चीन–भारत सम्बन्धको बीचमा नेपाल

dr. prem aale
  • 670
    Shares
लाेकपाटी न्यूज

डा. प्रेम आले ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षाको आकर्षण केन्द्र अहिले दक्षिण एसियातिर सर्दैछ । यसको मुख्य कारण ‘चिन्डियाँ’ (भारतीय नेता जयराम रमेशले सन् २००५ मा पहिलोपटक प्रयोग गरेको शब्द) अथवा चीन र इन्डियाले विश्व अर्थतन्त्रमा पारेको संयुक्त प्रभावलाई मान्न सकिन्छ । अहिले सतही रुपमा चीन र भारतको जस्तोसुकै वादविवाद, टकराव तथा रिसराग देखिए पनि भित्री रुपमा यी दुई देश बीचको व्यापारिक घनिष्टताले विश्व बजारलाई प्रभावित पारेको छ । आफ्नो सम्बन्धमा खलल हुँदा यसको नकारात्मक असर छिमेकी तथा अन्य देशहरुलाई पनि पर्दछ भन्ने कुरामा यी देशहरु सचेत छन् । त्यसैले सामाजिक, सांस्कृतिक, राजनैतिक र सैनिक क्षेत्रमा आएका नकारात्मक असरहरुलाई एसियाका यी दुई ठूला शक्तिशाली देशहरुले अहिलेसम्म व्यवस्थित गर्दै लागेका छन् ।

साँच्चै आर्थिक अन्तरसम्बन्धले भारत र चीनलाई दुई पक्षीय सम्बन्ध सधै समधुर राख्न बाध्य बनाउँला ? यो खोजको विषय हुन सक्दछ । तर यो लेखमा मैले भारत र चीन बीचमा अवस्थित नेपालसंगको यी दुई देशको प्रतिष्पर्धी सम्बन्धले यिनीहरुको बीचमा कुन तहसम्मको तिक्तता ल्याएको छ भन्ने विश्लेषण गर्न चाहन्छु । त्यो तिक्तता सतही मात्र हो कि साँच्चै नै दुश्मनीको तहसम्म पुग्न सक्दछ, जसले दक्षिण एसिया मात्र होइन, विश्वलाई नै नकारात्मक असर पार्न सक्दछ ? के चीन–नेपाल तथा भारत–नेपालको सम्बन्धले बदलिँदो विश्व राजनीति, सम्बन्ध तथा सुरक्षालाई समेत खलल पुर्याउन सक्दछ ?

चीन र भारतको नेपालसितको सम्बन्ध परापूर्व कालदेखि ब्यापार, संस्कृति र धर्मसित जोडिएको छ । यो सम्बन्धको आयाम अझ फराकिलो हुँदै एक्काइसौं शताब्दिमा आइपुग्दा राजनैतिक, सैनिक तथा बातावरणीय आयामहरू पनि थपिएका छन् ।

सम्बन्धका भौगोलिक आयाम

नेपालको भौगोलिक अवस्थिति दुवै भारत र चीनको लागि अति महत्वपूर्ण छ । उत्तरमा झन्डै १५०० कि.मी. चीनतिर र दक्षिणमा भारतसित झन्डै १७०० कि.मी. सीमा जोडिएको नेपाल एक भूपरिबेष्ठित देश हो । पृथ्वी नारायण शाहले एकीकरण गरेको ‘दुई ढुंगा बीचको तरुल’ नेपाल ऐतिहासिक कालदेखि चीन र भारतको लागि ‘बफर राज्य’ रही आएको छ ।

भारत र चीनले नेपालमाथि प्रभुत्व जमाउनको लागि लामो समयदेखि प्रतिस्पर्धा गर्दै आएको छ । यसको मुख्य कारण नेपालमा भएको साधनश्रोतको प्रयोग तथा कब्जा नै हो भन्न सकिन्छ । नेपालका हिमाल–पहाड, नदीनाला तथा बन–बनस्पती छिमेकीहरुलाई आकर्षित गर्ने पुँजी हुन् । त्यस्तै हिन्दू र बुद्ध धर्मको संगमस्थल नेपाल धार्मिक, संस्कृतिक तथा सामाजिक कारणले पनि महत्वपूर्ण छ । जनशक्तिको हिसाबले पनि मेहेनती, इमान्दार तथा बहादुर ‘लाहुरेहरु’ उत्पादन गर्ने नेपाल विशेषतः भारतको लागि अझ महत्वपूर्ण छ ।

