दर्शनको इतिहास : २६ दार्शनिक र दृष्टिकोण

lokpati philosofer
  • 701
    Shares
लाेकपाटी न्यूज

अंग्रेजी भाषाको Philosophy शब्द ग्रीस भाषाको Phellio र Sophia बाट आएको मानिन्छ। जसको अर्थ हुन्छ (अनुराग वा प्रेम) र (ज्ञान) हुन्छ। यसलाई एउटै वाक्यमा भन्दा ज्ञान प्राप्तिको अनुराग भन्ने हुन्छ। त्यसैले यसलाई सत्यको खोजी पनि भनिन्छ । त्यसैगरी अंग्रेजी शब्द Phliosophy लाई नेपालीमा दर्शन भनिन्छ। दर्शन शब्द संस्कृत भाषाको दृश् धातुबाट आएको हो, जसको अर्थ हेर्नु भन्ने हुन्छ। हेर्नुको अर्थ निश्चित विचार र दृष्टिकोणबाट हरेक घटना, परिस्थिति सभ्यता र आम जीवन र जगतलाई हेर्नु, बुझ्नु र ग्रहण गर्नु भन्ने नै हुन्छ।

दर्शनले प्रकृतिको नियम, समाज विकासको नियम र मानव जातिले आर्जन गरेको सम्पूर्ण ज्ञानको निचोडको जानकारी गराउँछ। मानव अस्तित्वका लागि स्थापित भएका सम्पूर्ण समस्याहरूको बृहत् अध्ययन गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ। मानव सभ्यताको चरणको एउटा विन्दुमा मानिसहरूले आफू, जीव, पृथ्वी, नदीनाला, आकाश, तारामण्डलका बारेमा विभिन्न जिज्ञासा, चिन्तन र मनन गर्न थाले। उनीहरूलाई संसारका सत्य–असत्य, जीवन, आत्मा र ईश्वरको अस्तित्वका बारेमा सयौँ प्रश्न र जिज्ञासाहरू अगाडि समस्याका रूपमा आए। यिनै विभिन्न जिज्ञासा र प्रश्नहरूको समस्याबाट उब्जिएका शंका र उत्सुकताबाट आश्चर्य, दुःख, सन्देह, व्यग्रता दर्शाउँदै जाँदा विभिन्न धारणा र विचारको जन्म भई दर्शनको उत्पत्ति भएको पाइन्छ । यस सन्दर्भमा प्राचीन ग्रीसका दार्शनिक प्लेटोले मानव मस्तिष्कमा हुने आश्चर्य, कौतुहल वा जिज्ञासाले दर्शनको उत्पत्ति भएको भनेका छन् । त्यसैगरी फ्रान्सका गणितज्ञ रेन देकार्टले दर्शनको उत्पत्ति मानव मस्तिष्कमा भएको सन्देहबाट भएको भनेका छन्।

पाश्चात्य दर्शनको सुरूवात ग्रीसको हेलेनिस्टिक कालको सभ्यताबाट भएको पाइन्छ। विभिन्न क्षेत्रका ज्ञान हासिल गरेका विद्वानहरूले समाजका विविध क्षेत्रलाई मार्गदर्शन गर्दथे । वास्तवमा तिनै व्यक्तिहरूलाई दार्श्निक भनिन्छ। सोक्रेट्सले सत्यप्रति हेराइ वा प्रष्ट दृष्टिकोण राख्ने अनुरागी वा समर्पित व्यक्तिलाई दार्शनिक भनिन्छ भनेर व्याख्या गरेका छन् । विभिन्न विद्वान वा दार्शनिकहरूले विभिन्न प्रकारले दर्शनशास्त्रको परिभाषा गरेका छन्। सम्पूर्ण कलाहरूको जननी र मस्तिष्कको साँचो औषधि दर्शनशास्त्र हो भनेर कलेरिजले भनेका छन्। त्यसैगरी हर्बट स्पेन्सरले दर्शनशास्त्र विज्ञानहरूको संश्लेषण वा व्यापक विज्ञान हो भनेर परिभाषित गरेका छन्। पश्चिमी नाट्य सम्राट सेक्सपियरले त विपत्तिहरूको मिठो दूध दर्शनशास्त्र हो भनेका छन्।

