भरतपुरमा जग्गाकाे कित्ताकाट खुलाइँदैन: रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

भरतपुर, ३० पुस । भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय लागू नगर्ने  भएको छ ।

वर्गीकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीतिअनुसार थप गृहकार्य गर्नुपर्ने भन्दै भरतपुर महानगरले जग्गा कित्ताकाट रोकेको हो ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुर महानगरले जथाभावी कित्ताकाट मान्य नहुने बताएकी छन् ।
उनले जग्गाको कित्ताकाट निर्णय भएसँगै भरतपुरमा मनपरी तरिकाले भू-माफियाहरु सल्बलाएका कारण स्पष्ट कार्ययोजना बनाएर मात्रै जग्गाको कित्ताकाट लागू गर्ने बताएकी हुन् ।

विगतमा मनपरी तरिकाले जग्गाको कित्ताकाट हुँदा समस्या आएको बताउँदै उनले स्मार्ट सिटी बनाउने भनेर तथ्यांक संकलन भइरहेको बताइन् । भरतपुरमा मात्र अव्यवस्थित तरिकाले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषि योग्य जमिन नासिएको कृषि कार्यालयको तथ्याकंन छ ।

पैसा खुवाएर जथभावी प्लटिङ गर्ने कार्य तीव्र रुपमा भइरहेकोले यस्ता कार्यलाई रोक्न आफूहरुले बाध्य भएर जग्गा कित्ताकाट नखुलाउने निर्णय गरेको उनले स्पष्ट पारिन् ।

प्लटिङ गरी खेतीयोग्य जग्गामा कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न आएमा पास नगर्न सम्बन्धित निकायलाई समेत निर्देशन दिएकाे उनले जानकारी दिइन् ।

साढे एक वर्षअघि भएको जग्गाको कित्ताकाट नेपाल सरकारले पुस २७ गतेबाट तत्काल लागू हुनेगरी फुकुवा गरेको थियो ।