‘अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध उभिन्छौं’ : प्रवक्ता श्रेष्ठ

Narayankaji shrestha
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप वर्ग र विचारधारा बीचको लडाई भएको बताएका छन् ।

बिहीबार राजधानीको अनामनगर स्थित सम्वाद डवलीमा साम्राज्यवाद विरोधी मञ्चले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले समाजवादको दिशातर्फ जाने प्रयत्न गरेपछि साम्राज्यवादी अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको बताए ।

साम्राज्यवाद र पूँजीवादको विरुद्ध भेनेयुएला समाजवादको दिशातिर जान प्रयत्न गरिरहेको अवस्थामा त्यसलाई असफल बनाउन अमेरिका लागिरहेको भन्दै नेता श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताका लागि एकढिक्का भएर अमेरिकी हस्तक्षेपको विरुद्ध आवाज उठाउन आग्रहसमेत गरे ।

अमेरिकाले अहिले भेनेजुएलाविरुद्ध चालेको कदम वैदेशिक हस्तक्षेप भएको भन्दै नेता श्रेष्ठले नेपाल लगायत संसारभरका मुलुकहरुले सावैभौमिकता र स्वाधीनताको सम्मान गर्दै अमेरिकाको यो कदमको विरोध गर्नुपर्नेमा जोड दिए । भेनेजुयला र अमेरिका बीचको यो टकराव शान्ति र युद्ध बीचको टकरावसमेत भएको भन्दै नेता श्रेष्ठले युद्धको पक्षमा होइन, शान्तिको पक्षमा उभिनुपर्ने धारणा राखे । उनले भेनेजुएलाका पक्षमा बोल्नु भनेको लोकतन्त्र र शान्तिको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए ।

सबै देशको आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमान हुने बताउँदै नेता श्रेष्ठले यो हस्तक्षेप समाजवादी विचारधारा र श्रमजीवी वर्गमाथिको हस्तक्षेप भएको टिप्पणी गरे । कुनै एउटा देशको सार्वभौमसत्तामाथि अर्को देशले गर्ने हस्तक्षेप गलत भएको भन्दै प्रमुख वक्ता श्रेष्ठले यो केवल भेनेजुएला र अमेरिका बीचको सवाल नभई एउटा समाजवादी देशविरुद्ध पूँजीवादी देशको हस्तक्षेपको सवाल भएको बताए ।

अवसर मिल्नासाथ साम्राज्यवादीहरुले कुनै पनि देशमा आफ्नो स्वार्थ लाद्न खोज्ने आरोप लगाउँदै नेता श्रेष्ठले भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेप लोकतान्त्रिक विधि र मान्यताको विरुद्ध रहेको जिकिर गरे । उनले अगाडि भने, ‘लोकतन्त्रका लागि भेनेजुयलामाथि हस्तक्षेप होइन, लोकतन्त्रका बिरुद्ध भेनेजुयलामाथि हस्तक्षेप भएको छ ।’

कार्यक्रमका अर्का वक्ता साम्राज्यवाद विरोधी मोर्चाका संयोजक एवं विश्लेषक, लेखक तथा पत्रकार नरेन्द्रजङ्ग पिटरले अहिले हामीले भेनेजुएलाको पक्षमा नबोले भोलि हाम्रो पक्षमा कसैले नबोल्ने बताए । ‘यो समस्या भेनेजुएला र अमेरिकाको मात्र नभई समाजवादी चिन्तनको धारा र कर्पोरेट राजनीतिको समस्या हो । मानवताको पक्षमा उभिने कि युद्ध पिपासुको बीचमा उभिने ?’ पिटरले प्रश्न गरे ।

भेनजुएलाको पक्षमा उभिनु भनेको हाम्रै समस्याको बीचमा उभिनु भएको भन्दै वक्ता पिटरले साम्राज्यवादको विरोध गर्न नसक्नेले निर्मला हत्याकाण्ड, वाइडबडी र यस्ता अन्य धेरै काण्डमा पनि बोल्न नसक्ने तर्क गरे । यो सवाल १५ हजार ४४ किलोमिटर टाढा रहेको एउटा सानो देशको मात्र नभई समाजवादी चिन्तन र साम्राज्यवादी चिन्तन बीचको टकरावको कुरा भएको भन्दै विश्लेषक पिटरले सबैलाइ मानवताको पक्षमा उभिन आग्रह गरे ।

ऋषि कट्टेल नेतृत्वको नेकपाका उपाध्यक्ष तथा वाम विश्लेषक लोकनारायण सुवेदीले साम्राज्यवादीको चरित्रविरुद्ध पुर्खाहरु पनि लड्दै आएका र अहिलेको पुस्ता पनि लड्नुपर्नेमा जोड दिए । भेनेजुएलामा जस्तै नेपालको सार्वभौम अखण्डता पनि खतरामा रहेकोले यसका निमित्त पनि एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपाका अर्का नेता तथा राष्ट्रिय सभाका सदस्य बलराम बाँस्कोटाले भेनेजुएलामाथि हस्तक्षेप हुनु भनेको समाजवादमाथिकै आक्रमण भएको ठोकुवा गरे । भेनेजुएलामा चरम गरिबी, मुद्रा स्फिर्ति र द्वन्द्व छ भनेर अमेरिकाले नयाँ भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफू भर्खरै भेनेजुएला पुगेर आएको र त्यहाँ त्यस्तो केही नभएको स्पष्ट पारे । उनले अगाडि भने, ‘यो भेनेजुयलाका श्रमजीवी जनता माथि अमेरिकाले गरेको षडयन्त्र मात्र हो ।’

साम्राज्यवाद विरोधी मञ्चका सदस्य नरेश ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा ५ दर्जन बढी बुद्धिजीवी, पत्रकार र लेखकहरुको सहभागिता थियो ।