‘सङ्घर्षको अर्को नाम नै जीवन हो’ : प्रचण्ड (मन्तव्यको सम्पादित अंश)

prachanda222
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षको अर्को नाम नै जीवन भएको र मानिस सङ्घर्षबाटै सफल हुने बताएका छन् ।

आइतबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको पुस्तक बिमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले आफूले १० वर्ष सक्रिय राजनीति गर्ने र त्यो समय जनताको समृद्धिकै लागि व्यतित गर्ने बताए ।

कार्यक्रममा साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य सेतो फरियोको बिमोचन गरिएको थियो । सो अवसरमा समाजका विविध क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।

यस्तो छ प्रचण्डले कार्यक्रममा बोलेको मन्तव्यको सम्पादित अंश ।

साहित्यकार, संगीतकार तथा लेखकको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको छ । र, एउटा मान्छेले निष्ठाका साथ आफूलाई समर्पित गर्दै लग्यो भने तमाम प्रतिकुलताहरु हुँदाहुँदै पनि प्रगति गर्न सक्दोरहेछ । जसले राष्ट्रका लागि ठूलो योगदान दिन सक्दोरहेछ भन्ने कुरा बाबा बस्नेतको सक्रियताले देखाएको छ । म उहाँलाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । शुभकामना व्यक्त गर्न चाहन्छु । कुनै पनि काममा निरन्तर लागिरह्यो भने राष्ट्रलाई प्रभावित पार्न सकिन्छ र समाजका लागि योगदान गर्न सकिन्छ भन्ने प्रेरणा बाबा बस्नेतले गर्नुभएको छ ।

आज बिमोचित सेतो फरिया साहित्यिक र सौन्दर्य चेतको हिसाबले साहित्य जगतमा ल्याएको मैले महसुस गर्दछु । तर, यो नेपाली समाजमा महिलाहरुले भोगेका प्रतिरोधको एउटा राम्रो अपील पनि हो । यो महिला सशक्तिकरण र महिला अधिकारका निम्ति र महिला मुक्तिका लागि उहाँले गरेको एउटा ठूलो योगदान हो भन्ने म ठान्छु । हामी महिला मुक्तिको नयाँ ठाउँमा पनि छौं । गणतन्त्र मञ्च र बाबाजीले जे मेहेनत गरिरहनुभएको छ, त्यसले महिला मुक्ति र समग्र परिवर्तनकै आन्दोलनमा योगदान गरेको छ ।

अब देशमा राजनीतिक रुपमा ठूलो समस्या छैन । सरकार पनि दुई तिहाईको छ । बलियो छ, राजनीतिक स्थायित्व छ । एजेण्डा पनि सबैले भन्ने गरेको विकास र समृद्धि नै हो । तर, पनि दीगो रुपमा स्थायित्व भयो भन्ने ठाउँमा हामी छैनौं । यो राजनीतिक परिवर्तन जबसम्म साहित्यिक, सांस्कृतिक रुपले भावात्मक रुपान्तरण हुँदैन तबसम्म राजनीतिक परिवर्तन दीगो रुपमा हुँदैन । साहित्य त्यस्तो साधन हो, जसले मानिसहरुलाई सामथ्र्य प्रदान गर्छ, उसको अन्तरहृदयमा तरङ्ग पैदा गरेर एउटा नयाँ संस्कार दिने नयाँ शक्ति प्रदान गर्ने भावनात्मक रुपले नै अर्को ठाउँमा पुर्याउने भूमिका खेल्छ ।

जबसम्म राजनीतिले साहित्यलाई, संस्कृतिलाई, कलालाई, संगीतलाई भावात्मक गति दिन सक्तैन तबसम्म राजनीतिक परिवर्तन लर्खराउने र ढल्ने खतरा भइरहन्छ । त्यस अर्थमा मैले बाबा बस्नेतको सेतो फरिया र म आफैंले नेतृत्व गरेको आन्दोलनको केन्द्रबिन्दुमा महिला मुक्तिको कुरा थियो र छ । त्यो पनि हजारौं गाउँका महिलाहरुले बलिदान गरेका छन् । चुलोचौकामा कैद भएका महिलाहरु समाज रुपान्तरणका निम्ति भनेर बन्दुक लिएर युद्धमा होमिनु भनेको सानो कुरा होइन ।

