मेलम्ची खानेपानी : सिएमसीलाई अन्तिम ताकेतापछि सरकारी पक्ष बलियो

Melamchi
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई अन्तिम ताकेता गरिएपछि सरकारी पक्ष बलियाे बनेकाे छ ।

याेसँगै एशियाली विकास बैंकसँग बाँकी रहेकाे कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने सहमति भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क(एडीबी)सँग गरेको जनाएको हाे ।

ठेकेदार कम्पनीकाे सम्झौता म्याद समाप्त हुन लागेकाे अवस्थामा सरकारले समयमा नै अन्तिम ताकेता पठाएकाे हाे । अब ठेकेदारले काममा नफर्किए उसले सम्झाैता सरकारका कारण भंग भएकाे भन्न पाउने अवस्था छैन । खानेपानी मन्त्री बीना मगरले व्यापक छलफल र भविष्यकाे तयारीका बारेमा समेत ध्यानमा राखी सचेततापूर्वक याे निर्णय गरिएकाे बताइन् ।

ठेकेदार नआएकाे अवस्थामा समेत काममा समस्या नहुने मन्त्री मगरकाे दावी छ । यही विषयमा मेलम्ची विकास समिति र एडीबीबीच सम्पन्न सोमबारको बैठकमा कम्पनी नआए बाँकी काम विभाजन गरी अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ ।

पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ ।

समितिका अनुसार सीएमसीलाई किन ठेक्का रद्द नगर्ने ? भन्दै ठेक्का रद्द गर्ने जानकारी पठाइएको छ । यसले गर्दा भविष्यमा डिसजन बाेर्ड या अन्य निकायमा उजुरी गर्न सक्ने अवस्था कमजाेर बनेकाे हाे ।

चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइने समितिले जनाएको छ । अन्तिम समयसम्म पटक–पटक वार्ताका लागि पहल गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो । सीएमसी काममा नफर्किए सीएमसीको दुई अर्ब ५० करोड रुपियाँ धरौटी पनि जफत हुनेछ ।

एक महिनाअघि निर्माण कम्पनीले ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन । कम्पनी आर्थिक सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका कर्मचारीहरू एक महिनाअघि काम छाडेर स्वदेश फर्किएका थिए । कम्पनी काममा फर्किनुको साटो भुक्तानी गर्न बाँकी रकम, भेरियसनबापतको थप दावी रकम छिटो दिनुपर्ने लगायतका सर्तहरु अगाडि सारिएको थियो ।

झण्डै दुई दशकदेखि भइरहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अधिकारीहरूले बताएका छन् ।

सिनियर डिभिजनल इन्जिनियर पन्तका अनुसार २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति ‘इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम बाँकी छ ।

त्यसैगरी सुरुङ्गको दैनिक अनुगमन गर्ने प्रणाली स्थापना गर्न बाँकी रहेको पन्तले बताए ।

माथि उल्लेखित काममध्ये अनुगमन प्रणाली स्थापना गर्ने बाहेकका काम नेपाली कम्पनीहरूले गर्न सक्ने आयोजनाका अधिकारीहरूको भनाइ छ ।