‘टिकटक’का हिट ट्विन्स भन्छन्- एउटै घरमा बिहे गरेर जाँदैनौं

Prisma and Princy
लाेकपाटी न्यूज

काठमाडौं । ‘म्युजिकल्ली’ नेपालमा निकै चर्चित एप थियो । तर, अहिले यसको नाम परिवर्तन भएर ‘टिकटक’ बनेको छ । दिनप्रतिदिन यसको प्रयोगकर्ता नेपालमा ह्वात्तै बढ्दै गएका छन् । यो चिनियाँ एप हो । यो एपमा पृष्ठभूमिको आवाजमा हाउभाउसहित ओठ चलाएर १५ सेकेण्डसम्मको भिडियो बनाएर अपलोड गर्न सकिन्छ ।

युवायुवतीहरु टिकटकमा मजैसँग झुम्मिएका छन् । उनीहरु फुर्सद पाउनेबित्तिकै एप खोलेर अभिनय गर्न थालिहाल्छन् । मानिहरुले टिकटकले ‘कोठाभित्रका कलाकार’ भनेर व्यङ्ग्यसमेत गर्ने गर्छन् ।

टिकटिकबाटै सेलिब्रेटी बन्नेहरु धेरै छन् । यसबाट केहीले म्युजिक भिडियोमा पनि अवसर पाइसकेका छन् । अझ प्रयोगकर्ताहरुले टिकटकमा जुम्ल्याहा अर्थात् ट्विन्सलाई पनि ध्यान दिएर हेर्छन् ।

टिकटकले चिनिएका एक ट्विन्स हुन्- प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा । उनीहरुलाई टिकटकमा २४ लाखभन्दा बढीले पछ्याएका छन् ।

उनीहरु राजधानीको चाबहिलमा बस्छन् । झ्ट्ट हेर्दा कुन दिदी र कुन बहिनी छुट्याउन सकिँदैन । अझ उनीहरु टिकटकका भिडियोमा उस्तै पहिरनमा देखिन्छन् । प्रिज्मा जेठी हुन् भने प्रिन्सी कान्छी हुन् ।

सम्भवत: नेपालमा सबैभन्दा बढी फ्यान भएको टिकटक अकाउन्टनै उनीहरुको हो । उनीहरुको ‘ट्विन्नी गर्ल्स’को भिडियोले सर्वाधिक लोकप्रियता कमाउँदै आएको छ र त २४ लाख फ्यान छन् । एक भिडियो अन्तर्वार्तामा भनिएअनुसार प्रिज्मा मेधावी कलेजमा बीएचएम थर्ड सेमेस्टरमा पढ्छिन् भने बहिनी प्रिन्सी प्रिन्सी नाट कलेजमा डिप्लोमा इन एयरपोर्ट ग्राउन्ड अप्रेसन अध्ययनरत छिन् ।

पहिला उनीहरुको छुट्टाछुट्टै अकाउन्ट थियो । खासै भिडियो अपलोड गर्दैनथे । तर, एकदिन उनीहरुलाई आइशा दिदीले ‘तिमीहरु एउटै अकाउन्ट बनाएर टिकटक बनाओ । अरु ट्विन्सहरुले त्यस्तै गरेका छन् । राम्रो हुन्छ’ भनेपछि उनीहरुमा टिकटकप्रति मोह जाग्यो । त्यसपछि उनीहरुले ट्विन्सको रुपमा ‘बाटोमा भेट भयो रहेछौ कालेकाले’ भन्ने बनाए । त्यसले दुईतीन दिनमै धेरै मानिसहरुले मन पराए । प्रिन्सी भन्छिन्, ‘त्यो नै हाम्रो स्टार्ट अप हो ।’

उनीहरुको फलोअर्स सबैभन्दा बढी भारतका छन् । उनीहरुलाई दक्षिण एशियामा धेरैले हेरेका छन् । तपाईहरु कुनै ट्विन्ससँगै विवाह गरेर जाने सोचमा त हुनुहुन्न नि भन्ने प्रश्नमा उनीहरु भन्छन्- अँह हाम्रो त्यस्तो सोच छैन । हामी त्यसरी विवाह गर्दैनौं ।

उनीहरु टिकटक भिडियोमा मात्र होइन बोल्नमा पनि अब्बल छन् । आत्मविश्वासी छन् । उनीहरु डान्समा पनि उत्तिकै छन् । भिडियोमा उनीहरुको डान्स, एक्सप्रेशन र लुक्सको खिचडी देख्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्