हिमाली राज्य नेपालले चीन र भारत बीचको खटपटले पैदा गरेको ‘कम्पन छेक्ने’ काम गरेको सर्वविदितै छ । एक देशको आक्रमण अर्को देशको मुटुमा सिधै पुग्नबाट नेपालले छेक्न मद्दत गर्छ भन्ने चीन र भारतलाई विश्वास छ । नेपालको हिमाललाई काटेर सिधै अर्को देशको शक्ति केन्द्रमा आफ्नो आणविक मिसाएल खसाल्न न भारतलाई न चीनलाई सहज होला ।

भारतको ‘पोल्टो’मा रहेको नेपाल सन् १९७० को दशकपछि चीनतिर ढल्केको भारतीय नेता तथा बिद्धिजिविहरुले भन्दै आएका छन् । सन् २००८ पछिको नेपालको बदलिँदो राजनीतिपछि भारतलाई झनै बढी शंका भएको छ कि नेपालका कम्युनिष्टहरु चीनको पक्षमा गएको छ । नेपालमा आएको राजनैतिक परिवर्तनले त्यस्तो सोच्न मद्दत गरे पनि त्यो सही विश्लेषण होइन । नेपालको छिमेकीहरुसंगको सम्बन्ध पञ्चशीलको सिद्दान्त, आपसी भाइचारा र सहअस्तित्वमा आधारित छ, हुनुपर्दछ भन्ने कुरा नेपालको शासकहरुले सँधै स्पष्ट पर्दै आएको छ ।

सम्बन्धमा ऐतिहासिक आयाम

नेपाल–भारत सम्बन्धको औपचारिक थालनी नेपाल–अंग्रेज युद्ध पछि सन् १८१६ मा भएको थियो । पृथ्वी नारायण शाहको गोर्खाली फौज ईष्ट इन्डिया कम्पनीसित पराजित भएपछि नेपालले तत्कालिन भारतीय शासक ब्रिटिशसित बाध्यकारी ‘सुगौली शान्ति सन्धि’ गर्नु परेको थियो । सन्धिअनुसार नेपालले आफ्नो झन्डै एक(तिहाई जमिन साम्राज्यवादी ब्रिटिशलाई दिनु परेको थियो भने नेपाली युवाहरुलाई उसको फौजमा भर्ति गर्न दिनु परेको थियो । फलस्वरूप अहिलेसम्म पनि नेपाली युवाहरु ब्रिटिश र भारतीय फौजमा भर्ति हुने क्रम रोकिएको छैन । सन् १९४७ मा ब्रिटिशले भारत छोडेपछि पनि नेपाल र भारत बीचमा धेरै व्यापार र पारबाहनको सन्धिहरु भएका छन् । कम्जोर नेतृत्व र अस्थिर राजनीतिका कारण यी सन्धि–सम्झौताहरुमा नेपाल तल परेको कुरा धेरै बुद्धिजीवी र विज्ञहरुले गर्दै आएको कुरा सर्वविदितै छ ।

नेपाल–चीन सम्बन्ध पनि धेरै पुरानो छ । तेह्रौं शताब्दिमा अर्निकोले ८० जना मूर्तिकारको नेतृत्व गरेर चीनको विभिन्न ठाउँमा गई स्तुपाहरु बनाएको इतिहासमा पढ्न पाइन्छ । सन् १७९२ को शान्ति सन्धिपछि औपचारिक रुप नेपाल–चीन सम्बन्ध कायम भएको थियो । चीनको सम्राटलाई नेपाललगायत अन्य छिमेकी राष्ट्रहरुले उन्नाइसौं सताब्दीको अन्त्यसम्म पनि ‘कर’ बुझाउने चलन भएको इतिहासमा पढ्न पाइन्छ । अनि सम्राटले नेपाली शासकहरुलाई मानपदवीले विभूषित गर्ने चलन थियो ।

सन् १९४५ मा कम्युनिष्ट चीनले स्वशासित तिब्बतलाई आफ्नो अधिनमा ल्याएपछि भारतलगायत छिमेकी देशहरु चीनप्रति सशंकित बने । सन् १९६२ को चीन–भारत युद्धपछि त झन् भारतको राष्ट्रिय सुरक्षा नीतिमा ठूलो परिवर्तन आयो । यी दुई देशको टकरावले गर्दा छिमेकी देशहरु जस्तै नेपाल, अफ्गानिस्तान, पाकिस्तान, भूटान र श्रीलंका एकार्काको पक्ष या बिपक्षमा उभिन बाध्य भए । नेपालले सन् १९७५ मा असंलग्न नीति अनुशरण गर्दै नेपाललाई ‘शान्ति देश’को प्रस्ताव पेश गर्यो, जुन भारतबाहेक अन्य अधिकांश देशहरुले स्वीकार पनि गरे ।

