‘नेताहरु विलासी जीवनबाट अलग भैदिउन्’

Bishnu Manandhar
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले नेताको रहनसहन जनतासँग मिल्दोजुल्दो हुनुपर्ने बताएका छन् ।

राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी) मानन्धरले रासससँग गरिएको अन्तर्वार्तामा भने, ‘नेताहरु विलासी जीवनबाट अलग भैदिऊन् । मेरो हार्दिक अभिलाषा छ नेताहरु सही दिशामा गइदिऊन् ।’

उनले मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र आवासमा राज्य क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिँदै सरकारले आफूलाई प्राप्त अवसरको भरपूर उपयोग गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘मैले त वैज्ञानिक समाजवाद भनेको छु, समाजवाद मात्र भनेर हुन्न । उत्पादनका साधनमा सामाजिक अधिकार हुनुपर्छ, त्यसमा व्यक्तिगत अधिकार हुनुहुन्न । उत्पादनको साधनमा स्वामित्व र वितरण कुन आधारमा हुन्छ, त्यसै आधारमा वैज्ञानिक समाजवाद हो होइन भन्ने थाहा हुन्छ, खालL समाजवाद मात्र भनेर हुन्न । अहिले समाजवाद लोकप्रिय भएकाले समाजवाद नभन्दा दलहरुलाई पनि टिक्न गाह्रो छ ।’

एकातिर समाजवाद ल्याउने भन्ने कुरा नेताहरुले गरेको तर मूल हतियार पार्टी सङ्गठन महिनौं बित्दा पनि माथिल्ला तह केन्द्रीय समिति र सचिवालयबाहेक तल एकीकरण र सक्रिय नभएकामा चिन्ता व्यक्त गर्दै उनले पार्टी निष्क्रिय भई जनतामा कायक्रम लान नसकिएको तर भाषण मात्र भएकाले जनतामा असन्तोष पैदा गरेको उनले बताए ।

नेकपाको साङ्गठनिक प्रस्ताव र विधान ल्याइए पनि ठोस राजनीतिक प्रस्ताव ल्याउन नसकिएकामा असन्तोष व्यक्त गर्दै उनले नेकपा सैद्धान्तिकता र वैचारिकता विषयमा बडो दोधारमा रही विचलन हुने स्थिति देखापरेकाले यसमा नेकपा बडो चनाखो हुनुपरेको औँल्याए ।

राष्ट्र र सरकार प्रमुखको सुरक्षाका नाममा सवारी साधनको ताँती लगाई सडक जाम गर्दा जनतालाई पर्ने मर्का नहेरिएकामा असन्तोष व्यक्त गर्दै उनले गाउँ र नगरपालिकाका अध्यक्ष र सदस्यले आफ्ना तलब भत्ताप्रति मात्र चिन्ता गरेको तर समग्रमा जनतालाई सेवा पुर्‍याउने ठोस काम नगरेको भनी ठोकुवा गरे ।

‘नेकपाले मार्स्कवाद –लेनिनवाद (माले), मजदूर र वर्गको कुरा गरे पनि व्यावहारिक रुपमा काँग्रेस र वर्तमान सरकारको फरकपना भन्नै गाह्रो छ । नेकपाको नेतृत्व र सरकारले सही दिशा समातेर व्यवहार र चरित्रबाट आफूलाई काँग्रेसको सिद्धान्त र व्यवहारबाट फरक बनाउन सक्नुपर्छ, जनताले त्यस्तो अवस्था अनुभूत गर्न सक्नुपर्छ,’ उनले भने ।

विसं २०४६ र २०६२/६३ को आन्दोलनमा संयुक्त वाममोर्चा र संवामो नेपालमा पार्टीगत सहभागिता जनाउनुभएका नेता मानन्धर विसं २०६३ असोज ७ गतेदेखि तत्कालीन नेकपा (संयुक्त मार्क्सवादी)को महासचिवबाट राजीनामा दिई सक्रिय राजनीतिबाट अलग भएका हुन् ।

हाल केही अस्वस्थ भएपनि पनि उनी पुत्र युवा नेता सुनिल मानन्धर र बुहारी राधा भट्टराईका साथ रही आफ्ना राजनीतिक संस्मरण लेख्न तल्लीन छन् । रौतहट, गौरमा जन्मिएका उनको करिब एक दशकअघि राजनीतिक दस्तावेज, लेखरचना र अन्तर्वार्ताहरुको सङ्ग्रह प्रकाशन भइसकेको छ ।