‘प्रधानमन्त्री ज्यू, बुद्धिजीवीलाई थला पारेर लोकतन्त्र बलियो हुँदैन’ : डा. रिजाल

minendra-rijal01
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले बुद्धिजीवीलाई थला पारेर लोकतन्त्र बलियो नहुने बताएका छन् ।

आइतबार संसदमा बोल्दै सांसद डा. रिजालले भने, ‘प्रधानमन्त्री ज्यू, बुद्धिजीवीलाई थला पारेर, लखेटेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर लोकतन्त्र बलियो हुँदैन । साथै उनले लोकतन्त्र बलियो बनाउन सत्याग्रहीको मान मर्दन तथा संवैधानिक अंगलाई निस्तेज पार्न नहुने तर्क गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लगातार झटारो हानेका रिजालले भनिएजस्तो संघीयता बलियो नभएको पनि बताए । उनले प्रश्न गरे, ‘प्रदेशका मूख्यमन्त्रीहरुसँग अन्तरप्रदेश समन्वय नगर्ने, त्यो संस्थालाई क्रियाशील नबनाउने अनि संघीयता बलियो बनाएको छु भनेर झुट बोल्ने ?’

उनले काठमाडौंको खाल्डोबाट नदेखिएर प्रधानमन्त्रीले झापामा भ्यू टावर बनाउन लागेको भन्दै व्यङ्ग्य गरे । ‘काठमाडौं खाल्डोबाट देखिएन होला त्यसैले झापामा भ्यू टावर बनाउने भन्नुभाछ । प्रधानमन्त्री ज्यू तपाईले देखेजस्तो देशको स्थिति छैन,’ रिजालले भने, ‘झापाको भ्यू टावरमा चढेपनि निर्मला हत्याको टाटो टाढैबाट देखिन्छ ।’