म मधेशविरोधी होइन, मधेशको कायापलट गर्छु : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

सिरहा । प्रधानमन्त्री केपी ओलीले छिटै देशबाट निरक्षरता उन्मूलन हुने बताएका छन् । निरक्षरता उन्मूलन अभियानकै रुपमा देशभर सञ्चालन भएकोले छिटै उन्मूलन हुने उनको भनाइ छ ।

‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले पहलकदमी लिएको छु, प्रधानमन्त्री ओलीले भने, ‘वैशाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु। अब देशबाटै निरक्षरता उन्मुलन हुन्छ।’ विद्वानहरुका सन्तति हामी कसरी निरक्षर हुन सक्छौं ? उनले प्रष्ट्याए, ‘७५३ स्थानीय तहमा विद्यालय भर्ना अभियानमार्फत् विद्यालय हाताबाहिरका बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यक्रम जोडतोडले सुरु छ।’

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको भत्ता खै बढ्यो भनेर विपक्षीहरु उचाल्दै छन् भन्दै उनले प्रष्ट्याए, ‘अघिल्लो सरकार (अहिलेका प्रतिपक्षी) ले देशको ढुकुटी रित्याएका कारण हामीलाई पर्खिनु परेको हो। उनले थपे, ‘आउने आर्थिक वर्षमा वृद्धभत्ता अवश्य बढ्छ। सरकारले बृद्ध भत्ता बढाउँछ।’

तराई मधेशको विकासका लागि सरकारले विभिन्न योजनाहरु ल्याएको उनले बताए। शहीद हेमनारायण यादवको १५ औं स्मृति सभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराई मधेसको कायापलटका लागि सरकारले विभिन्न क्षेत्रमा विभिन्न योजना अघि बढाएको बताए। प्रधानमन्त्री ओलीले मधेसमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै हल्लाको जवाफ दिएको छ, दिँदैछ भने।

मधेशमा अनेक हल्ला चलाइएका छन् । तर, सरकारको कामले ती सबैको जवाफ दिँदै गएको छ, उनले भने, ‘हुलाकी सडकको निर्माण, काठमाडौं बद्रिवास द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रमजस्ता मधेश विकासका कार्यक्रम सञ्चालन भएका हुन्। केही दिन अघि झापाको भद्रपुर विमानस्थल झलमल्ल भएजस्तै जनकपुर विमानस्थल पनि झलमल्ल हुनेछ।’

प्रधानमन्त्री ओलीले मधेशलाई काठमाडौंसँग जोड्ने द्रत मार्ग, निजगढ विमानस्थल, कमला कोशी डाइभर्सनबाट मधेशको खेती जमीनलाई सिंचाई गर्ने योजनाका कामहरु धमाधम सुरुवात हुँदा प्रतिपक्षीहरु चकित परेको बताए। यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर बृद्धि र हुलाकी राजमागको निर्माणका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र द्रुत गतिमा काम भइरहेको उनले बताए। मधेशको भौतिक विकास मात्र होइन, सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताए ।

मधेशको जीवनरेखा भनिने हुलाकी राजमार्ग, सप्तरीमा मेडिकल कलेज, कमला कोशी डाइभर्सनमार्फत् सिँचाईजस्ता मधेश विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता छ उनले भने, ‘मधेश झलमल्ल बनाउनेगरि विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ?’ उनले यसरी प्रष्ट्याए, ‘तीन महिनाभित्र जनकपुरको विमानस्थल झलमल्ल हुन्छ, रात्रीकालिन उडान सुरु हुन्छ।’

प्रधानमन्त्री ओली शनिबार कोर मधेशको सिरहामा खुल्ला सभा सम्बोधन गरेर आफू मधेश विकासको सूत्रधार भएको सन्देश फैलाएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनका क्रममा मधेशको विकासप्रति पटकपटक प्रतिवद्धता जाहेर गरेका थिए । उनले आफू मधेश विरोधी नभएको प्रष्टिकरण समेत दिए।