‘खेलाडीलाई मासिक भत्ता दिनुपर्छ’

jagat-bahadur BK
लाेकपाटी न्यूज

काठमाडौँ, १६ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् ।

अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्ता दिन सके खेलाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

खेलकूदका माध्यमबाट विद्यार्थीमा बौद्धिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उनले बालबालिकामा चाहनाअनुसारको खेलमा समयदेखि नै उचित लगानी गर्न सके प्रतिफल राम्रो आउने उल्लेख गरे ।

नेपाली क्रिकेटले हासिल गरेको पछिल्लो उपलब्धिको प्रशंसा गर्दै उनले मुलुकलाई संसारमा चिनाउने एकमात्र माध्यम खेलकूद भएको बताए । कार्यक्रममा त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा. डिल्लीराज शर्मा, प्रा डा श्रीप्रसाद कोइराला, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले महोत्सवको शुभकामना व्यक्त गरे ।

खेलकूद महोत्सवअन्तर्गत विद्यालयले तीनदिनसम्म फुटबल, क्रिकेट, खोखो, एथलेटिक्सलगायतका खेल सञ्चालन गर्ने विद्यालयका शिक्षक तुलसी घिमिरेले जानकारी दिए । विद्यार्थीको मानसिक, शारीरिकका साथै बौद्धिक विकास गर्ने उद्देश्यले खेलकूद महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्