सांसदलाई विषयगत तालिम दिन्छौं : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिम रुप लिने बताएका छन्।

नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको सो जानकारी दिएका हुन्। उनले सांसदहरुलाई नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न निर्देशनसमेत दिए।

“पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”

तत्कालीन नेकपा (एमाले) ले र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणका लागि कार्यदलले काम गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने तथा सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने जानकारी दिए । उनले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेेेेका छन्।