कर असुल्न पहिरोमाथि क्रसर उद्योग, जुरे पहिरो पीडितको बिचल्ली (निवेदनसहित)

Jure Landfails
  • 157
    Shares
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, माघ । जुरे पहिरोमा सञ्चालन हुन लागेकोे बालुवा वासिङ एवं क्रसर उद्योग बन्द गर्न जुरे पहिरो पीडितहरुले आग्रह गरेका छन् । जुरे पहिरोले पुरेको आफ्नो जग्गामा आफूहरुलाई थाहा नै नदिई वासिङ एवं क्रसर उद्योग सञ्चालन गर्दा आफूहरुमाथि थप पीडा हुने भन्दै उक्त उद्योग बन्द गर्न जुरे पहिरो पीडितहरुले आग्रह गरेका हुन् ।

आफ्नो जग्गाधनी प्रमाणपूर्जा भएको जग्गामा आफूहरुलाई थाहा नै नदिई सीमित व्यापारीहरुले वालुवा वासिङ एवं क्रसर उद्योग सञ्चालन गर्न लागेको भन्ने थाहा पाएपछि जुरे पहिरो पीडितहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, जिल्ला मालपोत कार्यालय, बाह्रबिसे नगरपालिका, जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ हेटौंडामा निवेदन दिएका छन् ।

जुरे पहिरोमाथि बालुवा वासिङ एवं क्रसर उद्योग सञ्चालन गर्दा पहिरोमा पुरिएका लासहरु निस्किएर पीडित परिवार तथा आफन्तमा गम्भीर असर पर्नसक्ने, खोलाको बहाव परिवर्तन भई आसपासका बस्तीहरु थप जोखिममा पर्न सक्ने र अरनिको राजमार्ग अवरुद्ध हुनसक्ने भनेका छन् । त्यति मात्रै होइन, पहिरोले पुरेको आफ्नो जग्गामा बालुवा वासिङ एवं क्रसर उद्योग सञ्चालन गर्ने अनुमति दिएर बाह्रबिसे नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकले थप पीडा दिएको उनीहरुको भनाइ छ ।

जुरे पहिरो पीडितले विभिन्न ठाउँमा दिएको निवेदनमा भनेका छन् “बाह्रबिसे नगरपालिका वडा नं. ९ र बाह्रबिसे नगरपालिका कार्यालयबाट बगरमा बालुवा गिटी उत्खनन् गरी बिक्री गर्न र पहिरोमाथि बालुवा वासिङ तथा क्रसर मेशिन सञ्चालन गर्न केही व्यक्तिहरुलाई अनुमति दिएको भन्ने बुझिन आएकोले हामी पहिरो पीडितहरुमाथि अन्याय भएको व्यहोरा निवेदन गर्दछौं । वडा तथा बाह्रबिसे नगरपालिकाले वालुवा उत्खनन गर्न र वालुवा वासिङ तथा क्रसर सञ्चालन गर्न सो बालुवा वासिङ एवं क्रसर राख्न दिएको जग्गा हामी जुरेपहिरो पीडितहरुको जग्गाधनी दर्ता प्रमाण प्रमाणपूर्जा रहेको, हाम्रो स्वामित्वको नम्बरी जग्गा रहेको र उक्त स्थानमा हामी पीडितहरुको सहमति तथा स्वीकृति समेत नलिई, थाहा जानकारी समेत नदिई एक्कासी उक्त वडा तथा नगरपालिका कार्यालयबाट अनुमति दिँदा स्थानीय सरकार ऐन २०७४ ले प्रदान गरेको वडा तथा नगरपालिकाको काम, कर्तव्य, र अधिकारको विपरीत हुने कार्य गरेको व्यहोरा जाहेर गर्दछौं ।

निवेदनमा भनिएको छ, ‘जुरे पहिरोमा नदीजन्य पदार्थहरु उत्खनन गर्दा पहिरोमा पुरिएको लासहरु निस्किएर पीडित परिवारजनमा मानवीय संवेदनामा गम्भीर असर पर्नसक्ने, खोलाको बहाव परिवर्तन भई आसपासका बस्तीहरु थप जोखिममा पर्न सक्ने र अरनिको राजमार्ग अवरुद्ध हुनसक्ने देखिन्छ । अतः हामी निवेदकहरु प्राकृतिक प्रकोपले पीडितहरुको नाममा रहेको जग्गाधनी प्रमाणपूर्जामा उल्लेखित कित्ता जग्गाहरु गैरकानुनी रुपले हडप्ने र निहित स्वार्थ भएका सीमित व्यापरीहरुको पक्षपोषण हुने गरी बालुवा, गिटी उत्खनन गरी बिक्री बितरण गर्न र पहिरोमाथि बालुवा वासिङ तथा क्रसर मेसिन सञ्चालन गर्न दिने वडा तथा बाह्रबिसे नगरपालिका कार्यालयको कार्य गैरकानूनी हुनुका साथै हामी पीडितहरुको सम्पति माथिको संवैधानिक तथा कानूनी हकअधिकारमा गैरकानूनी रुपले धावा बोल्ने कार्यले बाढीपहिरो भूकम्पले पुर्याएको क्षति भन्दा बढी क्षति भएको महशुस गर्दै प्रस्तुत निवेदन दायर गरेका छौं ।’

