सोमबारदेखि शुरु हुँदै श्रीस्वस्थानी व्रतकथा

sosthani katha
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ यो व्रत गरिदैँ आएको छ ।

प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवसरमा महिनाभर साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरन गर्दछन् भने व्रतालुले घ्यू, चाकु र पालुङ्गो मात्रै सेवन गर्छन । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

एक महीनाको व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्