दर्शन पनि पक्ष र विपक्ष हुन्छ। ती हुन् आदर्शवादी र भौतिकवादी दर्शन। आदर्शवादीहरूले आत्मालाई संसारको उत्पत्तिको श्रोत मान्दछन् भने भौतिकवादीहरूले प्रकृतिलाई प्राथमिक मान्दछन्। अझ यसलाई यसरी पनि बुझ्न सकिन्छ कि आदर्शवादीहरूले चेतनालाई प्रथम र पदार्थलाई द्वितीय मान्दछन् भने भौतिकवादीहरूले पदार्थलाई प्रथम र चेतनालाई पदार्थको उपज वा द्वितीय मान्दछन्। आदर्शवादीहरूले आत्मालाई संसारको उत्पत्तिको स्रोत मान्दछन् भने भौतिकवादीहरूले प्रकृतिलाई प्राथमिक तत्व मान्दछन् । समग्रमा संसारलाई हेर्ने दृष्टिकोणको सारतत्व नै चेतना र पदार्थलाई हेर्ने दृष्टिकोण हो।

आदर्शवादीहरूको मुख्य मान्यता भनेको भौतिक संसार वैचारिक संसारभन्दा माथि छ। आत्मा, मस्तिष्क वा विचारको अस्तित्व पदार्थभन्दा छुट्टै हुन्छ। प्रत्यक्ष बोध, जानकारी अनुभव, विज्ञानका माथि, पर वा पछाडि रहस्यमय वा जान्न नसकिने संसार छ। यो चराचर जगत कुनै अलौकिक शक्तिले सञ्चालन गरेको छ भन्ने मान्यता राख्दछ, तर भौतिकवादीहरूले यो मान्यतालाई मान्दैन। भौतिक कारणले अस्त्विमा आउने पदार्थहरू गतिका नियमअनुसार विकसित हुन्छन्। पदार्थको अस्तित्व हाम्रो मस्तिष्कभन्दा बाहिर र स्वतन्त्र छ। त्यसैले विचारको अस्तित्व पदार्थभन्दा छुट्टै हुँदैन र संसार र यसका नियमहरू जानेका जानेकै भए, नजानेका पनि जान्दै गइन्छ भन्ने मान्यता भौतिकवादीहरूले राखेको पाइन्छ। दर्शन आदर्शवादी र भौतिकवादी भए पनि आमरूपमा पूर्वीय र पश्चिमी दर्शनका बारेमा ठूला–ठूला बहस र छलफल हुने गरेका छन्। उनीहरूले आ–आफ्नै प्रकारले सभ्यता बोकेका छन्।

पश्चिमी दर्शनले यसको ऐतिहासिक विकासक्रमलाई मुख्य गरेर ३ भागमा राखेर अध्ययन गरेको छ : प्राचीनकाल, मध्यकाल र आधुनिक काल। प्राचीनकाल ई.पू. छैटौँ शताब्दीदेखि ४३० सम्म रह्यो। प्राचीनकाललाई पनि पूर्वप्राचीन र उत्तर प्राचीन भनेर अध्ययन गरिएको छ। पूर्व प्राचीनकालमा प्रकृतिवादी दार्शनिकहरू देखा परेका छन्। थेल्स ग्रीसको मिलेट्सका पहिला प्रकृतिवादी दार्शनिक हुन्। उनले ई.पू.को छैटौँ शताब्दीमा ब्रम्हाण्डको आधारित तत्व पानी हो भनेका छन्। उनले वास्तवमा सूर्य ग्रहणको भविष्यवाणी गर्ने पहिला दार्शनिक हुन्। थेल्स पश्चिमी दर्शनका पहिला व्यक्ति भएकाले उनलाई पश्चिमी दर्शनका पिता भनेर पनि चिनिन्छन्। त्यसैगरी अर्को मिलेटियन दार्शनिक एनाक्सिमेन्डर हुन्। उनले थेल्सको विचारलाई अस्वीकार गर्दै यस्ता पृथ्वीहरू असत्य छन्। यिनीहरू सिर्जना र विनासबाट निरन्तर प्रक्रियाबाट अघि बढिरहन्छन् भन्ने तर्क राखे।

