‘ग्लोबल टिचिङ प्राइज’का लागी थापाकाे छनाैट

Thapa
लाेकपाटी न्यूज

बेसीसहर, १२ माघ । लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ पाउने भएका छन् ।

बेलयती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको लागि विश्वका १७९ मुलुकबाट छनौट भएका ५० जना मध्ये नेपालबाट थापा छनौटमा परेका हुन्। यसको राशि एक मिलियन अमेरिकी डलर अर्थात १० करोड १२ लाख नेपाली रुपैयाँभन्दा बढी रहेको छ ।

१ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै फाराम भरेका थिए । ती मध्येबाट ३८ देशका ५० जना छनौैट भएको थापाले जानकारी दिए । यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुने बताइएको छ ।

थापाले आफु पुरस्कृत भएमा पुरस्कारको रकम कक्षा ५ र ६ का विद्यार्थीहरुका लागि कक्षाकोठा बनाउन खर्चिने बताएको भार्की फाउन्डेसनको वेबसाइटमा रहेको उनको प्रोफाइलमा उल्लेख छ ।

थापाले ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेर काम गरे । उनले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमी पनि खोले ।

अंग्रेजी माध्यमबाट पढाइ हुने ती विद्यालयमा फि अनिवार्यता छैन । गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन्। हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ ।

थापाका अनुसार विद्यार्थीलाई आवश्यक किताब, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालयले गर्ने गरिएको छ । विद्यालयमा पूर्ण बालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको उनले बताए । उक्त विद्यालयको पोशाक नेपालीपन झल्कने गरी तयार गरिएको छ । बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाइ छ । उनले भने, ‘घोड चढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ ।’

विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ । त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ ।

उनले विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने अनुमान गरेका छन् । यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ पनि प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्