‘विराट सर्वश्रेष्ठ क्रिकेटर हुन्’

Virat Kohli01
लाेकपाटी न्यूज

काठमाडौं । भारतीय कप्तान विराट कोहलीको संसारभर करोडौं फ्यान छन् । क्रिकेटमा बहस नै चलिरहेको छ कि के कोहली संसारकै सर्वश्रेष्ठ क्रिकेटर हुन् ? यसैबीच अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले एक बयान दिएका छन् । उनले भनेका छन्, ‘एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेमा कोहली सर्वश्रेष्ठ हुन् ।’

कोहली अहिले टेस्ट र वान-डेको विश्वको नम्बर वान ब्याट्सम्यान हुन् । उनको कप्तानीमा हालै भारतले अष्ट्रेलियामा टेस्ट र वान-डे सिरिज जितेर इतिहास बनायो । यसअघि भारतले टी-ट्वान्टी सिरिज बराबरी गरेको थियो । उक्त सिरिजमा कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कोहलीले हालसम्म २१९ वान-डेमा १० हजार ३८५ रन बनाएका छन् । जसमा ३९ शतक समावेश छन् । उनको औसत ५९ भन्दा माथि छ । क्लार्कले कोहलीको खुलेरै प्रशंसा गरेका छन् ।

उनले भने, ‘आफ्नो देशलाई जिताउन विराटले गरेको योगदानले सम्मान गर्नपर्छ । हो, उनमा आक्रमकता छ तर प्रतिबद्धतामाथि प्रश्न उठाउन सकिँदैन । उनी वान-डेका सर्वश्रेष्ठ हुन् ।’

उनले भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको बारेमा पनि धारणा राखेका छन् । उनका अनुसार धोनीलाई खेल्नका लागि एक्लै छाडिदिनुपर्छ । क्लार्कले भने, ‘धोनीलाई थाहा छ कस्तो परिस्थितिमा कसरी खेल्नुपर्छ । उनले ३०० भन्दा बढि वान-डे खेलिसकेका छन् । त्यसैले उनलाई आफ्नो भूमिकाबारे राम्ररी थाहा छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्