मन्त्री गोकर्ण विष्टको हस्तक्षेपले सयौं मजदुरलाई न्याय

Gokarna Bista-5
लाेकपाटी न्यूज

कास्की, ३० पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनपछि श्रम ऐनअनुसार तलब भत्ता वृद्धिलगायतका माग राखेर मणिपाल शिक्षण अस्पतालमा डेढ वर्षदेखि चलेको मजदुर विवाद समाधान भएको छ । यस विवाद टुङ्ग्याउन स्थानीय स्तरबाट पनि पहल भएको थियो । तर, सफल नभएपछि श्रमसम्बन्धी यो समस्या टुंगो लगाउन श्रम मन्त्रालयले नै हस्तक्षेप गरेको थियो । स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्देशनपछि हालै मात्र विवाद टुंगो लागेको हो । अस्पताल प्रशासनले २०७४ साउनदेखिको यो विवाद समाधान गर्न अटेर गर्दै आएको थियो । मन्त्री विष्टले विवाद समाधान नगरे कानूनी कारवाही गर्ने चेतावनी दिएपछि विवाद सुल्झिएको हो ।

यसअघिको सम्झौता कार्यान्वयन गर्न अस्पताल प्रशासनले अटेर गरेको र त्यसले गर्दा विवाद समाधान गर्न थप समय लागेको र संघीय सरकार नै अग्रसर हुनुपरेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेल जानकारी दिए । उनका अनुसार लामो समयदेखिको यो विवाद टुंगो लगाउन श्रम मन्त्रालयले नै हस्तक्षेप गर्नुपर्‍यो ।

पौडेलले अहिले अस्पताल प्रशासन सहमतिमा आएको बताएका छन् । प्रशासन सहमत भएपछि सयौं मजदुरलाई राहत मिलेको उनले बताए । श्रम ऐनअनुसार तलव वृद्धिलगायतका माग राखेर मजदुरले आन्दोलन थालेका थिए । मजदुरको आन्दोलनका कारण बेलाबेला अस्पतालको सेवासमेत प्रभावित हुँदै आएको थियो ।

विवाद समाधानका लागि सरकारले एक अध्ययन टोली नै गठन गरेको थियो । अध्ययन टोलीले अस्पताल प्रशासनलाई विवाद समाधानका लागि कडा निर्देशन दिएको थियो ।

मन्त्रालयको सक्रियामा मजदुरको तलब कम्तीमा ३६ सय ५० रुपैयाँ वृद्धि भएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलका अनुसार निकै कठिनाइका साथ मणिपाल प्रशासन मजदुरका माग सुन्न सहमत भएको बताए । उनले भने, ‘
स्थानीय प्रशासन, श्रम कार्यालय र प्रदेश मन्त्रालयको पहलमा समेत समस्या समाधान नभएपछि विवादको टुंगो लगाउन श्रम मन्त्रालयमा पुगेको थियो । श्रम मन्त्रालयको पहलमा बल्ल विवाद टुंगो लागेको छ ।’

उनले मन्त्री विष्ट आफैंले तीन दिनभित्र अस्तालको विवाद समाधान गर्नु भनेपछि प्रशासनले माग सम्बोधन गरेको हो ।

अस्पतालमा प्राध्यापक चिकित्सकबाहेक झन्डै ८ सय मजदुर छन् ।