सम्बन्धमा धार्मिक–सांस्कृतिक आयाम

कम्युनिष्ट चीनले सन् १९५० ताका तिब्बतलाई आफ्नो कब्जामा लिएपछि दलाई लामा र उनको अनुयायीहरु भारतमा निर्वासित जीवन बिताई रहेका छन् । भारतमा बसेर दलाइ लामाले ‘स्वतन्त्र तिब्बत’को लागि राजनैतिक तथा धार्मिक दवाबमुलक क्रियाकलाप गर्दै आएको छ । दलाई लामाका हजारौं समर्थकहरु नेपाल र भारतको विभिन्न भागमा बसोबास गर्दै आएका छन् र तिनीहरुले अझ पनि समय समयमा चीनको बिरुद्ध आफ्नो आवाज उठाउँदै आएका छन् । चीनले आफूविरुद्ध लागेका यी तिब्बतीहरुलाई कडा निगरानी राख्दै आएको छ । आफ्नो आन्तरिक सुरक्षाको लागि चुनौती ठानिने तिब्बतीहरुको अबाञ्छनीय गतिविधिहरुलाई नियन्त्रण गर्न तथा दुरुत्साहित गर्न चीनले नेपाल सरकारबाट सहयोग अपेक्षा गर्दछ । नेपालको सबै सरकारले पनि यसमा सहयोग गर्दै आएको छ । तर दलाई लामाको चीनबिरुद्ध यस्ता केही गतिविधि र त्यसमा भारतको ‘परोक्ष’ समर्थनले गर्दा पनि चीन भारतको सम्बन्धमा नकारात्मक असर परेको छ ।

पछिल्ला केही वर्षहरुमा चिनियाँहरु नेपालमा आफ्नो ‘भाषा र संस्कृतिलाई बढावा दिन’ आएकोले चीन–नेपालको सम्बन्ध जनस्तरमा राम्रो बन्दै गएको छ । तर चिनियाँ शिक्षा, बुद्ध धर्म र संस्कृतिको नाममा यसरी चीनको उपस्थितिलाई भारतले मन पराएको छैन । सहज भौगोलिक अवस्थिति, खुला सिमाना, उस्तै भाषा, धर्म र संस्कृति भएको नेपाल–भारत बीचको ‘विशेष सम्बन्ध’लाई आफ्नो एकाधिकारमाथि चीनले आक्रमण गरेको बुझाई भारतको छ ।

सम्बन्धमा राजनैतिक आयाम

चिनियाँ कम्युनिष्ट पार्टीले अठारौँ कांग्रेशको बैठकपछि आफ्नो राजनैतिक संरचना र दृष्टिकोणमा ठूलो परिवर्तन गरेको छ । विश्व अर्थतन्त्र, आफ्नो क्षमता र आवश्यकता अनुसार बदलिँदो विश्वमा आफू विश्व शक्तिको रुपमा दह्रोसित उभिन चीनले अमेरिका, यूरोप, अफ्रिका र एसियाका देशहरुसित सुमधुर सम्बन्ध राख्दै आएको छ । अहिले उसको बुझाईमा ताइवान र दक्षिण एसिया पनि बिस्तारै आफ्नो पोल्टोमा आएको छ । यसको कारण चीन–अमेरिका सम्बन्धमा सुधार भएर पनि हो ।

नेपाल हेर्ने चीनको नीति संधै एकनासको रहेको छ । नेपालमा जुन सरकार आए पनि नेपालले ूएक चीनू नीति अपनाउदै आएको छ । तर अर्कोतर्फ भारत भने नेपालको कम्युनिष्ट सरकारप्रति बढी सशंकित छ । बिगतमा कम्युनिष्टहरुले भारतको ‘बिस्तारवादी’ नीतिलाई कटाक्ष गर्दै नेपालको लागि भारत ‘एक नम्बर दुश्मन’ ठानेकाले ऊ सशंकित हुनु स्वाभाविकै हो । त्यति मात्र होइन, चीनले नेपाललाई पछिल्लो समय दिएको सहयोगबाट पनि भारत अत्तालिएको हुन सक्दछ ।

