वाइडबडी प्रकरणमा संलग्न छैन : शेरबहादुर देउवा

Sher Bahadur Deuwa
लाेकपाटी न्यूज

धनगढी, २९ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे ।

“मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने । सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने बताए ।

सञ्चार माध्यमहरुमा वाइडबडी खरिद प्रक्रियामा सभापति देउवाको पनि संलग्नता रहेको समाचार सार्वजनिक गरेपछि उनले त्यसको खण्डन गरेका हुन् । वाइडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्ष दलका मन्त्री र पूर्वमन्त्रीहरु विवादमा तानिएका छन् ।