‘लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए’

leaders at club
लाेकपाटी न्यूज

काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको काय्र्रक्रममा बोल्दै उनले समितिका सभापतिले समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका मुख्य अंश नै परिवर्तन गरेर सम्बन्धित निकायमा पठाएको आरोप लगाए ।

उनले भने,‘सभापतिजीको यो कदमले आज मलाई संसदीय मर्यादा नै खत्तम भएको महशुस भएको छ । विभागीय मन्त्रीलाई नैतिक जिम्मेवारी ठहर गर्दै कानुनी कारबाहीको लागि सिफारिश गर्नेगरि लेखा समितिको पूर्ण बैठकले गरेको निर्णयको पाना नै चोरी भएको छ ।’

साक्षात्कारमा बोल्दै उनले आफूले आजमात्रै प्रतिवेदन हात पारेको बताए । उनले भने,‘प्रतिवेदन हेर्दा पो थाहा भयो, अब विभागीय मन्त्रीमात्रै होईन, कोही पनि ठूला नेताहरुलाई कारबाही हुँदैन् । यो प्रतिवेदन बास्तवमा रद्दीको टोकरीमा पर्ने निश्चित् भयो ।’ आफूले यस विषयमा समितिमा लिखित रुपमा प्रस्ताव दर्ता गराउनेपनि जानकारी दिए ।

वाईडबडी खरिद प्रकरण नेपालको ईतिहासमा ठूलो घोटाला भएकोले यो प्रकरणमा कर्मचारीमात्रै नभएर ठूला नेतापनि दोषी रहेको उनको आरोप छ । यद्धपी उनले यो प्रकरणमा अब ठूला नेता वा मन्त्रीहरु कोहीपनि कारबाहीमा नपर्ने ठोकुवा गरे । उनले भने,‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने भनेर जतिसुकै ठुला कुरा गरेपनि यो देशमा भ्रष्टाचार गर्ने ठूला माछा जालमा पर्दैनन् भन्ने अब प्रष्ट भयो । भ्रष्टाचार गर्ने ठूला माछा पर्ने महाजाल अहिलेसम्म नेपालमा बनेको छैन् ।’

यादवले वाईडबडी खरिद प्रकरणमा संलग्न रहेका बहालवाला मन्त्री रवीन्द्र अधिकारी, सचिव र महाप्रबन्धक सुगतरत्न कंशकारलाई तत्काल निलम्बन गर्नुपर्ने पनि माग गरे । उनले भने,‘उनीहरुले नै प्रमाण नष्ट गरिरहेका छन् । उनीहरुलाई तत्काल निलम्बन नगरे प्रमाणहरु नष्ट हुन्छन् । सरकारले बनाएको न्यायिक समिति पनि गैरन्यायिक हुन्छ ।’ अहिले विभागीय मन्त्री अधिकारी यो प्रकरणमा आँफै धाँमी र आँफै बोक्सी बनिरहेको पनि उनले गम्भिर आरोप लगाए ।

भ्रष्टाचारमा लिप्त रहेका बहालवाला मन्त्री अधिकारीलाई वर्तमान सरकारले संरक्षण गरिरहेको पनि आरोप लगाए ।
नेकपाका नेता एवम् सांसद खगराज अधिकारीले वाईडबडी खरिद प्रकरणमा कोही पनि दोषी उम्किन नपाउने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले भ्रष्टाचारबारे सुन्य सहनसिलता अपनाएको छ । यो प्रकरणमा पनि स्वतन्त्र न्यायिक छानबिन समितिले पनि काम गरिरहेको छ । दोषीले उन्मुक्ति पाउँदैनन् ।’

वर्तमान सरकारले भ्रष्टाचार जरैदेखि उखल्ने अठोट लिएको सुनाउँदै उनले न्यायिक आयोगले अहिले छानबिन गरिरहेको सुनाए । उनले भने,‘न्यायिक समितिले निश्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिरहेको छ ।’