‘को गोविन्द केसी, उनी संसदभन्दा माथि हुन् ?’ : बिडारी

Ramnarayan Bidari
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले नेपाल सरकारको तलव खाएर आन्दोलन गर्ने डा. गोविन्द केसीलाई कार्वाही हुने बताएका छन् ।

बिहीबार एक अनलाइनलाई अन्तर्वार्ता दिँदै बिडारीले भनेका छन्, ‘डा. गोविन्द केसी को हुन् ? उनी सरकारका जागिरे कर्मचारी होइनन् ? सरकारी तलव खाएर प्रधानमन्त्री, मन्त्रीहरुविरुद्ध जथाभावी बोल्न, आन्दोलन गर्न मिल्छ ? डा. केसीलाई कार्वाही हुन्छ ।’

बिडारीले एक जना कर्मचारीले संसदलाई निर्देशन दिएकोमा आक्रोश पोखे । बिडारीले भने, ‘को गोविन्द केसी, के उनी संसदभन्दा माथि हुन् ? संसदलाई निर्देशन दिने हैसियत केसीले कहाँबाट पाए ? यो आफ्नो जिम्मेवारी र मर्यादाको उलङ्घन हो ।’

पछिल्लो समय सरकारको प्रतिरक्षामा खरो उत्रिएका बिडारीले संसदको अपमान गर्ने केसीमाथि कार्वाही हुनुपर्ने बताएका छन् । कानूनविदसमेत रहेका बिडारीले संविधान र कानूनभन्दा माथि कोही पनि नरहेको र डा. केसीले सरकारी तलव खाएर बितण्डा मच्चाएको पनि दावी गरे ।