उपत्यकामा मर्निङवाक गर्नु खतरा

morning-walk
लाेकपाटी न्यूज

काठमाडौं । बिहानी हिडाइ शरीरका लागि सबै भन्दा सहज व्यायाम हो । बिहानी हिडाइले शरीरलाई मेनटेन गर्न र तन्दुरुस्त राख्न मद्दत गर्नुका साथै चिन्ता, तनाव र उदासीनता पनि हटाउँछ ।

स्वास्थ्यका लागि हिँड्नु पहिलो रोजाइ बन्ने गरेको छ । शरीर फिट राख्न दिनमा न्यूनतम आधा घण्टा हिँड्न चिकित्सकहरुले नै सुझाउने गरेका छन् । प्रायको रोजाइ बिहानी हिँडाइ नै हुने गरेको देखिन्छ ।

तर उपत्यकाको हकमा बिहानको हिँडाइ घातक हुनसक्छ । अझ चिसो मौसममा प्रदूषित सहरमा हिँड्नु रोग घटाउने भन्दा बढाउने मेलो बन्न सक्छ । उपत्यकामा जाडो मौसममा मर्निङवाक गर्नु जोखिम हुने चिकित्सकहरु नै बताउँछन् । अझ दमका रोगीका लागि चिसो मौसमको बिहानी हिँडाइ जोखिमपूर्ण हुने चिकित्सकहरुको भनाई छ ।

उपत्यकामा कहिले पूर्व त कहिले पश्चिमबाट हावा वहने भएकाले उपत्यकाको कुन क्षेत्र मर्निङवाकका लागि उपयुक्त हुन्छ भन्न कठिन भएको उनीहरु बताउँछन् । चिसोको कारणले दम रोगीमा फोक्सोको स्वासनली खुम्चिएर दम बढ्ने सम्भावना हुने भएकाले दमलगायतका रोग भएका व्यक्तिले चिसोमा मर्निङवाक नगरेकै राम्रो हुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल जाडो मौसममा उपत्यकामा बढी धुलो धुवाँ हुने बताउँछन् । जाडो मौसममा उपत्यकामा बिहान र बेलुका बढी धुलो धुवाँ बढी हुने गरेको छ । जाडो मौसममा चिसोका कारणले धुलोका कण जमिनमा झर्छन त्यसैले यो मौसममा बिहान– बेलुकी शारीरिक कसरतका लागि नहिँड्नु नै राम्रो हुन्छ ।

धिमालका अनुसार चिसो मौसममा घाम लागेपछि दिउँसो र मध्य रातमा उपत्यकामा प्रदूषण कम हुन्छ । काठमाडौं, ललितपुर र भक्तपुरमध्ये काठमाडौंमा प्रदूषणको बढी जोखिम देखिन्छ । यहाँ बढी मात्रामा धुलो धुवाँ पाइएको डा.मेघनाथले बताए ।

राष्ट्रिय मापदण्ड अनुसार ४० माइक्रोग्राम प्रतिघनमिटर धुलो तोकिए पनि जाडो मौसममा उपत्यकामा चार गुणासम्म धुलो बढ्ने उनको भनाइ छ । जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी हो ।

हृदयाघातको जोखिम

सामान्यतयाः बिहान प्रदूषण कम हुने भएकाले बिहानको समयमा मर्निङवाक गर्नु राम्रो हुने मान्यता छ । बिहानको समयमा अक्सिजनको मात्रा बढी हुनुका साथै सवारीसाधन लगायतको धुलो धुवाँको चाप पनि कम हुन्छ । गर्मी वा पानी पर्ने सिजनमा मर्निङवाक उपयुक्त हुन्छ ।

राति प्रदूषण थेग्रिएर रहने सम्भावना भएकाले अत्यधिक प्रदूषण हुने ठाउँमा बिहानको साटो बेलुकीको समयमा हिँड्न सकिने चिकित्सकको तर्क छ ।

डा.बुढाथोकीका अनुसार मुटुमा तीनवटा मुख्य नसा हुन्छन् । मर्निङवाक गर्नाले मुटुका मसिना नसा खुल्छन् र मुख्य नसा बन्द भएको खण्डमा पनि अन्य मसिना नसाले रक्तसञ्चार गर्छन् र हृदयाघातको जोखिम कम हुन्छ ।

मर्निङवाक गर्दा खुट्टाको नसा सुन्निने जोखिम पनि कम हुने बताउँछन्, चिकित्सक । डा. थापा भन्छन्, ‘मर्निङवाक गर्दा शरीरमा राम्रो रक्तसञ्चार हुने भएकाले खुट्टाको नसामा रगत जम्न दिँदैन र खुट्टाको नसा सुन्निने जोखिम कम हुन्छ ।’

जाडो मौसममा हृदयाघातको जोखिम, बाथ रोगीलाई असरजस्ता समस्या हुने भएकाले दिन तातेर घाम लागेपछि हिँड्नु पर्ने उनकोे सुझाव छ । उनले दूषित हावाले फोक्सोमा असर गर्ने भएकाले मर्निङवाक गर्दा मुटु तथा फोक्सोका बिरामीले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्