दुई सशस्त्र प्रहरी निरीक्षक बाहिनी तानिए

Arms police
लाेकपाटी न्यूज

वीरगञ्ज, १९ माघ । सशस्त्र प्रहरी बल रुद्र बाहिनी प्रदेश नम्बर २ कार्यालय बर्दिवासले सशस्त्र प्रहरी १३ नम्बर गण अन्तर्गतका दुईजना सशस्त्र प्रहरी निरीक्षकहरुलाई प्रदेश नम्बर २ कार्यालयमा तानेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण अन्तर्गत सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट अलौमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ओमराज बानियाँ र सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भिस्वामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक चुनराज थापालाई सोधपुछका लागि सशस्त्र प्रहरी प्रदेश नम्बर २ कार्यालय बर्दिवासले तानेको हो ।

गत माघ १३ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण श्रेष्ठले वीरगंजको तिलावे पुल नजिकबाट धान बोकेको ट्रयाकटरमा लुकाएर ल्याइएको भन्सार छलीका कपडा ठूलो परिमाणमा बरामद गरेको थियो । ना २ त १६४८ नम्बरको ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा तिलावे पुल नजिक पदम रोडबाट बरामद गरेको हो ।

सोही घटनामा संलग्न रहेको आशंकामा सोधपुछका लागि सशस्त्र प्रहरी रुद्र बाहिनी गण प्रदेश नम्बर २ कार्यालय बर्दिवासले दुवैजना सशस्त्र प्रहरी निरीक्षकलाई माघ १५ गते बोलाएको सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले बताए ।

भन्सार छली अवैध रुपमा धानको बोरा भित्र राखेर ट्याक्टरमा लोड गरी पर्साको मिर्जापुर, भिखमपुर, पोखरिया हुदै तिलावे पुलमा आउँदा ओभरलोडका कारण ट्रयाक्टरको बेरिङ भाँचिएर सडकमा रोकिराखेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले कपडा सहितको ट्याक्टर बरामद गरेको थियो ।

बरामद गरिएको कपडाको मूल्य ७० लाख ९१ हजार एकसय साठ्ठी रुपैया रहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्