मेसिन रिडेबल भिसा लागू गरिँदै

Home-Ministry
लाेकपाटी न्यूज

काठमाडौं,३० पुस । सरकारले मेसिन रिडेबल भिसा लागु गर्ने भएको छ । प्रचलनमा रहेको नेपाली भिसा स्टिकर अत्यन्त न्यून गुणस्तरको मानिएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एमआरभी अर्थात मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको हो ।

विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन्। गुणस्तर र सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सुरक्षा मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरकै मेसिन रिडेबल भिसामा रूपान्तरण गर्ने तयारी गरेको हो ।

यस्तो भिसा नक्कली बनाउन नसकिने भएकाले मेसिन रिडेबल भिसा सुरक्षित मानिएको हो । नेपालले जारी गर्ने भिसाको गुणस्तरबारे अन्तर्राष्ट्रिय स्तरमै व्यापक आलोचना हुँदै आएको थियो ।

नयाँ एमआरभीले नेपाली संस्कृति झल्काउने बताइएको छ । अहिलेको भिसा स्टिकरलाई प्रतिस्थापन गर्दै गृहले गैरपर्यटकीय भिसामा एमआरभी लागु गर्ने तयारी गरेको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले एमआरभी जारी गर्न आवश्यक तयारी गरिसकेको बताउँदै अहिले गैरपर्यटकीय भिसाका लागि एमआरभी जारी गर्ने तयारीमा रहेको बताए ।

विभागले आगामी वर्षदेखि सबै भिसामा एमआरभी लागू गर्ने तयारी गरिरहेको छ । गैरपर्यटकीयपछि पर्यटक भिसावाहकलाई पनि एमआरभी जारी गरिने विभागले जनाएको छ ।

प्रचलित भिसा स्टिकर हुलाक टिकट जस्तै भएकाले सजिलै हेरफेर गर्न सकिन्छ । स्टिकरमा भिसावाहकको नामसमेत हुँदैन । यात्रुको राहदानी नम्बर, भिसा जारी र गुज्रिने मिति मात्र हुन्छ । नक्कली भिसा बनाउन सजिलो भएकाले कतिपय विदेशीले नेपाली भिसा स्टिकर किर्ते गर्ने गरेका छन्। गृहले भिसा किर्ते गरी भइरहेका अवाञ्छित गतिविधि रोक्न एमआरभी लागू गर्ने भएको हो ।