‘राजनीति कमाई खाने भाँडो होइन’ : प्रचण्ड

Prachanda-10
लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा जो सुकै भएपनि जनताले विकास निर्माण, शुसान, भ्रष्टाचार नियन्त्रण र समृद्धि खोज्ने बताएका छन् ।

जनताका लागि शासन सत्तामा कांग्रेस छ कि कम्युनिष्ट त्यसको महत्व नरहने उनको भनाई छ । प्रचण्डले भने, ‘बिरालो सेतो होस् की कालो, त्यसले मुसो मार्नुपछ’ उनले भने, ‘मुसो मार्न नसक्ने बिरालो सेतो भए पनि कालो भएपनि कुनै काम छैन ।’

शनिबार काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिले देश विकासका लागि सबैभन्दा राम्रो राजनीतिक वातावरण निर्माण भएको बताएका हुन् ।

उनले झण्डै दुई तिहाई बहुमतको सरकार बनेकोे बेलामा पनि विकास, भ्रष्टाचार नियन्त्रण र समृद्धि हासिल गर्न नसके कहिले सकिन्छ भन्ने प्रश्न गरे ।

उनले राजनीतिलाई कैयौं मानिसहरुले कमाई खाने भाँडो बनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । राजनीति समाजसेवाका लागि हुनुपर्ने भन्दै उनले यसलाई कमाउने माध्यम बनाउँदा जनतामा राजनीतिप्रति नै बितृष्णा जागेको बताए ।

अध्यक्ष प्रचण्डले पुस्तक व्यवसायीहरुले घरपरिवारका सबै सदस्यले एकै ठाउँमा बसेर पढ्न नसक्ने पुस्तकहरुलाई निरुत्साहित गर्नुपर्ने र संस्थागत रुपमै राम्रा पुस्तक प्रकाशन गर्नुपर्नेमा जोड दिए ।