुपंक्षीद्वारा सञ्चालित यान्त्रिक शक्तिलाई, जीवाश्म इन्धनबाट सञ्चालित यन्त्र मेसिन तथा आग्नेयन्त्रद्वारा विस्थापित भयो ।

१८१५ को औद्योगिक क्रान्तिपछिको जीवाश्म इन्धन (फोसियल फ्युल) बाट चल्ने यन्त्र मेसिनको तिव्र विकास र प्रयोगबाट पूँजीपतिहरूले प्राकृतिक सम्पदाको दोहन र ठूलो संख्यामा मानव श्रमको पनि प्रतिस्थापन गरिदियो अथवा मजदुरहरूको रोजीरोटी मेसिनहरूले खोसिदियो । पछिलो समय प्रविधि क्षेत्रमा क्रान्ति हुने क्रम जारी छ ्र क्वान्टम, आप्टिकल, वायो कम्प्युटर, र बायोटेक्नोलोजी, वैकल्पिक उर्जाको विकासले मानव समाज नयाँ युगमा प्रवेश गरेको छ । अब यो प्रविधि र मेसिनले जीवाश्म इन्धन (फोसियल फ्युल) को प्रविधि र मेसिनहरूलाई विस्थापित गरिदिने छ । सबै काम यो प्रविधिले गरिदिने भएकोले यसले पृथ्वी र मानव जीवनमा कस्तो प्रभाव पर्छ, अहिले विश्वभर यसै विषयमा बहस जारी छ ।

निश्चय पनि यो प्रविधिको प्रयोग पनि साम्राज्यवादी उदेश्यकै लागि हुने भएकोले यसले पृथ्वी र मानव समाजमा भयावह परिस्थिति ल्याउने छ । भविश्यमा धेरै रोजगारी सेवा क्षेत्रमा पर्ने भएकोले यश क्षेत्रमा रोबोट र कृतिम यन्त्र मानवको प्रयोग हुने भएकोले करोडौं मानव रोजगारी गुम्ने सम्भावना छ । मानवीय संवेदना आवश्यक पर्ने रोजगारी पनि स्वचालीकरण हुने भएकाले उच्च वर्गका बौद्विक ज्ञान र सीप नष्ट गरिदिने सम्भावना छ । यातायात, जलक्षेत्र र हवाई क्षेत्रको स्वचालीकरण हुने भएकाले गाडी कुदाउने, जहाज चलाउने, हवाई जहाज उडाउने जस्ता मानविय बौद्विक सीप विस्थापित गरिदिने छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनले स्वचालीकरण यन्त्र र प्रविधिलाई आफ्नो नीतिगत कार्यक्रममा संरचनात्मक समायोजन गर्नेछ । जसको माध्यमबाट साम्राज्यवादले तेस्रो मुलुकहरूको प्राकृतिक सम्पदाको दोहन र अर्थतन्त्रको नियन्त्रण गर्नेछ भने तेस्रो मुलुकहरूमा बेरोजगारी र सम्पदा दोहनको कारण दलाल सरकार र जनताबीचको अन्तरविरोध तीव्र हुने देखिन्छ । यो प्रविधिले अर्बौं मानिसलाई सामूहिक रूपमा निष्क्रिय बनाउने भएकाले साम्राज्यवादी अर्थतन्त्र पनि निष्क्रिय नै हुनेछ । यो महासंकटको कारणले विश्वव्यापी साम्राज्यवादको विरूद्व राष्ट्रिय मुक्ति आन्दोलन र बेरोजगारी आन्दोलन एकैपटक उथलपुथल हुने सम्भावना देखिन्छ ।

साम्राज्यवादी खेमासँग आफ्नो महासंकट टार्ने तीनवटा विकल्प छन् । पहिलो, मानव नरसंहारद्वारा जनसंख्या घटाएर आन्दोलन समाप्त पार्नु । दोस्रो, आत्मघाती आणविक हतियारको प्रयोग गरेर पृथ्वीमा मानव युगको अन्त्य गर्नु । तेस्रो, समाजवादी व्यवस्था स्विकारेर मानव समाजलाई स्वर्णीम् युग साम्यवादमा पुर्याउनु । यो अबको निकै ठूलो सवाल हो ।