नेपाली महिला फुटबलरले अब कति पाउँछन् तलवभत्ता ?

football
लाेकपाटी न्यूज

काठमाडौँ, ५ माघ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु. सात हजार तलब र रु. तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेका थिएनन् ।

एन्फाले ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीलाई नगदसहित सम्मानित गर्ने निर्णयसमेत गरेको छ । एन्फाको कार्यसमिति बैठकले महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु. ५० हजारबाट सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए ।

म्यान्मामा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपालले दोस्रो चरणका लागि स्थान पक्का गरेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो ।

यस्तै एन्फाले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई जनही रु. २५ हजारबाट सम्मान गर्ने निर्णय गरेको छ । गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्