स्ववियू निर्वाचनबाट किन भाग्दैछ नेविसंघ ?

surendra basnet-3
अधिकांश ठाउँमा स्ववियू जित्ने गरेका दुई ठूला संगठन अखिल र अखिल (क्रान्तिकारी) यतिबेला एक भएका छन् । उसले यो पनि बुझेको छ कि दुई अखिलबीचको एकताको मूल्य दुई वाम पार्टीको एकताभन्दा पनि चर्को पर्छ । किनकि विगतमा अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र नेविसंघ हाराहारीका प्रतिस्पर्धी शक्ति हुन् ।
लाेकपाटी न्यूज

सुरेन्द्र बस्नेत

केन्द्रमा नेकपाको दुईतिहाईको सरकार छ । सातवटै प्रदेश सरकारमा काङ्ग्रेस कहीँ पनि छैन । झण्डावाल गाडीभित्र जता हेरे पनि वामपन्थी नेताहरु नै देखिन्छन् । देशका अधिकांश स्थानीय तहमा पनि वाम वर्चश्व नै छ । यो सबै परिदृष्य देख्दा यतिबेला काङ्ग्रेसजनहरु साँच्चिकै छट्पटाएका छन् । वाम जनमत विभाजनको जगमा सधैंभरि सत्ता हत्याइरहने काङ्ग्रेसको ‘कागताली युग’ समाप्त भएको छ । त्यसैले आफूलाई लोकतन्त्रको सबैभन्दा ठूलो मठाधीश ठान्ने काङ्ग्रेस गत आम निर्वाचनको पराजयपछि नराम्ररी तिल्मिलाउन थालेको छ ।

खासगरी नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी एक भएपछि काङ्ग्रेसी मित्रहरुलाई चुनाव भन्ने बित्तिकै ज्वरो आउन थालेको छ । त्यही कडीअन्तर्गत पछिल्लो चरणमा स्ववियू निर्वाचनको घोषणासँगै नेविसंघको सातो जान थालेको छ । चुनावको ‘च’ मात्र सुन्ने बित्तिकै नेविसंघको होस् हवास् उड्न थालेको छ । त्यसैले गत वर्षको आम निर्वाचनमा नराम्ररी पछारिएको माऊ पार्टी तङ्ग्रिन नपाउँदै नजिकिएको स्ववियू निर्वाचन सार्न र टार्न नेविसंघ कम्मर कसेर लागेको छ ।

भद्रगोल नेविसंघ

नेविसंघ यतिबेला इतिहासकै भद्रगोल र अस्तव्यस्त अवस्थाबाट गुज्रिरहेको छ । पटकपटक म्याद थप गर्दै आयु लम्ब्याउँदै आएको नेविसंघ नेतृत्वले लगभग सम्पूर्ण रुपले राजनीतिक र कानूनी वैधानिकता गुमाइसकेको छ । महाधिवेशनपछि आजसम्म नेविसंघको केन्द्रीय समितिको एउटा पनि पूर्ण बैठक बसेको समाचार सुन्न पाइएको छैन । म्याद गुज्रिएको हुनाले कसैले कसैलाई टेर्ने अवस्था छैन । भेला, बैठक, अधिवेशन नेविसंघमा एकादेशको कथा भइसकेको छ । माऊ पार्टीको गुटबन्दीले नेविसंघ थिलोथिलो भएको छ । नेविसंघमा पार्टीका नेतैपिच्छेका गुट र उपगुट छन् । नेविसंघमा यसलाई व्यवस्थापन गर्ने न त सक्षम नेतृत्व छ, न विधि छ, न त प्रणाली नै ।

महाधिवेशनको मिति पटकपटक सरिसकेको छ । महाधिवेशनका लागि देशभरका एक दर्जन जिल्लामा पनि जिल्ला अधिवेशन हुन सकेको छैन। यहाँसम्म कि नेविसंघको बारेमा नेविसंघ स्वयंले बहस गर्ने अवस्था छैन । नेविसंघको बारेका केवल पार्टीमा मात्र छलफल हुने अवस्था छ । आफैं छलफल गरेर निष्कर्ष निकाल्ने अवस्था नरहेपछि नेविसंघ नेताहरु दिनहुुँ विभिन्न नेताका घरमा धर्ना कस्न गएको देखिन्छ । राजीनामा दिनेको लर्को छ । महाधिवेशनमा जाने कि, अर्को तदर्थ समिति बनाउने कि यही समितिलाई लिएर जाने ? भन्नेमा कुनै टुंगोमा पुग्न सकेको छैन । समग्रमा हेर्दा नेविसंघ यतिबेला इतिहासकै सर्वाधिक संकट र अकर्मण्यताको दलदलमा फसेको छ ।

स्ववियू निर्वाचनको भूत

त्रिभूवन विश्वविद्यालयका ६० वटा आङ्गिक क्याम्पस, त्रिविकै झण्डै १ हजार सम्वन्धन प्राप्त कलेजहरुमध्ये निर्वाचन हुने करिव ४ सय क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयका करिव १ दर्जन क्याम्पसमा स्वविू चुनाव हुने देखिन्छ । स्ववियू चुनावलाई ‘मिनि इलेक्सन’का रुपमा पनि लिइने गरिन्छ । यसले एक ढंगले मुलूकको राजनीति र जनमत कता मोडिरहेको छ भन्ने कुराको पनि स्पष्ट संकेत दिन्छ । यसले राजनीतिक पार्टीको ‘ग्राफ’लाई समेत इङ्गित गर्छ । यसले मुलूकको सचेत र शिक्षित युवा समुदाय कतातिर छ भन्ने संकेत गर्छ । यसर्थ स्ववियू चुनावको बहुआयामिक महत्व छ ।

