‘रवीन्द्र अधिकारीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ’

Rabindra-adhikari-5
लाेकपाटी न्यूज

२९ पुस । प्रदेश ५ को प्रदेश संसद्मा सांसद्हरुले वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितताबारे प्रश्न उठाएका छन् । प्रतिपक्षी दल काँग्रेसका सांसद्ले प्रदेशसभामा वाइडबडी प्रकरणबारे प्रश्न गर्दै केन्द्र सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि आरोपित भएकाले राजीनामा दिन माग गरे । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

विपक्षी सांसद्ले मन्त्री अधिकारीले राजीनामा दिन नमाने प्रधामन्त्री केपी ओलीले भएपनि बर्खास्त गर्नुपर्नेमा माग राखे । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् फखरुद्दिन खानले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री अधिकारी नै विवादमा मुछिएकाले अविलम्व राजीनामा दिनुपर्ने बताए । उनले तत्काल राजीनामा नदिए आगामी दिनमा लुम्बिनीमा हुने कार्यक्रममा बहिष्कार गर्नेसम्मको चेतावनी दिए ।

त्यस्तै उनले प्रदेश संसद तथा सरकारले एउटै गाडीलाई फरकफरक मुल्यमा खरिद गरिनु र मुल्य पनि बजार मुल्य भन्दा अत्यधिक बढी भएकोबारे प्रदेश सरकारमाथि प्रश्न उठाए । यो विषय गम्भिर रहेका सत्यतथ्य छानविनको पनि उनले माग गरे ।