नेपाल–भारत सम्बन्धमा पछिल्लो समयमा पाकिस्तानको पनि भूमिका रहेको छ । पाकिस्तान र नेपाल मिलेर चीनलाई सार्कमा निमन्त्रणा गर्न चाहनुले पनि भारत अझ सशंकित भएको हुनुपर्दछ । त्यस्तै पाकिस्तानी बिद्रोहीहरुले नेपालको भूमि प्रयोग गरि भारतमाथि एकाध आक्रमण गरेकाले पनि भारत चिन्तित छ । उदाहारणको लागि सन् १९९९ मा काठमाडौँबाट नयाँदिल्ली उडेको भारतीय जेट अपहरणमा पाकिस्तानी बिद्रोही समूहको हात रहेको पुष्टि भएको थियो ।

सम्बन्धमा सैनिक आयाम

दुवै भारत र चीनले पछिल्लो वर्षहरुमा लाखौं डलर खर्च गरेर आफ्नो सेनालाई चुस्त दुरुस्त बनाएका छन् । यसरी सेनामा धेरै खर्च गर्नेमा संसारको सबै देशहरुमध्ये चीन र भारत क्रमशः दोश्रो र नवौं हुन् । चीन र भारत विश्व ब्यापारमा प्रतिद्वन्दी भए तापनि एकापसमा मिलेर काम गरेका छन्स जुन आवश्यक पनि छ । यद्यपि आफू हरेक क्षेत्रमा माथि हुनको लागि उनीहरुले सैनिक क्षेत्रमा सक्ने खर्च गरेका छन् ।

जोन ग्राभर अनुसार देशको राजनैतिक मार्ग निर्देशनको कारणले भन्दा पनि सीमा विवादका कारणले चीन र भारतले एकार्कालाई आफ्नो दुश्मन ठान्दछ । भारत–यूरोप–अमेरिकाको सम्बन्धलाई प्रतिकार गर्नको लागि चीनले दक्षिण एसियाका देशहरुलाई आफ्नो पक्षमा पार्न चाहन्छ । चीनको यो प्रयास, अझ भनौं नेपाल र पाकिस्तानसँगको सम्बन्ध, लाई भारतले आफ्नो सुरक्षा चुनौती ठान्दछ । त्यसैले आ–आफ्नो लक्ष्य प्राप्तिको लागि भारत र चीनले दक्षिण चिनियाँ तथा भारतीय सागर र त्यस आसपासको क्षेत्रहरुमा आफ्नो सैनिक तैनाथ गरेका छन् ।

दुवै भारत र चीन आणविक हतियार भएका देशहरु हुन् । एकतर्फ भारतले अमेरिकाको सहयोगमा आणविक हातहतियारमा सुधार ल्याएको छ भने अर्को तर्फ चीनले ‘बदलामा’ पाकिस्तानलाई यो कार्यमा सहयोग गरेको देखिन्छ । यी देशहरुको यस्तो गतिविधिले दक्षिण एसिया तथा एसिया–प्यासिफिक क्षेत्रमा आणविक हतियारको होडबाजी त हुँदैन ? यस बिषयमा मैले ब्रिटिश आर्मीको जर्नलमा लेखेको थिए (हेर्नुहोस्, ब्भि, ए।स ब्ल ब्कष्ब(एबअषष्अ ब्चmक च्बअभ?स त्जभ द्यचष्तष्कज ब्चmथ च्भखष्भधस ल्य। ज्ञछद्ध, क्उचष्लनरक्गmmभच द्दण्ज्ञद्दस उउ। द्दठ(घज्ञ० । मेरो निचोड थियो, एसिया–प्यासिफिक क्षेत्रमा हातहतियारको होडबाजी अहिले छैन किनकि चीन र भारतलगायतका देशहरुको लागि अहिलेको आवश्यकता भनेको अर्थोपार्जन हो, जुन व्यापारबाट मात्र सम्भव छ । थोत्रो, पुरानो हात हतियारलाई समयानुकूल आधुनिकरण गर्नु पर्ने बाध्यता भएता पनि उनीहरुले चाहे जत्ति खर्च गर्न सकेका छैनन् । फलस्वरूप उनीहरु अरु देशहरुसित सहकार्य गरेर आफ्नो स्थान बलियो बनाएर क्षेत्रीय तथा विश्व शक्ति सन्तुलन गरि राखेका छन् ।

सम्बन्धमा आर्थिक आयाम

माथि उल्लेखित सबै आयामहरू चीन–भारत सम्बन्धलाई सुधार्ने भन्दा पनि एकार्कामा शंका पैदा गर्ने, असहयोग गर्ने र दुश्मनी व्यवहार गर्न पेरित गर्ने खालका छन् । तर, आर्थिक आयाम मात्र एउटा यस्तो आयाम हो, जसमार्फत यी दुई देशहरुलाई सहकार्य र सौहार्दपूर्ण व्यवहार गर्न प्रेरित गर्दछ । किनकि क्षेत्रीय तथा विश्व राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्न हरदम कोशिस गरि राखेका यी दुई देशलाई आर्थिक लाभ अत्यावश्यक छ । आर्थिक रुपले बलियो हुनु भनेकै आफ्नो हैसियत माथि उठाउनु हो ।

