सरकार भागेको छैन : उपराष्ट्रपति

Nanda-Bahadur-Pun pasang
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, माघ । उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल सबै क्षेत्रहरुलाई मिलाई एउटा समृद्धिको एजेण्डालाई अगाडि बढाउँदै सिंहदरबारलाई जनताको घरदैलोमा पुर्याउने प्रयासमा लागिरहेको बताएका छन् ।

समृद्धिका लागि अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको भएपनि सरकार यस अभियानबाट नभागेको उपराष्ट्रपति पुनले बताए । कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ सुनवल एवं लोक दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा सञ्चालित महोत्सवको उपराष्ट्रपति पुनले उद्घाटन गरेका थिए ।

उपराष्ट्रपति पुनले राजनीतिक क्षेत्रमा देखिएको सात दशक लामो र विकृति विसंगति, र राजनीतिक क्षेत्रबाट उत्पत्ति भएका वायप्रोडक्टहरुले गर्दा समस्या भएको बताए । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आफ्नो काम अगाडि बढाउन गाह्रो भएको बताउँदै सबै मिलेर यी विकृतिको अन्त्य गर्न सकेमात्र आम नेपालीको जीवन बदलिने बताए ।

उपराष्ट्रपति पुनले ५ नम्वर प्रदेश यस क्षेत्र देशकै मध्यभागमा रहेको भन्दै पर्यटकीय पूर्वाधार निर्माण गरेर गुणस्तरीय पर्यटक भित्राउने पर्नेमा जोड दिए । उनले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएता पनि त्यसको लाभ लिन नसकेको बताए । ‘वातावरणीय प्रदुषणलाई नियन्त्रण गर्न र प्राकृतिक सौन्र्दयको लाभ लिन भौतिक पूर्वाधार पहिलो सर्त हो’ पुनले भने ।

लोक दोहोरी गीत प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षता एवं उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको संयोजकत्व रहेको महोत्सवको समुदघाटनमा विशेष अतिथिको रुपमा सांसद हृदयेश त्रिपाठी, प्रदेश नम्वर ५ का भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश प्रवक्ता वैजनाथ चौधरी, कानूनमन्त्री कुलप्रसाद रेग्मी, प्रदेश सांसद दीपेन्द्र अधिकारी, वैजनाथ जैसवाल, भगवती भण्डारी, जिल्ला समन्वय समितिका प्रमूख शिवशंकर राय थिए ।

कार्यक्रममा पूर्वमन्त्री घनश्याम यादव, सातवटै स्थानीय निकायका प्रमूख एवं प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्थाका प्रमूख एवं प्रतिनिधिहरु, विभिन्न राजनितिक दल, आमा समूह, क्लव, पत्रकार र स्थानीयको उपस्थीति थियो । कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्