नेपालकाे शान्तिप्रक्रिया विश्वकै लागि नमूनायाेग्य छ : याेगेश भट्टराई

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताएका छन् ।

उनले द्वन्द्वलाई शान्तिपूर्ण र वैधानिक बाटोमा अघि बढाउँदै संविधान निर्माण गरेर तीनै तहको निर्वाचन गर्न सफल भएकोले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनायोग्य भएको बताएका हुन् ।

शुक्रबार युवा नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपालको शान्ति प्रकृया विश्वलाई नै नमूना बनेको कुरा इतिहासबाट मेटाउन नसकिने सत्य हो । द्वन्द्वलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट अधि बढाउंदै संविधान निर्माण, तीन तहको निर्वाचन, संक्रमणकालीन न्यायका लागि अधिकार सम्पन्न आयोगको गठन लागायतका काम पनि सहमतिका साथ सम्पन्न भएको र कतिपय काम सकारात्मक रुपमा जारी रहेको पनि सबैलाई बिदितै छ । मूलत: नेपाली राजनीतिक नेत्रीत्वको सुझाबुझ, आम नेपाली जनताको सहयोग र धैर्यता तथा संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय संस्थाहरु र मित्र मुलुकहरुको सद्भाभावले यी कामहरु सम्पन्न भएका हुन् ।’

कुनै पनि स्वतन्त्र मुलुकले आफ्ना घरेलु मामलामा आफैंले निर्णय गर्ने अधिकार राख्ने उनको धारणा छ । उनले सामाजिक सञ्जालमा कुनै पनि स्वतन्त्र मुलुकले परराष्ट्र नीति अबलम्बन गर्ने अधिकार पनि उसैमा हुने भनाइ राखेका छन् । ‘पछिल्ला दिनमा नेपालको शान्ति प्रक्रियाका बारेमा संयुक्त राष्ट्र संघ सहित केही मुलुकका नियोगहरुले सँगै बसेर वक्तव्य जारी गर्नु निसन्देह असुहाउँदो कुरा हो,’ उनले भनेका छन्, ‘संक्रमणकालीन न्याय र द्वन्द्व व्यवस्थापनका हाम्रा आफ्नै अभ्यास र अनुभव, अन्तर्राष्ट्रिय अभ्यासहरुका अनुभव र नेपालको स्थायी हितमा कानूनी बाटोबाट यो विषयलाई अघि बढाउन नेपाल राष्ट्र र वर्तमान सरकार प्रतिबद्ध छ । यसमा अन्तर्राष्ट्रिय समुदायको सद्बभाव सधैं अपेक्षित रहन्छ ।’

भट्टराईले अन्त्यमा नेपाललाई प्रयोगशाला नबनाउन र आफ्ना स्वार्थको भारी नेपाली जनतालाई नबोकाउन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेका छन् ।