स्ववियूको महत्वका विषयमा नेविसंघलाई पनि कुनै द्विविधा छैन। तर, स्ववियू निर्वाचनको सम्भावित परिणामको आंकलन गरेर नेविसंघ अत्यन्तै तिल्मिलाएको छ । उसले राम्रोसँग बुझेको छ कि विगतका चुनावमा एक्लाएक्लै समेत अधिकांश ठाउँमा स्ववियू जित्ने गरेका दुई ठूला संगठन अखिल र अखिल (क्रान्तिकारी) यतिबेला एक भएका छन् । उसले यो पनि बुझेको छ कि दुई अखिलबीचको एकताको मूल्य दुई वाम पार्टीको एकताभन्दा पनि चर्को पर्छ । किनकि विगतमा अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र नेविसंघ हाराहारीका प्रतिस्पर्धी शक्ति हुन् ।

नेविसंघले दुई अखिल एक हुनसाथ त्यसको गुणात्मक परिणामको राम्रोसँग आंकलन गरेको छ । अहिलेको स्थितिमा जसरी नेविसंघले जित्ने कलेज लाइट बालेर खोज्नुपर्ने स्थिति छ, ठिक त्यसरी नै संयुक्त अखिलले हार्ने कलेज लाइट बालेर खोज्नुपर्ने स्थिति छ । आजभन्दा दुई वर्षअघि उपत्यकामा मात्रै चुनाव भएका त्रिभूवन विश्वविद्यालयका ८ वटा आङ्गिक कलेजमध्ये अनेरास्ववियुले ३, अखिल (क्रान्तिकारी) ले ३ र नेविसंघले २ वटा क्याम्पस जितेको थियोे । यो दुई अखिल एक्लाएक्लै लड्दाको परिणाम थियोे । मिलेर एउटै प्यानल भएपछि के हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले नेविसंघले स्ववियू चुनावलाई ‘भूत र आतङ्क’ देख्न थालेको छ, उसको सातो उडेको छ । नेविसंघका कुनै पनि नेता कार्यकर्ताले स्ववियूमा आफूले जित्ने क्याम्पस ठम्याउन सकेको अवस्था छैन ।

स्ववियू टार्न आन्दोलन

त्रिभूवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियू निर्वाचनको घोषणा गरिसकेको छ । यसको तयारी गर्न मातहतका कलेजलाई पत्राचारसमेत गरिसकेको छ । दुवै अखिलले स्ववियू निर्वाचनको स्वागत गरिसकेका छन् । तर उता जतिजति स्ववियू निर्वाचनको तिथि नजिकिदै छ, नेविसंघ उतिउति आत्तिन र छट्पटाउन थालेको छ । मूखले जतिसुकै लोकतन्त्रको ‘डङ्का’ पिटे पनि नेविसंघलाई चुनावदेखि डराउने गम्भिर रोग लागेको छ । त्यसैले चुनावलाई सार्न, टार्न अथवा बिथोल्न नेविसंघ एजेण्डाबिहीन आन्दोलनको नाटक मञ्चन गर्न थालेको छ ।

नेविसंघ जनताको लोकप्रिय बहुमत प्राप्त सरकारलाई विना आधार अधिनायकवादको बिल्ला भिराएर सडकमा देखा परिरहेको छ । आफ्ना एजेण्डामा जनताको कुनै रुचि र आकर्षण नभएपछि विवेकशील साझा र गोविन्द केसीका पछि कुद्न नेविसंघ अभिशप्त छ । नजिकिएको स्ववियू चुनाव बिथोल्न नेविसंघ अनपेक्षित रुपमा मसाल जुलुस र पुत्ला दहनमा उत्रिन थालेको छ । नेविसंघको यो आन्दोलनमा न कुनै मुद्दा छ, न त कुनै प्रष्टता। यसको एउटै मात्र उदेश्य छ – आफ्नो हारलाई टार्न स्ववियू निर्वाचन सार्ने ।

केही दिनअघि मात्र नेविसंघका उपत्यकाका विभिन्न कलेजका अगुवा नेता कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह लगायतका नेताहरुको निवास घेर्न पुगेका थिए । त्यहाँ उनीहरूले नेविसंघले कहीँ पनि चुनाव नजित्ने रिपोर्ट राखेका थिए । यही पृष्ठभूमिमा आइतबार साँझ प्रधानमन्त्री निवास बालुवटारमा बोलाइएको बैठकमा काङ्ग्रेस सभापति देउवाले स्ववियू चुनावप्रति आफ्नो अरुचि राम्रैसँग प्रकट गरेको विषय प्रकाशमा आएको छ । यी सबै सन्दर्भ र घटनाक्रम हेर्दा चुनावदेखि डराउने रोग लागेका काङ्ग्रेसीजनहरु आसन्न स्ववियू चुनाव बिथोल्न न्वारानदेखिको बल लगाइरहेको सहजै बुझ्न सकिन्छ ।

आन्दोलनको नाममा सडकमा प्रदर्शित नाटक केवल स्ववियू बिथोल्ने प्रपञ्च मात्र हो । यस खालको जाल, झेल र षड्यन्त्रलाई चिर्दै ठोस र प्रभावकारी कार्ययोजनासहित स्ववियू निर्वाचन यथासमयमा सम्पन्न गर्न सम्वद्ध सबै जुट्नुपर्छ । त्रिवि पदाधिकारीले दह्रोसँग खुट्टा टेक्नुपर्दछ। चुनावबाट भाग्न खोज्नेहरुलाई पनि चुनावभित्रै ल्याउनुपर्छ । राजनीतिक र शैक्षिक मुद्दाको छिनोफानो पनि लोकतान्त्रिक विधि र जनमतबाटै लगाउनुपर्छ ।

(बस्नेत नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) का वरिष्ठ उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्