जुरे पहिरो पीडितहरुले अहिलेसम्म कुनै किसिमको राहत सम्म पाएका छैनन् । उनीहरुको नाममा जम्मा भएको रकम समेत जिल्ला दैवीप्रकोप तथा उद्दार समितिको खातामा ४ वर्षदेखि जम्मा भएर बसेको छ । उक्त जुरे पहिरोले ४०–४५ सुनकोशी नदीमा मिसाएको थियो भने जुरे गाउँ पुरै डुबाएको थियो ।

यस्तो छ जुरे पीडितको निवेदन

प्रस्तुत विषयमा सिन्धुपाल्चोक जिल्ला अन्तर्गतसाविक मांखा, राम्चे, धुस्कुन र टेकानपुर गाविसमा वि.सं. २०७१ साउन १७ गते बाढी पहिरोमा परी पीडित भएका जुरे पहिरो पीडितहरुका सम्बन्धमा जानकारी गराउन चाहन्छौं । साथै उक्त पहिरो अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको स्मरण गराउन चाहन्छौं । उक्त स्थानमा गएको भिषण पहिरोबाट ४०–५० घर वगाई सुनकोशी नदिमा ल्याई सुनकोशी नदि थुनिएको र उक्त पहिरोमा परि १४५ जनाको मृत्युवरण गर्नु परेको र मृतकहरुको लास समेत खोजतलास गर्न नसकि लास विहिन कृयाकर्म गरिएको व्यहोरा यहाँ समय स्मरण गराउन चाहन्छौं । उक्त भीषण पहिरोबाट पशुपंक्षी, घरमा रहेको खाद्यान्न समेत पूर्ण रुपमा नष्ट भई बगाएको तथा करोडौं मूल्यको धनसम्पत्ति र जग्गा जमिन बगाएर घरबारबिहीन हुन बाध्य रहेको व्यहोरा जाहेर गर्दछौं ।

बाढी पहिरो सुनकोशी नदी थुनिदा जुरे टोलको २०–२५ घर र जग्गा डुबानमा परी क्रमश ताल खोलिएर नदि बग्न थालेपछि उक्त घर जग्गा बगरमा परिणत भयो । साथै ताल खोलिदा आसपासका जग्गा बगेर पहिरोमा परिणत भयो र बाँकी रहेका जग्गा पनि चिराचिरा परी पहिरोको उच्च जोखिममा रहेको छ । त्यहाँका मानिसहरु बसोबासको उपयुक्त स्थान खोजी गर्दै रहेको अवस्थामा राज्यले हामीहरुलाई बासस्थानको न्यायोचित व्यवस्था गर्नुपूर्व नै मिति २०७२ साल वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्प तथा त्यस पश्चातका पराकम्पनको कारणले सिन्धुपाल्चोक जिल्ला नै क्षतविक्षत हुने गरी अपूरणीय क्षति पुर्याएको व्यहोरा यहाँलाई अवगत नै छ ।

नेपाल चीनको तातोपानी नाका जोड्ने अरनिको राजमार्ग मिति ०७१ साउन १७ गतेको भीषण बाढी पहिरोको कारण अवरुद्ध हुँदा राज्यको तर्फबाट साविक राजमार्गभन्दा पारी धुस्कुन र टेकानपुर गाविसमा सडक खन्ने काम भएको र उक्त सडक टिकाउ नहुने देखिँदा राम्चे गाविस अन्तरगत जुरे ताल माथि बाट वैकल्पिक मार्ग खोल्ने क्रममा हामी पीडितहरुको पहिरोबाट बचेको जग्गामा डोजर लगाई सडक सञ्चालन गरिएको र धान रोपिएको जग्गामा पानीसमेत लगाउन नदिएकोमा हामी पीडितहरुले राज्य र पहिरो माथिका जनतालाई सहज होस् भनि सहयोग गरेको व्यहोरा अवगत गराउन चाहन्छौं । साथै उक्त स्थानमा हामीले बचेखुचेको स्थानमा घर टहरा बनाएकोमा मिति २०७२ बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पले सम्पूर्ण घर नष्ट भएको र उक्त स्थानको भू–बनोट अनि सम्वेदनशील रहेको र भूकम्पीय जाखिमयुक्त रहेको तथ्य भूगर्भविद्हरुले प्रकाश पारेको व्यहोरा पनि जानकारी गराउँदछौं ।

