अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

teaching
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प बनेका छन् । नेपाल चिकित्सक संघले शुक्रबार देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेको हो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। काठमाडौं त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

‘आज एक दिनका लागि बन्द गराएका हौं,’ श्रेष्ठले भने, ‘यदि सरकारले समस्या समाधानका लागि अझै पहल गरेन भने यो लम्बिन सक्छ ।’

यसअघि देशभरका अस्पताल हातामा चिकित्सकहरू रिले अनशनमा बसेका थिए । तर सरकारले कुनै सुनुवाइ नगरेकाले कडा संघर्षमा उत्रनु परेको उनको भनाइ छ।

उनले डा. केसीको अनशन गरिब, निमुखा जनताका लागि भएकोले भविष्यलाई राम्रो हुन्छ भने एक दिनको मर्का सहनुपर्ने बताए ।

चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरेको जनाएको छ ।

१५ औं अनशन तोडाउने बेला ओली सरकारले आफूसँग गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने माग गर्दै डा. केसी गत पुस २५ गतेदेखि १६औं अनशनमा बसेका हुन्।

इलाम गएर अनशन थालेका उनको स्वास्थ्य बिग्रँदै गएपछि यही माघ ४ गते बिहान हेलिकोप्टरमामार्फत् डा. केसीलाई काठमाडौं ल्याइएको हो । हाल उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्