बङ्गलादेशको क्याबिनेटमा नेपाली मूलका मन्त्री

nepali_mantri_bangladeshka_mantri3595
लाेकपाटी न्यूज

काठमाडौं, १९ माघ । नेपालीमूलका वीरबहादुर उस्वे सिंह बङ्गलादेशका क्याबिनेट मन्त्री बनेका छन् । वीरबहादुरलाई चितागोङ (चटगाव)  हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको हो ।

गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो ।

बङ्गलादेशको उत्तरीपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार ९बर्मा०सँग जोडिन्छ ।

हालै सम्पन्न ११ औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बने । सँगै पहिलो पटक क्याबिनेट मन्त्री पनि । उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलोपटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेका थिए ।

बङ्गलादेशका लागि नेपाली राजदूत रहेका चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरेका थिए ।

यही बेला वाजेदले भनिन्, ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेका थिए । उनले फोनमा भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ र गर्व पनि लाग्यो ।’