‘श्रमिकका पक्षमा काम गर्छु’ : मन्त्री विष्ट

gokarna-bista
लाेकपाटी न्यूज

रामपुर, पाल्पा । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा संयोजक तोकेर तिब्रताका साथ कार्यान्वयनमा जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

पाल्पाको रामपुरमा शुक्रबारदेखि शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री विष्टले इतिहासमै पहिलोपटक ३ तहको सरकारको अभ्यास भइरहेकाले स्थानीय तहलाई जोड दिँदै सरकारले सामाजिक सुरक्षा कार्यक्रमबाट देशभरका श्रमजीवी वर्गलाई जोड्ने र देशलाई समृद्धितर्फ लैजाने बताए ।

मन्त्री विष्टले नेपाली जनताले नेपालभित्रै रोजगारी पाउन भनेर सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउँदै अबको ५ वर्षमा समृद्ध नेपालको खाका तयार गरिसक्नेमा जोड दिए । ३५ वर्षअघि रामपुरमा आएको स्मरण गर्दै मन्त्री विष्टले भौगोलिक सुन्दरताले दिएको रामपुर उपत्यकामा औधोगिक बिकास गरि हजारौ युवालाई रोजगार दिन सकिने बताए ।

आउदो माघ ८ गतेसम्म चल्ने महोत्सवमा प्रदेश सांसदहरु युवराज खनाल, नारायण आचार्य, पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै रामपुरको बिकासका लागि महोत्सव महत्वपूर्ण हुने बताए । उद्योग वाणिज्य संघको भवन निर्माणमा आर्थिक सहयोग संकलन गर्ने र कालीगण्डकी उपत्यकाको पहिचानको उद्धेश्यले मेलाको आयोजना गरिएको हो ।

मेलामा राम्दीदेखि केलादीधाम र केलादीधाम देखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, रामपुर्वआसपासका पर्यटकिय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाईडिङ् उडान मेलाका मुख्य आकर्षणका रुपमा रहेको छ।

मेलामा कालीगण्डकीबेशी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिएको मूल आयोजक समितिले जनाएको छ ।

Gokarna Bista-7