शुरु भयो जुम्लामै अक्सिजन उत्पादन

oxygen_plant
लाेकपाटी न्यूज

जुम्ला, १५ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन शुरु भएको छ । पहिलोपटक जुम्लामै अक्सिजन प्लान्ट उपकरण जडान गरेर उत्पादन शुरु गरिएको हो ।

अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ । “पहिले अक्सिजन नेपालगञ्जदेखि भरेर ल्याउनु पर्ने बाध्यता थियो”, अस्पतालका निर्देशक धर्मराज गोसाईंले भने, “नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति आउन सक्थ्यो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ ।”

उनका अनुसार कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्तिमा समस्या थियो, अब त्यो समस्या टरेको छ । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको छ ।

दैनिक ५० सिलिण्डरसम्म अस्पतालमा अक्सिजन आपूर्ति गर्नुका साथै आठदेखि १० सिलिण्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ । उपकरण जोड्न भारतको कानपुरदेखि आएका सञ्जीव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजिकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ ।

उपकरण बिग्रेको र बिजुली नियमित आपूर्ति नभएको खण्डमा बाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने उनले बताए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ८० वटा अक्सिजनका सिलिण्डर छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्