कृषि तथा पशु विज्ञान संस्थानको भर्नामा त्रुटी, तत्काल सच्याउन क्रान्तिकारीको माग

Akhil Krantikari
लाेकपाटी न्यूज

काठमाडौं, १ माघ । नेकपा निकट अखिल(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।

आज क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनियालाई ज्ञापनपत्र बुझाउँदै नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘मिति २०७५ पौष २४ गतेको सूचनाको आधारमा २९ र ३० गतेका लागि तोकिएको स्नातक तहको भर्नाअन्तर्गत कोटा प्रणालीको लागि गरिएको भर्ना अन्त्यन्त अवैज्ञानिक र अव्यवहारिक भई त्रुटीपूर्ण हुन गएको पाइएको छ ।’

प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा मेरिट र कोटाको छुट्टा–छुट्टै नतिजा सार्वजनिक नगरिएकाले मेरिट र कोटाको कति क्रम संख्याबाट भर्ना गर्ने भन्ने स्पष्ट नभएको आरोप क्रान्तिकारीले लगाएको छ ।

यसबाट कोटाको सिटमा भर्ना हुँदा कोटामा बढी अंक प्राप्त गर्ने वास्तविक विद्यार्थीहरुले अध्ययन गर्नबाट वञ्चित भई कम अंक प्राप्त गर्ने विद्यार्थी भर्ना हुने स्थिति आएको छ । यसलाई अविलम्ब सच्याउनु पर्ने माग राख्दै त्रिविअन्तर्गतका कृषि तथा पशु विज्ञान अध्यापन गराइने सबै कलेजमा विद्यार्थीहरु आन्दोलनरत रहेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्