त्यसैगरी अर्का मिलेटियन दार्शनिक अनाक्सिमेनिजले थेल्सले झैं हावा र वाफलाई ब्रम्हान्डको मुख्य तत्व मानेका छन्। त्यसपछि प्रकृतिवादी विचारकै इलेक्ट्रिक स्कुलका अरू दार्शनिकहरू देखा परे । ई.पू. ५३६–४७० सम्ममा हिराक्लिटस्को प्रभाव प-यो । उनले सबै चिज परिवर्तनशील छ। एउटै नदीमा दुईपटक पौडिन सकिँदैन भनेका छन्। उनले संसारको मूल तत्व आगोलाई मानेका छन्। त्यसैगरी अर्का ग्रीसेली दार्शनिक परमेनाइडस्ले संसारका सबै तत्व स्थायी, स्थिर र अपरिवर्तनशील छन् भन्ने धारणा ल्याए। वास्तवमा यिनी नै पहिलो पश्चिमी आदर्शवादी दार्शनिक मानिन्छन्। उनले विचारलाई प्रमुख मानेका थिए।

एनाक्सागोरसले संसारका सबै वस्तु विभाज्य छन् र प्रत्येक अणुमा पदार्थको केही न केही अंश रहेको हुन्छ भन्ने व्याख्या गरे। ई.पू. (४६०–३७०) मा डेमोक्रिटस परमाणु सिद्धान्त ल्याए। उनले पदार्थ अत्यन्तै साना कणहरू मिलेर बनेको हुन्छ। जसलाई खाली आँखाले देख्न सकिँदैन र यिनै स–साना परमाणुहरूले पदार्थ बनेको हुन्छ भनेर परमाणु सिद्धान्तको व्याख्या गरेका छन्।

त्यसैगरी पश्चिमी दर्शनको दोस्रो काल भनेको उत्तर प्राचीनकाल हो। वास्तवमा ग्रिसेली दर्शनको ई.पू. ४३०–३२० सम्मको इतिहासलाई स्वर्णकाल पनि भनिन्छ। डेमोक्रिटसको एटम थ्यौरीलाई निरन्तरता दिने अनुयायी भएन। बिडम्बना नै भन्नुपर्छ, उनको यो सिद्धान्तलाई निरन्तरता नदिएको कारण आजको विश्व सभ्यतामा दुई हजार वर्ष पछाडि धकेलिनुपर्‍यो। उनको परमाणु सिद्धान्त प्रतिपादन गरेको करिब दुई हजार वर्षपछाडि अल्बर्ट आइन्स्टाइनले E=MC2 को फर्मुलालाई पुष्टि गरे। उनले डेमोक्रिटसको एटम थ्यौरीलाई निरन्तरता दिएर आजको यो सभ्य युगको स्थापना भएको छ। सोक्रेटस (ई.पू. ४७०–३९९) ले आत्मकेन्द्रित दर्शनको प्रतिपादन गरे। उनको भनाइमा मानिसको परम कर्तव्य भनेको पहिले आफूलाई चिन्नु हो। उनी स्वयम् पनि म को हुँ भनेर यसको उत्तर खोजिरहन्थे। उनले ज्ञानको प्राप्ति आत्मीकरणबाट मात्र हुन्छ भनेका छन्। उनी सत्यका पुजारी थिए। उनको जीवनको मुख्य उद्देश्य नै सत्यको खोजी थियो। उनले आफ्नो जीवनमा केही नजानेको बताएका छन्। उनले भने, ‘मैले जीवनभरीको अनुभवबाट जानेको तथ्य यो हो कि मैले केही पनि जानेको छैन।’

त्यसैगरी (ई.पू. ४२७–३४७) मा सोक्रेटसका शिष्य प्लेटोको दर्शनले समाजमा प्रभाव पार्‍यो। उनी बहुमुखी प्रतिभाका धनी थिए। उनी सोक्रेटसका असल शिष्य पनि थिए। उनको धारणामा हाम्रा इन्द्रीयबाट प्राप्त हुने ज्ञान भनेको भ्रममात्र हो। हामीले लिने र देख्ने गरेको बाहिरी ज्ञान भनेको केवल सत्यको फोटोकपीमात्र हो। त्यसकारण सत्य भनेको मानिसमा रहेको भित्री चेतना हो भनेका छन्। उनका अनुसार विचारले पदार्थ जन्माएको हुन्छ। प्लेटोले साश्वत सत्य, साश्वत सुन्दर र साश्वत राम्रोको व्याख्या गरेका छन्। उनले चेतनामा निहित संसार परिवर्तनशील छ भनेका छन्। उनले ज्ञानको सिद्धान्त, मानव आचरणको सिद्धान्त, राज्यको सिद्धान्त, ब्रम्हाण्डको सिद्धान्तको बारेमा दार्शनिक आधारशिला तयार पारेका छन्।