चीन र भारत सकेसम्म मिलेर आ–आफ्नो आर्थिक उन्नति गर्न तत्पर छन् । तर, पनि क्षेत्रीय तथा विश्व बजारमा आफ्नो समान बेच्न यिनीहरु एकार्काको प्रतिष्पर्धी बन्ने छ । स्वस्थ प्रतिष्पर्धा नराम्रो होइन । चीनको बलियो अर्थतन्त्र, अत्याधुनिक प्रविधि र अनुभवी जनशक्तिको अगाडी सायद आधुनिक भारत पछि पर्नेछ । तर केही क्षेत्रमा भारतको जनशक्ति चीनको भन्दा कम छैन । जस्तो, कम्प्यूटर सफ्टवेयरमा । यी दुई देशको स्वस्थ आर्थिक प्रतिष्पर्धाबाट नेपालले पनि फाइदा लिन सक्नु पर्दछ ।

चीन र भारत आफ्नो उधोगको लागि चाहिने अत्यावश्यक कच्चा पदार्थ र तिनीहरुको सहज ढुवानीको लागि पनि प्रतिष्पर्धा गर्दैछ । फलस्वरूप पछिल्लो वर्षहरुमा चीनले नेपाल लगायत छिमेकी देशहरुमा ग्लोबल कनेक्टिभिटीको लागि अरबौं डलर खर्च गरिराखेको छ, जुन भारतको लागि असहज अवस्था हो । यसको नकारात्मक असर नेपालजस्तो सानो देशलाई पनि पर्दछ ।

अन्तमा,

माथि उल्लेखित सम्बन्धका विभिन्न आयामहरुबाट के स्पष्ट हुन्छ भने चीन र भारत एकापसमा सहकार्य गरेर मात्र अगाडि बढ्न सकिन्छ । आफ्नो लागि मात्र होइन, क्षेत्रीय र विश्व शान्ति र सुरक्षाको लागि यो अपरिहार्य पनि छ । त्यसैले ‘चिन्डियाँ’ सोचले चीन र भारत बीचमा दुश्मनी कम गर्न मद्दत गर्दछ । सीमा विवाद लगायत यी दुई देशको मन्मालिन्य भए पनि अन्ततः यिनीहरु नमिली सुखै छैन । एकले अर्कोलाई तल पार्न शक्ति खर्च गर्नुभन्दा त्यो शक्ति आफ्नो आर्थिक उत्थानको लागि प्रयोग गर्न उचित हुने कुरा यिनीहरुले बुझेको स्पष्ट हुन्छ । क्षेत्रीय प्रभुत्वको लागि छिमेकीहरुको सहयोग अपरिहार्य भएकोले चीन र भारत छिमेकिहरुसित हरतरहले नजिक हुन चाहन्छन् ।

चीन–भारत सम्बन्धका कारण नेपाल जस्तो सानो विकासोन्मुख देशलाई आफ्नो विदेश नीति बनाउन असहज होला । तर यिनीहरुको सुरक्षाको सम्बेदनशिलतालाई मध्यनजर राखेर तिनीहरुसित समान व्यवहार गर्ने हो भने सानो देशलाई पनि फाइदा नै होला । नेपालको सन्दर्भमा भन्ने हो भने यी दुवै नेपालको ‘विशेष सम्बन्ध’ भएका देशहरु हुन् । विभिन्न कालखण्डमा आफ्नो सार्वभौमिकता र मौलिकतालाई जोगाएको नेपाललाई कहिले ‘भारतमुखी’, कहिले ‘चीनमुखी’ भएको आरोप लागे तापनि अबको ‘नयाँ नेपाल’ले त्यस्तो देखिनुबाट जोगिएर दुवै देशलाई विश्वासमा लिई पारदर्शी सम्बन्ध कायम गर्न सक्नु पर्दछ ।

(— लेखक, डा. प्रेम आले ब्रिटिश गोर्खा रेजिमेन्टका अवकाशप्राप्त मेजर हुन् । उनी गैरआवासीय नेपाली संघ यू्.के.का उपाध्यक्ष तथा गोर्खा समन्वय समितिका संयोजक पनि हुन् ।)