‘सामाजिक सुरक्षा भत्ता पाँच वर्षभित्र पाँच हजार ’

Gokarna Bista-4
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । उनले यो सरकार पाँच वर्षका लागि बनेकाले यी पाँच वर्षभित्र भत्ता पाँच हजार पुग्ने बताएका हुन् ।

बेसीशहरमा आयोजित दोस्रो तामाङ महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले चुनावी प्रतिवद्धता सरकार गठन हुने वित्तिकै पुरा नहुने स्पष्ट पार्दै पाँच वर्षे योजना लिएर आफुहरु चुनावका बेला जनतामाझ गएको बताए ।

ति प्रतिवद्धता सबै पुरा हुने स्पष्ट पार्दै मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने स्पष्ट पारे । आगामी वर्ष सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने बताउँदै मन्त्री विष्टले पाँच वर्षमा ५ हजार र्पुयाइने बताए ।

उनले लोकतन्त्रको नाममा संविधान र संसदको सर्वोच्चतालाई आत्मसात गर्न नसके लोकतन्त्र नजोगिने बताए । विपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै मन्त्री विष्टले आफुलाई लोकतान्त्रिक पार्टी ठान्नेहरुले विधि र प्रक्रियालाई आत्मसाथ गर्न जरुरी रहेको स्पष्ट पारे । सरकारको तर्फबाट विपक्षी दललाई विधि र प्रक्रियाको आत्मसाथ गर्न आग्रह समेत गरे ।

सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढिरहेको बताउँदै मन्त्री विष्टले गरिब जनताको जीवनलाई एकै रातमा रुपान्तरण गर्न असम्भव रहेको बताए । सरकारले जनताको जीवनलाई समृद्ध पार्नेगरि नीति, कानुन र संरचना निर्माण गरिरहेको उनको भनाई छ ।

उनले सडक, विद्युत, आर्थिक गतिविधि, सामाजिक सुरक्षा अभियान, देशभित्रै रोजगारी दिनेगरि विभिन्न सन्दर्भमा सरकारले काम गरिरहेको उल्लेख गरे ।