प्लेटोपछि (ई.पू. ३८४–३२२) सम्म प्लेटोका चेला एरिस्टोटलको दर्शन समाजमा स्थापित भयो। उनले तर्कशास्त्रको सैद्धान्तिक आधारशीला तयार पारे। साथै यिनले नै आगमन र निगमन विधिको प्रयोग गरेको पाइन्छ। उनका अनुसार सारा ब्रम्हाण्ड निर्माण हुने तत्वको ज्ञान नै सर्वोत्कृष्ट ज्ञान हो भनेका छन्। परम तत्व ईश्वर हो, ईश्वर नै सृष्टिको आदि र अन्त्य हो भन्ने उनको विचार छ। उनले आफ्नो सम्पूर्ण जीवन नै मानव सुख कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने चिन्तनमा समर्पित गरेको पाइन्छ।

पश्चिमी सभ्यताको इतिहासमा करिब १४ सय वर्षसम्म धार्मिक युगले एकछत्र शासन गर्‍यो। उत्तरआधुनिक ग्रीसेली दार्शनिकहरूको चिन्तनले डेमोक्रिटसजस्ता भौतिकवादी दर्शनमा कालो छायाँ पर्‍यो। अझ यसलाई रोमन दार्शनिक सिस्सेरोले धार्मिक युगको नै सूत्रपात गर्न पुगे, जसले गर्दा सबै भौतिक चिन्तन र विचारको अवसान भयो र पश्चिमी जगतमा नयाँ अध्यात्मिक युगको जन्म भयो। यसले धार्मिक गुरूवाद खडा गर्‍यो। क्रिश्चियन धर्मको शासन सुरू भयो।

सन् २०५ देखि २७० मा प्लटिनसले क्रिश्चियन धर्ममा ग्रीसेली दर्शनको मूलभूत मान्यतालाई समीकरण गर्‍यो। यिनले ३ वटा तत्वलाई अनादि, अनन्त र असीमित भनेका छन्। उनका विचारमा ती चिज भनेका सबै शक्तिमान तत्व, अध्यात्म तत्व र आत्म तत्व हुन् । यिनको विचारमा सर्वोत्तम तत्व ईश्वर हो। जसलाई उनले शिवम् भनेका छन्। ईश्वर प्राप्त गर्न सकिने तत्व दृष्टि वा प्रकाश हो भनेका छन्। यिनले नै मानिसको ध्यान बाहिरी जगतबाट कटाएर भित्री जगतमा पुर्‍याएका हुन्।

पश्चिमी दर्शनका पहिला क्रिश्चियन दार्शनिक सेन्ट अगष्टिन (सन् ३३४–३४०) हुन्। उनले प्लेटोको धारणालाई क्रिश्चियन धर्ममा समायोजन गरे। ईश्वर र आत्मालाई मिलाउने धार्मिक पक्ष चर्च हो भन्ने तर्क गरे। चर्चलाई ईश्वरको प्रेम नगर हो भनेका छन्। दुःख र पापबाट मुक्त हुन चर्च जानुपर्छ भनेर जनतालाई आह्वानसमेत गरेका छन्। ईश्वरले अभाव तथा शून्यताबाट जगतको निर्माण गरेका हुन्, सृष्टिसँगै कालको रचना गरेका हुन्। त्यसैले ईश्वरसँग कुनै पनि कुराको तुलना हुनै सक्दैन भन्ने विचार अगष्टिनको थियो। त्यसैगरी अर्का इसाई धर्मका प्रमुख दार्शनिक सेन्ट थोमस एक्विनस (सन् १२२५–१२७४) हुन् । उनी एक धार्मिक गुरू थिए। उनले क्याथोलिक धर्मले जे भन्छ, त्यो सत्य हो। सबै धार्मिक संस्था सत्य हुन्। पोप (चर्चका मुख्य गुरू) ईश्वरका अवतार हुन् र ईश्वरको जीवित अस्तित्व छ भनेर त्यसको प्रमाण दिने प्रयास गरेका थिए। उनले पापबाट बचेर पुण्य कमाउन सबैलाई आग्रह गर्दथे।

