चीनले लगायो चर्चहरुमाथि प्रतिबन्ध

china flag
लाेकपाटी न्यूज

काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिविधि बन्द गर्न थालेको छ । इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखिएको भन्दै चीनले धेरै चर्चहरु बन्द गराएको जनाइएको छ ।

चीनले सार्वजनिक घोषणा नगरी आन्तरिक रुपमा चर्च बन्द गराउने अभियान चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । केही समयअघि मुस्लिमहरुको गतिविधिमाथि नियन्त्रण गरेको चीनले देशको रक्षाका लागि नयाँ प्रयास थालेको जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले नास्तिक कम्युनिष्टहरुको धार्मिक स्वतन्त्रताको नीतिबाट क्रिश्चियनहरुले फाइदा उठाउन सक्ने भन्दै चनाखो हुनुपर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन माग गरेको थियो ।

चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताइएको छ । पार्टीको विश्लेषणअनुसार इसाई धर्म चीनमा तीब्र रुपमा चलिरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा दिन्छ ।

चीन सरकारले क्रिसमसको पूर्व सन्ध्यामा चेन्गदू प्रान्तमा रहेका सबै चर्चहरु बन्द गरिदिएको बताइएको थियो । न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार गु बाओलुओ केही महिनादेखि चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारीमा थिए ।

तर, डिसेम्बरको शुरुवातको एक दिन चीन सरकारले सो प्रार्थना स्थललाई बन्द गरिदिएको थियो । चिनियाँ प्रहरीले सो प्रान्तमा रहेका बाँडिएका तथा राखिएका इसाईहरुको धार्मिक ग्रन्थ बाइबललाई समेत जफत गरेका थिए ।

चर्चद्वारा चलाइएका विद्यालयहरुलाई बन्द गरिएको तथा विभिन्न स्थानमा तोडफोडका लागि उक्साएको आरोपमा अर्लि रेनका पादरीलाई समेत हिरासतमा राखिएको छ । ती पादरीलाई पाँच वर्षसम्म कारागार सजाय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्