कतै नढल्किने नेता चाहिन्छ : माधव नेपाल

Madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । देशको दीर्घकालीन परराष्ट्र नीति तर्जुमाका निम्ति सबै राजनीतिक दलबीच मतैक्यता हुनुपर्नेमा राजनीतिक नेतृत्व र सम्बन्धित क्षेत्रका जानकारले जोड दिएका छन् ।

उनीहरूले नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्न सन्तुलित परराष्ट्र नीति निर्धारण गरेर आर्थिक विकासको मार्गमा अग्रसर हुनुपर्ने आवश्यकता औल्याएका हुन् ।

राजधानीमा आयोजित ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन परराष्ट्रनीति’ विषयक विचार गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले इतिहासमा सधैँ स्वाधीन रहेको हाम्रो देशको ऐतिहासिक पाटोलाई समेत ध्यानमा राखेर सरकारले सन्तुलित परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिए ।

“सन्तुलित ढङ्गले परराष्ट्र नीति बनाउनुपर्छ, यसका लागि दलबीच समान धारणा बनाउनु जरुरी छ, सुमधुर सम्बन्धबाहेक कतैपट्टी पनि ढल्किनु हुँदैन, हाम्रो भू–राजनीति नै त्यस्तै छ”, नेता नेपालले भने ।

उनले विदेशी मित्रराष्ट्रसँग आफ्ना कुरा प्रष्ट राख्नसक्ने कूटनीतिक क्षमताका साथै चतुर्यताको खाँचो रहेको बताए ।