समय क्रमसँगै जीवनमा सुधार हुदै गएको अवस्थामा बाह्रबिसे नगरपालिका वडा नं. ९ र बाह्रबिसे नगरपालिका कार्यालयबाट बगरमा बालुवा गिटी उत्खनन् गरी विक्री गर्न र पहिरोमाथि बालुवा वासिङ तथा क्रसर मेशिन सञ्चालन गर्न केही व्यक्तिहरुलाई अनुमति दिएको भन्ने बुझिन आएकाले हामी पहिरो पीडितहरुमाथि अन्याय भएको व्यहोरा निवेदन गर्दछौं। वडा तथा बाह्रबिसे नगरपालिकाले बालुवा उत्खनन् गर्न र बालुवा वासिङ तथा क्रसर सञ्चालन गर्न सो बालुवा वासिङ एवं क्रसर राख्न दिएको जग्गा हामी जुरे पहिरो पीडितहरुको जग्गाधनी दर्ता प्रमाण प्रमाणपुर्जा रहेको, हाम्रो स्वामित्वको नम्मरी जग्गा रहेको र उक्त स्थानमा हामी पीडितहरुको सहमति तथा स्वकृति समेत नलिई, थाहा जानकारी समेत नदिई एक्कासी उक्त वडा तथा नगरपालिका कार्यलयबाट अनुमति दिँदा स्थानीय सरकार ऐन २०७४ले प्रदान गरेको वडा तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारको विपरित हुने कार्य गरेको व्यहोरा जाहेर गर्दछौं ।

जुरे पहिरोको स्थानमा नदिजन्य पदार्थहरु उत्खनन् गर्दा पहिरोमा पुरिएको लासहरु निस्किएर पीडित परिवारजनमा मानवीय संवेदनामा गम्भिर असर पर्नसक्ने, खोलाको बहाव परिवर्तन भई आसपासका बस्तीहरु थप जोखिममा पर्न सक्ने र अरनिको राजमार्ग अवरुद्ध हुनसक्ने देखिन्छ । अतः हामी निवेदकहरु प्राकृतिक प्रकोपले पीडितहरुको नाममा रहेको जग्गाधनी प्रमाणपूर्जामा उल्लेखित कित्ता जग्गाहरु गैरकानूनी रुपले हडप्ने र निहित स्वार्थ भएको सिमित व्यापारीहरुको पक्षपोषण हुने गरी उक्त वालुवा, गिटी उत्खनन् गरी बिक्री वितरण गर्न र पहिरोमाथि बालुवा वासिङ तथा क्रसर मेसिन सञ्चालन गर्न दिने वडा तथा बाह्रबिसे नगरपालिका कार्यालयको कार्य गैरकानूनी हुनुका साथै हामी पीडितहरुको सम्पत्ति माथिको संवैधानिक तथा कानूनी हकअधिकारमा गैरकानूनी रपले धावा बोल्ने कार्यले बाढीपहिरो भूकम्पले पुर्याएको क्षतिभन्दा बढी क्षति भएको महशुस गर्दै प्रस्तुत निवेदन दायर गर्न उपस्थित भएका छौं ।

वडा, बाह्रबिसे तथा व्यावसाय दर्ता गर्ने जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले हामी पीडित निवेदकहरुको सल्लाह सहमति बेगर प्रदान गरेको बालुवा, गिटी उत्खनन् गरि बिक्री वितरण गर्न र पहिरोमाथि बालुवा वासिङ तथा क्रसर मेशिन सञ्चालन गर्ने कार्य तत्काल रोकी उक्त स्थनमा त्यस प्रकारका कुनै पनि उद्योग व्यावसाय नगर्न नगराउन उपयुक्त निर्देशन गरी पीडितहरुको सम्पति सुरक्षाको साथै थप जोखिमबाट जोगाउने व्यवस्था गरिदिनुहुन सादर निवेदन गर्दछौं ।

यो निवेदन पेश भएका कार्यालयहरु

१. जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक
२. नापी कार्यालय, सिन्धुपाल्चोक
३. घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, सिन्धुपाल्चोक
४. जिल्ला मालपोत कार्यालय, सिन्धुपाल्चोक
५. बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक
६. जिल्ला वन कार्यालय, सिन्धुपाल्चोक
७. नेपाल कम्युनिष्ट पार्टी, सिन्धुपाल्चोक
८. नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति, सिन्धुपाल्चोक
९. जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक
१०. मुख्यमन्त्री तथा मन्त्रिपषिदको कार्यालय प्रदेश नं–३
११. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.–३

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्