जब क्रिश्चियन धर्मको अत्याचार बढ्दै गयो, तत्कालीन मानिसहरूको धैर्यताको वेगले चर्चकेन्द्रीत शासनका विरूद्ध विस्तारै विद्रोह गर्न थाल्यो। यो क्रम उत्तरी इटलीबाट फैलिँदै गयो। मानिसहरूले अधिकारका कुरा गर्न थाले। मानवतावादको प्रचार गर्न थाले। मार्सिलियाे फिकिनोले आफैलाई जान, चिन भन्ने तर्क गरे। चर्चभित्रका ईश्वरको अनुकम्पाका बरदान पक्कै मानिसहरूको दुःख हुन सक्दैन भन्ने भावना जागृत गराए। त्यसकारण ईश्वर जताततै छन् र चर्चमा मात्रै सीमित छैनन् भन्ने विचारले समाजमा प्रभाव जमाउँदै गयो। यो अवस्थालाई युरोपमा पुनर्जागरण काल भनेर चिनियो। पुनर्जागरणको अर्थ भनेको पुनर्जन्म हो। यसको मतलब प्राचीन ग्रीसकालीन कला, संस्कृति र सभ्यताको परिस्कृत रूपको विकास र विस्तार हुनु नै होे भन्ने बुझिन्छ।

त्यतिबेला प्राचीन ग्रीस र रोमनका प्रकृतिवादी दार्शनिक भन्दा अझ सुकरात, प्लेटो र एरिस्टोटलको दार्शनिक मान्यताको सही प्रकारको खोज सुरू भयो, जसले गर्दा तत्कालीन समाजमा नयाँ मान्यता, मानवतावादी सोचाइ र विलियम वर्डवर्थ, विलियम ब्लेक, एस.टी. कलरिजहरूको प्रकृतिवादी चिन्तन, अनुभववादी र प्रयोगवादी वैज्ञानिक दृष्टिकोण, सूर्यकेन्द्रित धारणा र धार्मिक क्रान्ति, पुनर्जागरणले ल्यायो। वास्तवमा पुनर्जागरण चौधौँ सताब्दीबाट सुरू भएर सोह्रौँ शताब्दीसम्म युरोपमा कायम रह्यो। यही पुनर्जागरणको गर्भबाट पश्चिमी समाजमा आधुनिक कालको सुरूवात भयो।

आधुनिक समाजका दार्शनिकहरूमा इरासमस (सन् १४६६–१५६६) डच दार्शनिक हुन्। उनले व्यङ्ग्यात्मक ढंगले ‘फिलोसफी अफ म्यारिज’ लेखे। यसले तत्कालीन धार्मिक गुरूहरूलाई व्यङ्ग्य गर्दै मूर्खता नभएको भए यो संसारमा विवाह कसले गर्दथ्यो ? भने। ब्रिटिस दार्शनिक फ्रान्सिस बेकन (१५६१–१६२६) ले आधुनिक दर्शनको सुरूवात गरेका हुन्। यिनको विचारमा सत्यको अन्वेषण वैज्ञानिक परीक्षणबाट मात्र हुन्छ र यथार्थ भित्री शक्तिबाट होइन निरीक्षणबाट प्राप्त हुन्छ भने। यिनले अनुभव र निरीक्षणबाट वास्तविकताको बोध हुन्छ भनेका छन्। यसैले उनलाई अनुभववाद र निरीक्षणवादका संस्थापक भनेर चिनिन्छ।

ब्रुनोले ईश्वर चर्चमा सीमित छैन, प्रकृति नै ईश्वरको रूप हो भनेर प्रचार गर्दा चर्चका गुरूहरूले उनलाई रोमको फ्लावर मार्केटमा सन् १६०० मा जिउँदै जलाएका थिए। रेन डेस्कार्टस् (सन् १५९६–१६५०) गणितज्ञ हुन्। उनले हरेक चिजको प्रमाण हुन्छ भनेका छन्। उनैले मानवीय अस्तित्वलाई सर्वोपरी माने । उनको मान्यता भनेको नै ‘म चिन्तन गर्दछु र म छु’ भन्ने हो। जोन लक (सन् १६३२–१७०४) अनुभववादी दार्शनिक हुन्। उनले मानिसहरूले आफ्ना ज्ञानेन्द्रीयहरूबाट ज्ञान प्राप्त गर्दछन् भनेका छन्।

