नेविसंघका ४५ नेताकाे राजीनामा

Nebisang
लाेकपाटी न्यूज

काठमाडौं, ३० पुस । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् ।
संघको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्री ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् ।

यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन् ।

उनीहरुले नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन् ।
उनीहरुले संघका अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेको आरोप लगाएका छन् ।

सहमहामन्त्री शर्माले जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएको बताए । महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता नभएकाले सामुहिक राजीनामा दिनुपरेको उनको भनाई छ ।

विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन गर्नु पर्ने केन्द्रीय सदस्य कल्पना खड्काले भनिन् । यसअघि संघका नौ पदाधिकारीले राजीनामा दिएका थिए ।