आज माघे संक्रान्ति मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

लाेकपाटी न्यूज

काठमाडौं, १ माघ । आज माघ महिनाको पहिलो दिन, माघे संक्रान्ती पर्व मनाइँदैछ । आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, सखरखन्ड, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।यस पर्वका अवसरमा देशका विभिन्न तीर्थस्थलमा स्नान गरी दान तथा पूजा गर्नेको भीड लागेको छ। खासगरी चितवन(नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट(रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा भक्तजनको घुइँचो लागेको छ।

यस्तै थारु समुदायमा माघी पर्वको रौनक छाएको छ । आजका दिनलाई यो समुदायले नयाँ वर्षका रूपमा मनाउँछन्। स्नान, दान, एवम् खानपिन र रमाइलो गर्छन्।

तराई क्षेत्रमा माघी पर्व पाँच दिनसम्म धुमधामका साथ मनाइन्छ।पुसको अन्तिम दिन सोमबार रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै थारु समुदायले नयाँ वर्षलाई स्वागत गरेका छन्। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ।

काठमाडौंमा बस्ने थारूहरूले माघी पर्वका उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन्। यस्तै मगर संघसंस्थाहरूले पनि टुँडिखेलमै माघे संक्रान्ति विशेष सांस्कृतिक एवं खानपिन कार्यक्रम गर्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले विविधितायुक्त मुलुक भएको र सबै धर्म, समुदायका आआफ्ना संस्कृति र परम्परा रहिआएको बताउँदै सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्वका रूपमा मनाउने निर्णय गरिसकेको बताएका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको शुभकामना व्यक्त गरेकी छन्। थारु, छन्त्याल र मगर समुदायको महान् पर्व माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले देशविदेशमा रहेर यस पर्वलाई मनाउने सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै यस्ता पर्वका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।