त्यसैगरी लिविलिकाले अन्तिम सत्य चेतनालाई मानेका छन्। आधुनिक दार्शनिक बेरकेले दृष्टि नै सृष्टि हो भनेका छन्। डेभिड ह्युमले बाहिरी वस्तु जसरी विभिन्न गुणहरूको समूह हो, त्यसैगरी आत्मा पनि चेतन अनुभव हो भनेका छन्। जिन ज्याक रूसो (सन् १७७२–१७७८) अठारौँ शताब्दीका युरोपियन दार्शनिक हुन्। यिनको ‘प्रकृतितिर फर्क’ भन्ने दार्शनिक मान्यताले तत्कालीन युरोपमा ठूलो तहलका मच्चायो। ज्ञानको स्रोत भनेको नै प्रकृति हो, यो संसार भौतिक हो र ब्रम्हाण्ड विकास भौतिक वस्तुबाट भएको हो भन्ने धारणा यिनको थियो, तर जर्मन दार्शनिक इमानुएल कान्ट (सन् १७२४–१८०४) रूसोको भौतिकवादी धारणाका विरोधी थिए। यिनले जीवन र जगत श्रद्धाका विषय हुन्, आत्मा अमर छ, ईश्वरको आवश्यकता छ भनेका छन्। मानिसको मस्तिष्कले प्रकृतिमा रहेका वस्तुबाट ज्ञान प्राप्त गर्दछ र अनुभवबाट ज्ञान प्राप्त हुन्छ भन्ने धारणा कान्टको थियो।

अर्का प्रसिद्ध जर्मन दार्शनिक जर्ज हेगेल (सन् १७७०–१८३१) हुन्। उनले हरेक वस्तुको सकारात्मक र नकारात्मक तत्वको द्वन्द्वबाट नयाँ कुराको जन्म हुन्छ भनेका छन्। तत्व विवेकपूर्ण र बुद्धिग्राह्य हुन्छ। वास्तविकता मस्तिष्कबाट प्राप्त हुन्छ भनेका छन्। यिनी निरपेक्ष विचारवादी हुन्। त्यसैगरी चाल्र्स डार्विनले विकासवादी सिद्धान्तको वकालत गरेका छन्। उन्नाइसौँ शताब्दीका जर्मनका प्रसिद्ध दार्शनिक कार्ल मार्क्सको दर्शनले सारा विश्वभरी नै एकप्रकारको भूकम्प ल्याइदियो। उनी द्वन्द्ववादी सिद्धान्तका जन्मदाता नै मानिन्छन्। हुन त हेगेलको सिद्धान्त द्वन्द्वमा नै आधारित छ। हेगेलले ब्रम्हाण्डको अस्तित्व नै विवेकको कारणबाट भएको मानेका छन्। तर मार्क्सको द्वन्द्ववाद भौतिकवादमा आधारित छ।

त्यसैले मार्क्सले भनेका छन्, ‘मैले हेगेलको द्वन्द्ववाद टाउकाले उभेको पाएँ, मैले यसलाई खुट्टाले उभ्याइदिएँ।’ यसैले उनको सिद्धान्तलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भनिन्छ। मार्क्सले मानव समाजलाई वैज्ञानिक रूपमा ५ वटा युगको ऐतिहासिक कसीमा राखेर अध्ययन गरेका छन्। मार्क्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भनेको नै वाद, प्रतिवाद र संश्लेषण हो। वर्ग वा विचार ‘वाद’ हो। त्यसैगरी वर्ग वा विचारको सङ्घर्ष ‘प्रतिवाद’ हो। वाद र प्रतिवादको द्वन्द्वबाट निस्कने वर्ग वा विचार संश्लेषण हो र संश्लेषणको जन्म नै नयाँ वाद हो। समाजमा वर्ग रहने अवस्थासम्म यो क्रम चलिरहन्छ।

