‘नगरको विकास समानुपातिक रुपमा गर्छु’ : रेनु दाहाल

renu dahal
लाेकपाटी न्यूज

भरतपुर, २८ पुस । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर क्षेत्रलाई खेलकूदको ‘हव’ बनाउन सकिने बताएकी छिन् ।

लायन्स क्लव अफ बागेश्वरीले चितवनमा पहिलो पटक गरेको मिनी म्याराथन प्रतियोगितामा प्रमूख अतिथि रहेकी महानगर प्रमुख दाहालले भरतपुर मेडिकल कलेज, शिक्षा, पर्यटन सँगसँगै खेलकूदको ‘हव’ पनि बन्नसक्ने बताइन् ।

उनले भरतपुरमै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बन्ने पक्का भएको बताएकी छिन् । उनले भनिन्, ‘चित्रवन रङ्गशाला निमार्णाधीन अवस्थामा छ र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको घोषणा पनि औपचारिक रुपमा छिट्टै हुनेछ ।’

कार्यक्रममा उनले महानगरको प्रत्येक वडामा एउटा खेलकूद मैदान निमार्णको अवधारणालाई अगाडि बढाएको बताइन् । उनले भनिन्, ‘खेलकूदको प्रवद्धन गर्न महानगरपालिका अघि बढिरहेको छ । भरतपुरलाई खेलकुदको ‘हव’ बनाउन सकिन्छ भन्ने हामीलाई लागिरहेको छ ।’

उनले भरतपुर महानगर समानुपातिक ढङ्गले अगाडि बढेको बताउँदै स्वास्थ्य र विकासका लागि खेलकुद भएको हुनाले समृद्धिमा खेलकूदको ठूलो महत्व रहेको बताइन् ।