‘तेक्वान्दो सङ्घ दर्तामै सीमित हुन्छ’ : अध्यक्ष कोइराला

Shiva Koirala Jwala
लाेकपाटी न्यूज

काठमाडौं । तेक्वान्दो प्रशिक्षक सुरज ढकालको नेतृत्वमा प्रदेश–४ नवलपुर जिल्लामा रहेका नेपाल तेक्वान्दो संघका १५ वटा तेक्वान्दो डोजाङ माघ १२ गते शनिबार राष्ट्रिय तेक्वान्दो संघ नेपालमा प्रवेश गरेका छन् । १५ तेक्वान्दो डोजाङसँगै ती डोजाङमा आवद्ध ७ सय ४० खेलाडी र १२ प्रशिक्षक राष्ट्रिय तेक्वान्दोमा भित्रिएका हुन् ।

सो प्रवेश कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला, उपाध्यक्ष तथा राखेप तेक्वान्दो वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की, राखेप कानून शाखा अधिकृत एवं यस संघका सल्लाहकार नारायणराज अर्याल, संघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठ, गैँडाकोट नगरपालिकाअन्तर्गतका ४ जना वडा अध्यक्षलगायत विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो ।

s1-22

नेपाल तेक्वान्दो संघकोे दमन, बढ्दो तानाशाही प्रवृत्ति, संकीर्ण सोच तथा भेदभावपूर्ण व्यवहारका कारण राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेको प्रशिक्षक सुरज ढकाल बताए । त्यस्तै, केन्द्रले दिएको प्रमाणपत्र जिल्लाले अस्वीकार गर्ने, अपमानित गर्ने, सक्षम खेलाडीहरूलाई जिल्लाले अगाडि बढ्न नदिने र यो विषयमा केन्द्र, प्रदेशमा पटकपटक जानकारी गराउँदा पनि झुलाइरहने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू सधँै अन्यायमा रहने भएकाले औपचारिक रूपमा राष्ट्रिय तेक्वान्दो संघ नेपालमा आबद्ध भएको ढकाल बताए । साथै राष्ट्रिय तेक्वान्दो प्रवेश गरेपछि तेक्वान्दो खेलको विकास र विस्तारमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरे ।

त्यस्तै, उक्त प्रवेश कार्यक्रममा संघका अध्यक्ष शिव कोइरालाले यो नेपाली तेक्वान्दोको लागि शुभसंकेत भएको बताउँदै अन्य जिल्लाका खेलाडी तथा प्रशिक्षक यसैगरी राष्ट्रिय तेक्वान्दो संघ–नेपालमा समाहित हुँदै छन् भन्ने जानकारी गराएका थिए । साथै यो क्रम जारी रहे केही महिनापछि अर्को संघसँग ‘संघ दर्ता प्रमाणपत्र’ मात्र बाँकी रहने बताए ।

s2-16

उक्त कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले राष्ट्रिय तेक्वान्दो संघ नेपालको नवलपुर जिल्ला कार्यसमितिलाई तेक्वान्दो खेलको ८१ थान म्याट प्रदान गरेका थिए ।

राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गर्ने १५ डोजाङमा युनिक तेक्वान्दो डोजाङ, पितौजी तेक्वान्दो डोजाङ, रजहर तेक्वान्दो डोजाङ, अमर तेक्वान्दो डोजाङ, वाइजभिजन तेक्वान्दो डोजाङ, सालघारी तेक्वान्दो डोजाङ, कावासोती तेक्वान्दो डोजाङ, सेन्ट जेसेफ तेक्वान्दो डोजाङ, ज्ञानुदय तेक्वान्दो डोजाङ, गण्डकी तेक्वान्दो डोजाङ, सहिद स्मृति तेक्वान्दो डोजाङ, मगरकोट तेक्वान्दो डोजाङ, कोल्हुवा तेक्वान्दो डोजाङ, नवलपुर तेक्वान्दो डोजाङ, एलएसए तेक्वान्दो डोजाङ रहेका छन् ।

त्यस्तै, प्रशिक्षकहरूमा कृष्णमान श्रेष्ठ, सुरज ढकाल, विशाल रम्तेल, उर्मिला थापा, सुमन सारुमगर, साकार ढकाल, समीर क्षेत्री, अजय परियार, शिशिर मगर, धनराज डगौरा, अरबिन रम्तेल र सुमन नगरकोटी रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्