कार्ल मार्क्सको द्वन्द्व सिद्धान्तलाई वर्गसंघर्षको सिद्धान्त पनि भनिन्छ। उनको यो सिद्धान्त उत्पादनका साधनहरूमाथिको नियन्त्रण र वितरण प्रणालीमा आधारित छ। उनका सिद्धान्तहरूको मुख्य प्रश्न भनेको नै समाजको परिवर्तन हो। समाजको परिवर्तन द्वन्द्वबाट हुन्छ र मानव सभ्यताको इतिहास भनेको वर्गसङ्घर्षको इतिहास हो। पुँजीवादी अर्थतन्त्रमा मजदुरहरू संगठित र राजनीतिकरूपमा सचेत भएपछि त्यस व्यवस्थाका विरूद्ध सङ्घर्ष गर्दछन् र समाजवाद स्थापना हुन्छ भन्ने मान्यता उनको छ। मार्क्सका अनुसार जुनसुकै समाजमा दुई वर्ग शोषक र शोषित हुन्छन्। जुन वर्गसँग उत्पादनका साधन हुन्छन्, त्यो शोषक वर्ग र जुन वर्गसँग बाँच्ने आधार श्रमवाहेक केही हुँदैन, त्यो शोषित वर्ग हो। यिनै दुई वर्गका बिचमा सङ्घर्ष भएर आएको समाज आजको समाज र भोलिको समाज हुनेछ। वर्गसङ्घर्ष समाजमा वर्गीय विभेद अन्त्य भएको दिन स्वतः समाप्त हुन्छ भनेका छन्।

मार्क्स दर्शनशास्त्री मात्र नभएर अर्थशास्त्री, मानवशास्त्री र इतिहासविद् पनि हुन्। वास्तवमा माक्र्सको दर्शन नै आजको विश्वमा सबैभन्दा आधुनिक, सभ्य र वास्तविक दर्शन सावित भएको छ। हुन त आधुनिक युगको विरूद्धमा उत्तरआधुनिक समाजको पनि व्याख्या र विश्लेषण भइरहेको छ। उत्तरआधुनिक शब्द सन् १७७९ मा जेन फ्रान्सकोइजले ‘उत्तरआधुनिक अवस्था’ भन्ने पुस्तकमा प्रयोग गरेको पाइन्छ।

उत्तर आधुनिकवादीहरूले निरपेक्ष सत्यलाई अस्वीकार गर्दछन्। बौद्धिक सर्वोच्चतालाई मान्दैनन्। उनीहरूले हरेक पक्षमा खुला र पारदर्शितालाई खोज्दछन्। स्थानीयकरण, बहुलवादिता र बहुरेखीय सभ्यतामा जोड दिन्छन्। उनीहरूले विषयगत पक्षमा जोड दिन्छन् र कुनै पनि पक्षको वैज्ञानिक प्रमाणलाई अस्वीकार गर्दछन्।

उत्तरआधुनिक दार्शनिकहरूमा फेडरिक नित्से (१८४४–१९००) हुन्। उनको विचारमा ५ इन्द्रीयहरूमा अनुभव हुने परिवर्तनशील संसारलाई तर्क शक्तिले असत्य तुल्याउँछ भन्ने धारणा छ। उनले वैज्ञानिक प्रत्यक्षवाद र प्रमाणवादको विरोध गरेका छन्। सही भएको नै मिथक हो, किनभने मिथकको संसारजस्तै त्यो सधै अपर्याप्त र अथाह रहन्छ भनेका छन्। उत्तरआधुनिकवादीहरूमध्ये जँ–फ्रान्स्वा लियोतार्द (१९२४–१९९८) को विचार महत्वपूर्ण मानिन्छ। उनको विचारमा उत्तरआधुनिकतावाद भनेको महावृत्तान्तहरूको अन्त्य हो। त्यसैले उत्तरआधुनिक मान्यताले सत्य र कथालाई समान मान्दछ। मार्क्सवादीहरूले उत्तरआधुनिकतावादी मान्यतालाई सही मान्दैनन्। उत्तरआधुनिकवादीहरूको कुनै सीमा र अनुशासन हुँदैन।

समाजलाई जसरी बुझे पनि हुने, त्यसकारण उत्तरआधुनिकतावादले विभिन्न विचारहरूको फ्युजन गराएर मानव सभ्यतामा ल्याउने एकप्रकारको कन्फ्युजनमात्र हो भनेर बुझ्दछन्। अहिलेसम्म मार्क्सको समाजवादी र साम्यवादी दर्शनभन्दा उन्नत र आधुनिक दर्शन अरू कुनै दर्शन नभएको वैज्ञानिक यथार्थतालाई कसैले वैज्ञानिक र तथ्यगत रूपमा नकार्न सकेको इतिहासमा पाइँदैन। त्यसकारण समाजवाद र साम्यवाद नै अहिलेको सबैभन्दा आधुनिक दर्शन हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्