चिनियाँ राजदूतसँगको भेटमा के भने सभामुख महराले ?

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज

काठमाडौं, ३० पुस । नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । सोमबार सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरिन् ।

भेटमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताए । उनले दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको पनि बताए ।

उनले भने, ‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ । दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ ।’

चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे । चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे ।

उता चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको बताउँदै आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन साथै नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताइन् ।

वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास राजदूत याङ्छीले व्यक्त गरिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्