के हो आरएच नल रक्त समूह, जुन संसारका ४३ व्यक्तिमा मात्र छ ?

Blood
लाेकपाटी न्यूज

काठमाडौं । सुनौलो रगत संसारकै एक दुर्लभ समुह हो जुन् निकै कम मानिसमा पाइन्छ । यसको वास्तविक नाम आरएच नल हो ।

सुनौलो रगतमा जतिपनि सम्मिश्रण छन्, त्यसमा आरएच नल सबैभन्दा भिन्न छ । यदि कसैको रातो रक्त कोसिकामा आरएच एन्टिजन नै भएन भने उसको ब्लड टाइप आरएच नल हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजेकमा छापिएको लेखमा पेनी बेलीले लेखेका छन्, ‘यो रक्त समूहको पहिचान सन् १९६१ मा भएको थियो । अष्ट्रेलियाकी मूल निवासी महिलामा यो भेटिएको थियो । उनीपछि अहिलेसम्म संसारभरी ४३ व्यक्तिमा मात्र यो रक्त समूह छ ।’

नेशनल युनिभर्सिटी अफ कोलम्बियामा हेमोटोलोनीमा विशेषज्ञ नतालिया विलारोयाले बीबीसीलाई दिएको जानकारी अनुसार यस्तो प्रकारको रगत वंशानुगत रुपमा पाइन्छ । उनले भनिन्, ‘आमा–बुवा दुबै यो म्यूटेशनको वाहक हुनुपर्छ ।’ आरएच नल रक्त समूह एक वरदान पनि हुनसक्छ र अभिशाप पनि ।

एकतर्फ यो युनिभर्सल ब्लड हो जुन कुनै पनि आरएच टाइपका वा आरएच नभएका दुर्लभ ब्लड टाइपलाई पनि चढाउन सकिन्छ । तर यस्तो निकै कम परिस्थितीमा मात्रै गरिन्छ किनभने यो पाउनु लगभग असम्भव नै छ ।

सुनौलो रक्त समूह हुनु कतिपय अवस्थामा महँगो साबित हुनसक्छ । यूएस रेयर डिजिज इन्फर्मेशन सेन्टरका अनुसार जुन व्यक्तिको रक्त समूह आरएच नल हुन्छ, उनीहरुलाई हल्का रक्तअल्पत्ता हुनसक्छ ।

त्यसमाथि उनीहरुलाई रगत नै चढाउनु परे आरएच नल रगत मात्रै चढाउन सकिन्छ जुन खोज्नु परे निकै गाह्रो हुन्छ । यो रक्त समूह भएका व्यक्तिहरु निकै कम हुने भएकाले मात्रै होइन यदि अन्य देशमा कोही रक्तदाता भेटिहाले पनि रगत ल्याउनु निकै गाह्रो हुने गर्छ ।

आरएच नल रक्त समूह भएका मानिसहरु ब्राजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा भेटिन्छन् । उनीहरुलाई रक्तदान गरिराख्न प्रेरित गरिन्छ । यसले अरुका लागि ज्यान बचाउन त सक्छ नै कुनै बेला आफ्नै लागि पनि ब्लड बैंकमा बचाएर राख्न सकिन्छ ।

नेशनल रेफरेन्स ल्याबरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डको हवाला दिँदै मोजेकमा लेखिएको छ, ‘अत्यधिक दुर्लभ हुने भएकाले यसलाई सुनौलो रगत भनिएको हो ।’

बेलीका अनुसार यो टाइपको रगत निकै मूल्यवान् हुन्छन् । यो रगतलाई ब्लड बैंकमा कुनै नाम–ठेगाना बिना नै स्टोर गरिएको हुन्छ तर वैज्ञानिकले आफ्नो शोधमा ब्लड स्याम्पल लिने उद्देश्यसहित रक्तदान गर्नेहरुबारे जानकारी जुटाउन प्रयास गरिरहेका छन् ।

यसरी तय गरिन्छ रक्त समूह

जुन रातो रक्त कोसिकाले रगत बनेको हुन्छ त्यसमाथि प्रोटिनको एक पत्र हुन्छ जसलाई एन्टीजन भनिन्छ । रक्त समूह ‘ए’ मा एन्टिजन ‘ए’ मात्र हुन्छ, ब्लड ‘बी’ मा ‘बी’ मात्र, ब्लड ‘एबी’ मा दुबै हुन्छन् र टाइप ‘ओ’ मा दुबै हुँदैनन् ।

रातो रक्त कोशिकामा थप अर्को एन्टीजन हुन्छ । यसलाई आर एच डी भनिन्छ । यो एन्टिजन ६१ आर एच टाइपकोे एन्टिजनका समूहका हिस्सा हो । जब रगतमा आर एच डी हुन्छ तब यसलाई पोजिटिभ मानिन्छ र यदि छैन भने यसलाई नेगेटिभ टाइप मानिन्छ ।

यसरी सामान्य रक्त समूहको पहिचान गरेर उनीहरुको वर्गीकरण यसरी गरिन्छः A-, B +, B-, AB +, AB-, O + र O- । यदि कसैलाई रगत दिनु पर्यो भने उसको रक्त समूहबारे थाहा पाउनै पर्छ । यदि नेगेटिभ गु्रप भएका व्यक्तिलाई पोजिटिभ दाताको रगत चढाइयो भने यो उनीहरुका लागि घातक पनि हुनसक्छ किनभने उनीहरुको शरिरको एन्टिबडिजले यो रगतलाई अस्विकार गर्न सक्छन् ।

यसै कारण इ-रक्त समूहलाई ‘युनिभर्सल डोनर’ भनिन्छ किनभने यसमा न त एन्टिजन ‘ए, बी’ हुन्छन् न आर एच डी हुन्छ । यस्तो अवस्थामा रगत अस्विकार नभई अन्य समूहको रगतमा मिश्रित हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्