नेपालको राजनीतिक आन्दोलनमा निकै ठूलो बलिदानी भयो, त्यो हजारौं हजारको संख्यामा । दुई÷चार सय होइन, १५/१७ हजारको बलिदानी हुनु सामान्य कुरा होइन, त्यो बलिदानीमा मूख्यत पिँधमा पारिएका जाति, लिङ्ग र समुदायका मान्छे थिए । तिनीहरुको योगदानबाट देशमा परिवर्तन भयो । यो तथ्य हामीले बिर्सनै मिल्दैन, यो सामान्य सङ्घर्षबाट प्राप्त गरेको चीज होइन । अहिले महिलाहरु चुल्होचौकोबाट उठेर नीति निर्माणको तहमा छन् । ‘बिथ फाइभ’ (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामूख) मध्ये ‘बिग थ्री’ महिला भएको इतिहास हामीसँग छ । यो सामान्य बल र सङ्घर्षले भएको होइन ।

हामीले नेपालमा ठूलो सशस्त्र क्रान्तिको नेतृत्व गर्यौं । सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक मान्यताजस्ता मुद्दालाई स्थापित गर्यौं । अबको हाम्रो मिसन समृद्धि हो, समृद्धि मूखले भन्ने कुरा मात्र होइन, त्यो जनताको जीवनमा देखिनुपर्छ । जनताको जीवनमा परिवर्तन आउनुपर्छ । हामीले जनताको जीवनमा परिवर्तन ल्याउन सकेनौं भने कम्युनिष्टको के काम ? हामी कम्युनिष्ट हौं, समानताका पक्षधर हौं भनेर मात्र हुनेवाला छौं, त्यो परिवर्तन जनताको जीवनमा देखिनुपर्छ । कम्युनिष्टहरु सत्तामा पुगेपछि जनताको जीवन बदल्न नसकेका घटनाबाट हामीले पाठ सिक्नुपर्छ ।

म नै त्यस्तो पात्र हुँ, जसले सशस्त्र युद्धको पनि नेतृत्व गरें, हजारौं मानिसहरुले हाँसीहाँसी बलिदानी गरें । मेरै नेतृत्वमा देशमा शान्ति प्रक्रिया सफल भयो, त्यो पनि विश्वलाई सन्देश दिने सफल शान्ति प्रक्रिया । सशस्त्र युद्धको नेतृत्व गरेको पार्टी चुनावमा पनि ठूलो पार्टी बन्यो, म आफैं प्रधानमन्त्री भएँ, म आफैंले संविधान निर्माणको नेतृत्व गरें । मेरै नेतृत्वमा संविधान कार्यान्वयन हुने वातावरण बन्यो, हिमाल, पहाड र मधेशबीच सुदृढ एकता कायम गरेर हामी निर्वाचनमा गयौं । यो सामान्य कुरा होइन ।

अहिले हामी ठूलो वामपन्थी दलका रुपमा सरकारमा छौं । जनताले हामीबाट ठूलो अपेक्षा गरेका छन् । अहिले समृद्धिको नेतृत्व गर्ने जिवम्मेवारी पनि हाम्रै काँधमा आएको छ । मैले सार्वजनिक रुपमै भनेको छु, ‘अबको सम्पूर्ण जीवन समृद्धिका निम्ति खर्चिन्छु, जनताको जीवनमा परिवर्तन ल्याउन खर्चिन्छु ।’ यो मेरा लागि अवसर र चुनौति दुवै हो । आखिर सङ्घर्षको अर्को नाम नै जीवन हो, सम्भवतः अबको १० वर्ष नै मेरो सक्रिय राजनीतिको अवधि हुनेछ, त्यो समय समृद्धिमै लगाउँछु ।