बहुदलदेखि थुप्रिएका विकृति छुमन्तरले हट्दैन : मन्त्री अर्याल

Padma Aryal (15)
फाइल तस्वीर : मन्त्री पद्मा अर्याल
लाेकपाटी न्यूज

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकको समृद्धिका लागि कृषि उत्पादनमा जोड दिन आग्रह गरेकी छिन् ।

मेचीनगर नगरपालिका १४ दुहागढी झापामा आयोजना गरिएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइ परिषद्को तेस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि उत्पादनलाई वृद्धि गरेर मुलुकको समृद्धिको अभियानमा सहभागी हुन आग्रह गरिन् ।

भएको जग्गाजमिन बाँझो राखेर समृद्धि नआउने भन्दै मन्त्री अर्यालले खाली जग्गालाई उत्पादनमूलक कार्यमा लगाउन आग्रह गरिन् । ‘काम नगरेर, जग्गाजमिन खाली राखेर समृद्धि आउँदैन। समृद्धि रुखबाट खस्दैन, त्यसका लागि कामै गर्नुपर्छ’ मन्त्री अर्यालले भनिन् ।

सरकारी, नीजि र सहकारी तिनै क्षेत्रलाई जोड दिएर राज्यले काम गर्न खोजिएको बताउदै मन्त्री अर्यालले व्यवसायीक, आधुनिक कृषिमा जोड दिन आग्रह गरिन् । किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारीकरणको समस्या समाधान गर्न मन्त्रालयले अहिले काठमाडौं आसपासका जिल्लाबाट काम शुरु गरेको भन्दै उनले त्यहाँबाट सफल भएपछि बिस्तारै देशैभरि व्यापक बनाउने बताइन् ।

सहकारी अभियान सबैलाई समृद्ध बनाउने अभियान भएको भन्दै उनले झापामा रहेका कुनै पनि जग्गा बाँझो राख्दैनौ भनेर संकल्प लिएर अगाडि बढ्न आग्रह गरिन् । ‘सहकारी अभियान भनेको साना किसानलाई ठूलो किसान बनाउने, पिँढीमा बसेकालाई कौशीमा बसाउने अभियान हो’ अर्यालले भनिन्, ‘झापाको एउटा पनि जग्गा खाली राख्दैनौं भनेर लाग्नुस्। कृषिप्रधान देशको मान्छे खान नपाएर मर्ने भन्ने अब हुन दिनुहुँदैन कसरी हुन्छ कृषि उत्पादनमा जोड दिनुस्।’

कृषि तथा उद्योगबाट नै मुलुकलाई समृद्ध बनाउने गरी लाग्नुपर्ने भन्दै उनले गण्डकी प्रदेशमा रहेको रबर उद्योग छिट्टै खोल्ने तयारीमा रहेको समेत जानकारी दिइन् । वीरगञ्जमा रहेको चिनी कारखाना सहकारी अन्तर्गत सञ्चालन गर्न आग्रह गरेकोसमेत मन्त्री अर्यालले बताइन् । काम गर्नेलाई इज्जत प्रतिष्ठाको विषय बनाउने, श्रमलाई हेप्ने प्रवृत्तिले समृद्धि आउन नसक्ने उनको भनाइ थियो। ‘श्रमलाई हेला गरेर, श्रमको सम्मान नगरेर समृद्धि आउँदैन। सबै उत्पादन श्रमसँग जोडिएर बल्ल समृद्धि आउने हो’ मन्त्री अर्यालले भनिन् ।

51334901_2308611592796571_3237268493405519872_n

सहकारीमैत्री कानून बनाउछौ भनेको पूर्व प्रतिवद्धताअनुसार नेपाल ऐन संशोधनमा सहकारीले कम राजस्व तिर्नेगरी अगाडि बढाइएको बताउदै उनले सहकारीमैत्री नियमावली अगाडि बढाएको बताइन् । अर्को प्रसङ्गमा मन्त्री अर्यालले मुलूक संघीयता कार्यान्वयनको चरणमा रहेकाले यो व्यवस्था राजनीतिज्ञ तथा कर्मचारी सबैका निम्ति नयाँ अभ्यास भएकोले केही अन्यौलता भएपनि सरकार निरन्तर लागिरहेको बताए ।

राज्यसत्ता परिवर्तन गरेर मुलुक नयाँ व्यवस्थामा गएपनि कतिपयलाई सरकार परिवर्तन गरेझै लागिरहेको भन्दै मन्त्री अर्यालले व्यवस्थापनदेखि सबै काम गर्नुपर्ने भएकोले केही समय लागेको बताइन् । ‘उत्कृष्ट नाँच नाँच्न पनि समय लाग्छ। तीजमा दिदीबहिनी नाचेकोजस्तो होइन । व्यवस्थापनदेखि आनीबानी, कार्यशैलीमासमेत सुधार गर्नुपर्ने अवस्था छ’ अर्यालले भनिन्, ‘बहुदलदेखि थुप्रिएका विकृति विसङ्गति केपी ओलीको सरकार आएको एक वर्षमै छुमन्तर कँही हुन सक्छ ?’

यो एक वर्ष व्यवस्थापनको वर्ष भएको भन्दै मन्त्री अर्यालले सरकार जनताको घर घरमा सरकार ल्याउने अभियानमा निरन्तर लागिरहेको बताइन् । ‘पहिलो एक वर्ष व्यवस्थापनको वर्ष हो। दोस्रो वर्ष एक्सनको वर्ष भनेका छौं’ उनले भनिन्, ‘सरकार बिचलित छैन, जनताको घर घरमा सरकार ल्याउने अभियानमा निरन्तर लागिरहेको छ। अब बाँकी रहेका ४ वर्षमा बाँकी रहेका सबै समस्या समाधान गर्नतिर लाग्छौं ।’

मन्त्री अर्यालले झापामा सतासी महिला मौरीपालन सहकारी संस्था लिमिटेड शिवसतासी नगरपालिका ११ दुधेले उत्पादन गर्दै आएको मह उत्पादन, साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित नमूना एकीकृत सहकारी खेती गौरादह ७, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड २ चारपाने झापाको अध्ययन, अवलोकन गरेकी थिइन् । त्यस क्रममा अन्तरक्रियासमेत गरिएको थियो।